चियासँगै फस्टाउँदै कफीखेती «

चियासँगै फस्टाउँदै कफीखेती

इलाम-चियाको पर्यायका रूपमा परिचित इलाम पछिल्लो समय कफी खेतीमा पनि अब्बल बन्दैछ । धेरै क्षेत्र चिया भएकै कारण चियाको राजधानी पनि भनेर चिनिने इलाममा व्यावसायिक कफी खेती गर्ने किसानको संख्या बढ्दै गएको छ । पछिल्लो समय कफी खेतीमा धेरै युवाहरूले भविष्य खोज्न थालेका छन् ।
तथ्यांक विभागको एक सर्वेक्षणअनुसार इलाम प्रदेश १ कै उत्कृष्ट कफीखेती हुने जिल्लामा परेको छ । सर्वेक्षणका अनुसार प्रदेश १ को १० जिल्लामा ५६९ किसानले व्यावसायिक कफीखेती गरेका छन् । त्यसमध्ये इलाममा २३६ किसानले व्यावसायिक कफीखेती गरिरहेको केन्द्रीय तथ्यांक विभागका निर्देशक बद्रीकुमार कार्कीले जानकारी दिए । विभागले ५० बोटभन्दा बढी कफी लगाएर खेती थालेका किसानलाई मात्रै सर्वेक्षणमा समावेश गरेको छ । व्यावसायिक कफीखेतीको सर्वेक्षण भएकाले ५० बोटभन्दा कम हुनेको तथ्यांक नलिइएको उनको भनाई छ । तथ्यांक संकलनको काम २०७४ सालमा भएकाले त्यसयता खेती थालेका किसान छुटेको उनको भनाइ छ ।
निर्देशक कार्कीका अनुसार इलामको हावा, पानी र माटो पनि कफी खेतीका लागि योग्य छ । प्रदेश नम्बर एकका अन्य जिल्लाका तुलनामा यस जिल्लामा यो खेती फस्टाउन सक्ने भएकाले पनि यहाँ कफी खेतीको सम्भावना रहेको उनले बताए ।
तथ्यांकअनुसार प्रदेश १ को १२० हेक्टर क्षेत्रफलमा कफीखेती भइरहेको छ । त्यसमध्ये इलाममा ४३ हेक्टरमा व्यावसायिक रूपमा खेती गरिएको जनाइएको छ । प्रदेश १ मा एक लाख तीन हजार ६६१ किलो ‘फ्रेस चेरी’ उत्पादन हुने गरेको उनले वताए । इलाममा वार्षिक ४२ हजार ६४९ फ्रेस चेरी उत्पादन हुने गरेको तथ्याङ्क सार्वजनिक गरिएको छ । इलाममा पछिल्लोपटक कम्पनी मार्फत ठूलो क्षेत्रफलमा कफी लगाउन थालिएको छ । सूर्योदय नगरपालिकामा ४ सय रोपनीमा कफी लगाइँदैछ ।
कफी खेती हुने सम्भावना वढेपछि पछिल्लो समय यहाँका किसान अन्य खेती छोडेर कफी खेती गर्न तम्सिएका छन् । इलाम देउमाई नगरपालिकाका अरुण राइले अव कफीबाट नै भविष्य खोज्ने वताए । विदेशबाट फर्किएका उनले यसै वर्ष मकैबारी भित्र यो खेती सुरु गरेका छन् । यसै वर्ष मात्र खेती सुरु गरेका उनले पाँच सय कफीका विरुवा रोपिसकेका छन् । यसै वर्ष अझै विरुवा लगाउनका लागि विरुवा माग गरिसकेको उनले वताए । उनीसँगै अन्य किसानले पनि परिक्षणकै लागि भए पनि खेती लगाउन सुरु गरेका छन् ।
यहाँ मानिस चिया किन्न मात्र नभई चियाबारी क्षेत्र घुम्न पनि आउने गरेका छन् । तर, पछिल्लो समय चियाका लागि प्रख्यात मानिने इलाममा कफी खेती पनि हुन थालेपछि कफीले पनि उत्तिकै सम्भावना बोकेको छ । चिया जस्तो बढी स्याहार नचाहिने भएपछि पनि यहाँका किसानले कफी खेती रोज्न थालेका हुन् । किसानले कफीको व्यावसायिक खेती गर्न थालेपछि उत्पादनमा वृद्धि भएको जनाइएको छ । यहाँका किसानलाई कफीको स्वाद भने भिजेको छैन । जसरी नियमित चिया सेवन गर्ने चलन छ उसैगरी कफी सेवन गर्ने बानी भने परिसकेको छैन । तर कफीको व्यावसायिक उत्पादनले भने कफी सेवनको पनि बानी बसाल्ने उनीहरू वताउँछन् ।
कफीको सम्भावनाका विषयमा सुनेर नै जिल्लाका अन्य खेती गर्ने किसानहरूले कफीका विरुवाको माग गरेका छन् । इलाम नगरपालिकाको शेरामा यसका विरुवा उत्पादन गरिएको छ । तर यहाँको मागले धान्न नसकेर बाहिरबाट विरुवा झिकाउन थालिएको किसानहरूले वताएका छन् । यसका विरुवा प्रतिगोटा २५ रूपयाँ पर्ने गरेको छ । विरुवालाई ढुवानी गरेर गाउँगाउँ पु-याउँदा मूल्यमा वृद्धि हुने गरेको छ ।
इलाम नगरपालिका, देउमाईको जितपुर, गजुरमुखी, माई नगरपालिका लगायतका ठाउँमा ठूलो क्षेत्रफलमा कफीखेती थालिएको छ । प्रदेश १ को तेह्रथुममा १६६ किसानले १६ हेक्टर क्षेत्रफलमा कफी खेती गरेका छन् । पाँचथरमा १३ हेक्टर, उदयपुरमा तीन दशमलब पाँच, खोटाङमा पाँच हेक्टर, ताप्लेजुङमा चार हेक्टर, भोजपुरमा १७ हेक्टर, संखुवासभामा नौ हेक्टर, ओखलढुांमा एक हेक्टर, धनकुटामा छ हेक्टरमा कफी खेती हुने गरेको वताइएको छ । सर्वेक्षणअनुसार नेपालको ३२ जिल्लामा कफीखेती भइरहेको छ । पाकेको कफी नसुकाई प्रतिकिलो एक सयमा विक्रि हुने गरेको छ । तर यहाँ कफी प्रशोधन गर्ने उद्योग भने सञ्चालनमा आउन सकेको छैन । किसानहरूले यसले समस्या हुने वताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्