Logo

गरिबी र अशिक्षाले बढ्दै मानव बेचबिखन

जुम्ला– गरिबी, अशिक्षा र अज्ञानताको फाइदा उठाउँदै मानव बेचबिखन बढेको छ । विपन्न परिवार र गरिबीको फाइदा उठाएर जागिर लगाइदिने, घरमा धर्मपुत्र, पुत्री बनाउने, विदेश पठाउनेजस्ता प्रलोभन देखाएर मानव बेचबिखन हुने क्रम पछिल्लो समय बढ्दो छ ।

जुम्लामा आर्थिक वर्ष २०७४/०७५ मा एक व्यक्तिले जुम्ला पातारासीका विपन्न समुदायका २१ जना बालबालिकालाई लामा पढाउने नाममा भारत लैजान नेपालगन्जसम्म पुर्‍याए । गलत नियतले लिएको शंकापछि माइती नेपालले उद्दार गर्‍यो । परिवारको आर्थिक अवस्था कमजोर भएकै कारण नि:शुल्क लामा पढाइदिने प्रलोभन देखाएर गलत कार्यका लागि २१ जना बालबालिका लिइएको पछि पत्ता लाग्यो । बालबालिकाको उद्दारपछि मुद्दा दर्ता भयो ।

उक्त विषय मुद्दाका कसुरदार हाल धरौटीमा मुद्दा किनारा लागिसकेको छ । बालबालिकाका परिवारसँग बुझ्दा परिवार संख्या बढी भएको, पढाइदिने, खाने बस्ने राम्रो व्यवस्था गरिदिने भनेपछि बच्चा पठाएको बताए । तरपछि बालबालिकालाई बेच्ने मनसायले लिएको थाहा पाएको बताएका छन् । त्यस्तै आव २०७७/७८ मा जुम्लामा अर्को मानव बेचबिखनको मुद्दा दर्ता भएको छ । त्यस्तै पारिवारिक अवस्था कमजोर भएकै कारण प्रलोभन देखाएर लिन खोजेपछि उजुरी परेको हाल घटना अनुसन्धानकै क्रममा रहेको प्रहरीले जनाएको छ ।

मानव बेचबिखनका मुद्दा हालसम्म दुई वटामात्रै दर्ता भएका छन् । जसमध्ये एक फस्र्योट भइसकेको र एक अनुसन्धानकै क्रममा छ । तर विभिन्न बहानामा मानव बेचबिखनका प्रयास भने जुम्लासहित कर्णालीमा बढ्दै गरेको देखिन्छ । डीएसपी प्रल्हाद कार्की मानव बेचबिखन हुनुका विभिन्न कारणमध्ये कर्णालीमा मुख्य गरिबी र अशिक्षालाई लिन सकिने बताउँछन् ।

उनी भन्छन्, ‘कर्णालीमा परिवार संख्या बढी हुने । आफ्नो उत्पादनले ५/६ महिना खान नपुग्ने । कोही सहयोगी भावना देखाउँदै आएमा पग्लिएर छोराछोरी धर्मपुत्री, पुत्र वा पढ्न लेख्नका लागि सहजै सुम्पिने गर्छन् । जसका कारण मानव बेचबिखनको समस्या विकराल हुँदैछ । यद्यपि उजुरीका रूपमा भने आउँदैनन् ।’ यौन शोषण, अंग प्रत्यारोपण, श्रमशोषण, सर्कसमा खेलाउन, अवैध रूपमा धर्मपुत्र, पुत्री बनाउन, घरेलु कामदार बनाउन, बालश्रम गराउनलगायतका क्षेत्रमा दुरुपयोग गर्ने उद्देश्यले मानव बेचबखिन हुने गर्छ ।

मानव बेचबिखन जस्तो संवेदनशील विषयमा स्थानीय सरकार तथा गैरसरकारी संस्था गम्भीर देखिएका छैनन् । शिक्षा चेतनाको अभावले दूरदराजमा धेरै बच्चा जन्माउने, ठूलाबडाका घरमा पढ्न लेख्न भनेर पढाउने र अन्तमा बिक्री हुने र यौन शोषणमा पर्ने समस्या छ । जुम्लामा बुधबार मानव बेचबिखनविरुद्धको १७औं राष्ट्रिय दिवसको अवसरमा र्‍यालिपछि आयोजित अन्तरक्रियामा सहभागी सरोकारवालाले गरिबी, अशिक्षा, सरोकारवालाको गैरजिम्मेवारीपन, अभिभावकको लापरबाहीले मानव बेचबिखनका समस्या बढेको बताएका छन् ।

मानव बेचबिखन रोक्न अभिभावक सचेतनादेखि सामाजिक सञ्जालको सदुपयोग, जनचेनतना अभविृद्धिलगायतका विषयमा ध्यान दिन जोड दिएका छन् । जिल्ला समन्वय समितिका उपप्रमुख जनक थकालीले मानव बेचबिखन रोक्न घरबाटै सचेतनाको कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए । स्थानीय सरकार गैससले यस्ता विषयमा संवेदनशील भएर लाग्न जरुरी रहेको उनको भनाइ छ ।

प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले मानव बेचबिखन समस्या वर्तमान समयको मुख्य चुनौती भएको बताए । बेचबिखनको जोखिममा सबैभन्दा बढी महिला र बालबालिका रहेका छन् । आर्थिक, सामाजिक, चेतनास्तर सबै कमजोर हुँदा पनि बेचबिखन बढेको उनको भनाइ छ । साझा प्रयास र एकताले मात्रै यी समस्या उन्मूलन गर्न सम्भव रहेकोमा जोड थियो ।

मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण), ऐन २०६४ ले कुनै पनि बहानामा मान्छेको ओसारपसार गर्ने, अंग बिक्री गर्नेलगायतका कसुरदार तथा अन्य संलग्न व्यक्तिलाई २० वर्षसम्म कैद सजाय तथा कारबाही हुने व्यवस्था छ भने मानव बेचबिखनको मुद्दाको हद म्याद असीमित हुने ऐनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्