मुस्ताङमा गल्फ प्रतियोगिता हुने

पोखरा– विश्वकै अग्लो उचाइमा रहेको मुस्ताङ गल्फ कोर्समा यही भदौ ३० गते एमेचर गल्फ प्रतियोगिता हुने भएको छ । लोमाङथाङ गाउँपालिकाको आयोजनामा भदौ ३० गते शनिबार उक्त प्रतियोगिता मुस्ताङ गल्फ कोर्समा हुने भएको आयोजकले जनाएको छ ।
मुस्ताङमा खेल पर्यटनको प्रवर्द्धनसमेत गर्न आयोजना हुने उक्त प्रतियोगितामा पोखरा, धरान, बुटवललगायत सहरका ४० खेलाडी सहभागी हुने प्रतियोगिताका संयोजक इन्द्रधारा विष्टले बताए । प्रतियोगितामा ४ महिला खेलाडी सहभागी हुने उनले जनाए । प्रतियोगिता ९ होलमा खेलाइने भएको छ भने बेष्ट प्रस पिनको सबैभन्दा लामो ड्राइभ र बडीजलाई पनि पुरस्कार प्रदान गरिने छ ।
प्रतियोगिताका विजेतालाई ट्रफी, मेडल र प्रमाणपत्रको साथमा पुरस्कृत गरिने संयोजक विष्टले बताए । प्रतियोगितामा होल इन वानको विजेतालाई भने एक लाख रुपैया भन्दा बढी मुल्य बराबरको घोडा उपहार प्रदान गरिने भएको छ । गल्फ पर्यटकलाई आकर्षित गरी देशको पर्यटन उद्योगमा नयाँ आयाम थप्ने उद्देश्यले उक्त प्रतियोगितालाई निरन्तर रुपमा आयोजना गर्न लागेको गण्डकी प्रदेश गल्फ संघ तदर्थ समितिका अध्यक्षसमेत रहेका संयोजक विष्टले बताए ।
सो गल्फ कोर्ष विश्वकै उच्च स्थानमा रहेकाले त्यसको गिनिज बुक अफ दी वल्र्ड रेकर्डमा समेत दर्ज गर्ने तयारीमा रहेको संयोजक विष्टले बताए । उनले भने, ‘उक्त कोर्षले अब भारतको पूर्वी सिक्किमको कु–पुपमा रहेको ३ हजार ९ सय ७० मिटर याक गल्फ कोर्सको पूरानो कीर्तिमानलाई तोड्दै विश्वको सबैभन्दा उच्च उचाइमा रहेको गल्फ कोर्सको रुपमा मुस्ताङ गल्फ कोर्षले नयाँ विश्व रेकर्ड तोड्ने छ ।’
यस वर्ष राष्ट्रिय खेलाडीमा सीमित उक्त प्रतियोगिता आगामी वर्षमा विदेशी खेलाडीको सहभागिता हुने आयोजकले विश्वास लिएको छ । मुस्ताङ गल्फ कोर्षको वल्र्ड रेकर्ड कायम गराउन र प्रतियोगितालाई विश्व स्तरमा प्रसार गर्न दोस्रो संस्करणको गल्फ प्रतियोगिता कोषेढुंगा सावित हुने व्यावासायिक गल्फर भुवन गुरुङले बताए । समुन्द्री सतहबाट ४ हजार ६ सय ४५ मिटर (१५२३९.५ फिट) उचाइमा रहेको लोक्चाङमा मुस्ताङ गल्फ कोर्स निर्माण गरेर गल्फ खेलको सफल परीक्षणसमेत भइसकेको छ ।