आईपीओ जारी गर्ने तयारीमा श्रीनगर एग्रिटेक

काठमाडौं– दुई दशकभन्दा बढी समयदेखि पशुपन्छी तथा दानाजन्य उत्पादन गर्दै आएको श्रीनगर एग्रिटेक इन्डस्ट्रिज लिमिटेडले सर्वसाधारणका लागि सेयर (आईपीओ) जारी गर्ने तयारी गरेको छ । कम्पनीले नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई बिक्री प्रबन्धक बनाएर आईपीओ जारी गर्ने गरि अगाडि बढिरहेको हो ।
लिमिटेडले जारी पूँजीको १३ प्रतिशतले हुन आउने अंकित मूल्य १०० रुपैयाँ दरको १३ करोड रुपैयाँबराबरको १३ लाख कित्ता आईपीओ निष्काशन गर्ने प्रक्रिया अगाडि बढाएको छ । श्रीनगर एग्रो फार्म प्रालिले लगानी विस्तार तथा थप परियोजनासहित पब्लिक कम्पनी बनेसँगै आईपीओ निष्कासनको तयारी गरेको हो । पब्लिक लिमिटेडमा गएसँगै श्रीनगर एग्रिटेक इन्डस्ट्रिज लिमिटेडमा कम्पनी रुपान्तरण भएको छ ।
बालाजुको एउटा कुखुरा फार्मबाट सुरू भएको श्रीनगरले लुम्बिनी प्रदेश केन्द्रीत भएर नेपालभर आफ्ना उत्पादन तथा सेवा विस्तार गरिरहेको छ । वार्षिक एक अर्ब रुपैयाँको कारोबार गरिरहेको कम्पनीका अध्यक्ष सतिसचन्द्र श्रेष्ठले जानकारी दिए । ‘यो आर्थिक वर्ष हामी लिमिटेड कम्पनी भएको वासलात निकाल्नुपर्ने धितोपत्र बोर्डको बाध्यकारी प्रावधान रहेको छ, वासलात आएपश्चात छिट्टै आईपीओ जारी गर्छौँ’ श्रेष्ठले भने ।
दुई/चार हजार कुखुरा पालेर अगाडि बढेको पोल्ट्री फार्मबाट सुरू भएको श्रीनगरको यात्रा अहिले पब्लिक लिमिटेडसम्म आइपुगेको छ । कम्पनीसँग करिब ५ हजार कृषक आवद्ध छन् । कम्पनी फार्म (पशुपालन) र फिड (दाना) जन्य उत्पादनमा विश्वासिलो ब्राण्ड बनिसकेको श्रेष्ठ बताउँछन् । श्रीनगरको अबको योजना खाद्य क्षेत्रमा आक्रामक लगानी विस्तार गर्ने रहेको उनले बताए ।
बैंकिङ क्षेत्रमा राम्रो करिअर बनाइसकेका सतिसचन्द्र श्रेष्ठले आकर्षक कमाइको मोह त्यागेर कृषिमा होमिएका थिए । ‘बैंकिंग क्षेत्रमा काम गरिरहँदा सिटी बैंकको राम्रै जागिर छाडेर कृषि क्षेत्रमा रमाउन खोजेको हुँ,’ उनले भने,‘यो यात्रामा निकै सन्तुष्टी पाउन सकिन्छ भनेर उदाहरण पनि दिन चाहन्छु ।’ श्रीनगरले हाल फार्म (चल्ला, कुखुरा र अण्डा) र फिड (दाना) उद्योगमा सफल मानिएको छ ।
श्रीगर एग्रो नेपालको पहिलो आइएसओ ९००१:२०१५ सर्टिफिकेट प्राप्त इन्टिग्रेटेड एग्री बिजनेस फर्म हो । कम्पनीले अब तयारी कुखुरामा पनि अगाडि बढ्ने योजना बनाएको श्रेष्ठले जानकारी दिए । उनले भने,‘थप उद्यम विस्तार र व्यापार बढाउन लगानी पनि ठूलो आवश्यकता पर्ने भएकाले लिमिटेड कम्पनीमा जाने निर्णय गरेका हौँ ।’ उनले लगानीकर्तालाई आत्मसन्तुष्टी र मुनाफा दुवै भएमा मात्र लगानी राम्रो हुने भन्दै भने, ‘हामीले हालसम्म गरेको कृषि उद्यमशीलताका कारण जो कोही लगानीकर्ताले पनि आत्मसन्तुष्टी पाउनेछन् ।’
उनले प्रिआइपीओमा लगानीकर्ताले देखाएको उत्साहले कम्पनी सही बाटोमा छ भन्नेमा थप ढुक्क भएको समेत उल्लेख गरे । सुरुवाती समयमा प्यारेन्ट चल्लाको उत्पादन तथा सप्लाइमा केन्द्रीत यस कम्पनीले विस्तारै वन स्टेप सोलुसनको अवधारणा अनुसार आफ्ना योजना अगाडि बढाएको छ । जसअनुसार किसानका लागि आवश्यक बिउ, चल्लादेखि दानासम्म पूर्ति गर्ने कम्पनीको योजना छ ।
काठमाडौंको जेम्स पोल्ट्रीबाट सुरु गरी रुपन्देहीमा केन्द्रीत भएको यस कम्पनी अहिले पश्चिम नेपालमा पोल्ट्री क्षेत्रको छुट्टै ब्राण्ड नै बनेको छ । श्रीनगरले रूपन्देहीको शुद्धोदन नगरपालिका ४ मा पौने दुई बिघामा दाना उद्योग सञ्चालन गरिरहेको छ । नजिकै पौने तीन बिघाको ह्याचरी तथा फार्म र अर्को पौने चार बिघामा एउटा व्यवसायीक फार्म सञ्चालन गरिरहेको छ । पाल्पाको तेल्घामा २३ रोपनी जग्घामा ब्रिडर फार्म सञ्चालनमा छ ।
बुटवलमा पनि मासु प्रशोधन उद्योग लगायत फुडमा नयाँ योजनाका साथ कम्पनी अगाडि बढिरहेको अध्यक्ष श्रेष्ठले जानकारी दिए । श्रीगरले गत आर्थिक २०७९/०८० वर्षमा एक अर्ब रुपैयाँ बढी कारोबार गरेको उनको भनाइ छ । ‘चालु आवमा कम्तिमा डेढ सय करोडको बिक्रीलाई लक्षित राखेका छौँ,’ उनले भने । उनले अबको तीन वर्षमा लाभांश वितरण गर्ने लक्ष्य लिएको जानकारी दिए ।