विहार र उत्तर प्रदेशका पर्यटन व्यवसायी पाल्पामा «

विहार र उत्तर प्रदेशका पर्यटन व्यवसायी पाल्पामा

बुटवल– भगवती जात्राको अवसरमा भारतका विहार र उत्तर प्रदेशका पर्यटन व्यवसायी पाल्पा आइपुगेका छन् । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस् नाट्टा पाल्पा च्याप्टरले आयोजना गरेको कार्यक्रमअन्तर्गत छिमेकी मुलुकका ३० जना पर्यटन व्यवसायी र पत्रकारको टोली पाल्पा आएको हो ।

ऐतिहासिक जात्रा अवलोकनका साथै पाल्पामा रहेका विभिन्न पर्यटकीय गन्तव्यको पहिचान र प्रवर्द्धन गर्ने उद्देश्यले भारतीय पर्यटन व्यवसायीलाई परिचयात्मक यात्रा गराउन लागिएको नाट्टा पाल्पा च्याप्टरका अध्यक्ष राजिवकुमार शाहले जानकारी दिए । यस्तै भारतीय पर्यटन व्यवसायीसँग बीटुबी सेल्स मिसन कार्यक्रमसमेत हुने उनले बताए ।

भारतीय पर्यटन व्यवसायीलाई बुधबार दिउँसो तानसेनमा नाट्टा पाल्पाले स्वागत गरेको छ । भ्रमणमा सहभागी टुरिजन एसोसिएसन अफ विहारका अध्यक्ष एस के सिन्हाले काठमाडौं र पोखरासँग अब पाल्पाको पर्यटन प्रवर्द्धनमा पनि आफूहरूले सहयोग गर्ने बताए । पाल्पाको तान्सेनसँगै रिडी, भैरवनाथ मन्दिर छ । हिल स्टेसन छन् । जहाँबाट हिमाली दृष्य पनि देखिन्छ । प्राकृतिक रुपमा पनि सुन्दर छ ।

पहिलो दिन भारतीय पर्यटन व्यवसायीले तानसेन बजारसँगै श्रीनगर लगायतका स्थानमा साइटसिन गरेका छन् । उनीहरू भगवती जात्राको पूर्वसन्ध्यामा आयोजित कार्यक्रममा पनि सहभागी भएका छन् । बिहीबार बिहानको साइटसिनमा बगनासकाली गाउँपालिकामा रहेको तिनछाँगा पुग्नेछन् । तिनछाँगाको अवलोकनपछि त्यहाँको महामृत्युञ्जय मन्दिर दर्शन गराइने नाट्टा पाल्पाले जनाएको छ ।

भारतीय पाहुनालाई मध्याहन्न साढे ११ बजे रणउजेश्वरी भगवती जात्राको अवलोकन गराइने छ । तानसेनमा प्रत्येक वर्ष कृष्णाजन्माष्टमीको भोलिपल्ट रणउजेश्वरी भगवतीको जात्रा निकाल्ने गरिन्छ । दुई सय वर्षअघि बुटवलको जितगढीमा उजिरसिंह थापा नेतृत्वको नेपाली सेनाले अंग्रेजलाई पराजित गरेको सम्झनामा त्यति बेलादेखि भगवती जात्रा निकाल्ने गरिएको हो ।

भगवती जात्रा पाल्पाको विशेष पर्वसमेत हो । जात्रा अवलोकनपछि भारतीय पर्यटकको टोली दिउँसो सिद्ध गुफा हुँदै रानीमहल पुग्ने छन् । रानीमहलमा र्‍याफ्टिङ हुनेछ । रानीमहलपछि धार्मिकस्थल रिडी पुग्ने छन् । रिडीमा पाल्पा, गुल्मी र स्याङजालाई जोड्ने गरी तीनमुखे झोलुंगे पुल बनेको छ । जुन पर्यटकीय गन्तव्य बनेको छ । तिनमुखे पुलसँगै उनीहरूले रिडीको मन्दिर तथा साँझको आरती अवलोकन गर्ने नाट्टा पाल्पाका अध्यक्ष शाहले जानकारी दिए ।

साँझ पाल्पा हार्थोकमा रहेको सिर्जना फारममा भारतीय पाहुनाको बसाइ हुनेछ । त्यहाँ बेलुका सांस्कृतिक कार्यक्रम अवलोकन गराइने कार्यक्रम छ । शुक्रबार बिहान भैरवस्थान हुँदै थाम्केडाँडा, कुहिरेभीर अवलोकन गरेपछि तानसेनमा आएर बीटुबी सेसन हुने छ । त्यसपछि भारतीय पर्यटन व्यवसायीको बिदाइ गरिने कार्यक्रम छ । यो कार्यक्रमले पाल्पाको पर्यटन प्रवर्द्धनमा ठूलो सहयोग पुग्ने नाट्टा पाल्पाका अध्यक्ष शाहले बताए ।

प्रतिक्रिया दिनुहोस्