बढदै विद्युतीय गाडीप्रतिको आकर्षण «

बढदै विद्युतीय गाडीप्रतिको आकर्षण

दाङ– जिल्लामा विद्युतीय गाडीप्रतिको आकर्षण बढ्दै गएको पाइएको छ । आकर्षण बढेसँगै माग पनि बढ्न थालेको बताइएको छ । तुलसीपुर निवासी केशव केसी करिब दुई वर्षदेखि विद्युतीय गाडी चढ्दै आएका छन् । निजी प्रयोजनका लागि विद्युतीय कार किनेका केसीलाई तेल सकिएला र मूल्य बढ्ला भन्ने चिन्ता छैन । चार्ज गरेपछि निश्चित दूरीसम्म चल्ने पूर्वअनुमान भएकाले त्यहीअनुसार चार्ज गरेर विद्युतीय गाडी चढ्दै आएका छन् ।

करिब ५० लाख रुपैयाँ खर्च गरेर गाडी किनेका केसीका अनुसार इन्धनबाट चल्ने गाडीका तुलनामा विद्युतीय गाडी चढ्न सहुलियत हुने गरेको छ । ‘इन्धनबाट चल्ने गाडी प्रयोग गर्दा खर्च धेरै हुने गरेको थियो । त्यसको तुलनामा विद्युतीय गाडी चढ्न थालेपछि खर्च घटेको छ,’ उनले भने । विद्युतीय गाडी चार्जिङ स्टेसनमा चार्ज गर्दा पेट्रोलको तुलनामा आधाभन्दा पनि कम खर्च हुने गरेको छ । गाडी सर्भिसिङ गर्दा पनि खर्च कम लाग्ने गरेको छ । ‘म दैनिक २५ देखि ६० किलोमिटरसम्म यात्रा गर्नुपर्ने हुन्छ, त्यतिमा मेरो खर्च डेढ सय रुपैयाँ जति हुन्छ,’ उनले भने ।

तुलसीपुरमा हाल वेस्टर्न पार्टी प्यालेसमा मात्रै विद्युतीय चार्जिङ स्टेसन छ । विद्युतीय कार घरमै पनि चार्ज गर्न मिल्ने भएकाले प्राय: घरमै चार्ज गर्ने गरेको बताए । ‘अलिक टाढाको यात्रा गर्नुपर्दा वा विद्युत काटिने अवस्था छ भने चार्जिङ स्टेसनमै पुगेर गर्ने गरेको छु,’ उनले भने । नेपाल विद्युत प्राधिकरणले ठाउँठाउँमा चार्जिङ स्टेसन राख्न थालेपछि विद्युतीय गाडी प्रयोग गर्नेलाई सजिलो भएपछि प्रयोगकर्ता समेत बढ्दै गएका छन् । लमहीमा विद्युत प्राधिकरण र तुलसीपुरमा निजी लगानीमा विद्युतीय चार्डिङ स्टेसनको व्यवस्था छ ।

यी स्टेसनमा सामान्य अवस्थामा प्रतियुनिट ६ रुपैयाँ शुल्क लाग्ने गरेको छ । तुलसीपुरका व्यवसायी विमल पौडेलले सार्वजनिक यातायातमा दुईवटा विद्युतीय माइक्रो बस चलाउँदै आएका छन । उनका दुईवटा गाडीमध्ये एउटा विद्युतीय गाडी दैनिक दाङको तुलसीपुरबाट नेपालगन्जसम्म र अर्को गाडी तुलसीपुरबाट बुटवलसम्म चल्न थालेको चार महिना भइसक्यो । तुलसीपुर–नेपालगन्ज ११६ किलोमिटर र तुलसीपुर–बुटवल १७५ किलोमिटर दूरीमा विद्युतीय गाडी राम्रै चलेको पौडेलले बताए ।

दुईवटै गाडी रातको समयमा प्राय: घरमै चार्ज गर्ने गरेका पौडेलले स्टेसनमा पूरा चार्ज गर्दा नेपालगन्ज जाने गाडीका लागि बढीमा एक हजार रुपैयाँ र बुटवल जाने गाडीका लागि बढीमा १५ सय रुपैयाँ चार्जिङ शुल्क लाग्ने गरेको छ । व्यवसायी पौडेल भन्छन्, ‘पेट्रोल हाल्नु परेको भए नेपालगन्ज जाँदा र पर्किंदा कम्तीमा ३५ सय रुपैयाँ र बुटवल जान आउन पाँच हजार रुपैयाँ लाग्ने थियो । तर विद्युतीय चार्जिङ गर्दा धेरै कम लाग्ने गर्दछ ।’ विद्युतीय गाडीको प्रयोगले पैसाको बचतसँगै वातावरण संरक्षणमा समेत सहयोग पुग्ने गरेको उनले बताए । तर सडकका विभिन्न ठाउँमा परेका खाल्डाखुल्डीका कारण समस्या हुने गरेको उनको गुनासो रहेको छ ।

सरकारले विद्युतीय गाडी प्रयोगलाई प्राथमिकता दिएर ठाउँठाउँमा चार्जिङ स्टेसन निर्माण गरेपछि पछिल्लो समय केसी र पौडेलजस्तै विद्युतीय गाडी प्रयोग गर्ने मानिसको संख्या बढ्दै गएको छ । पौडेलका अनुसार त्रिसिद्धेश्वरी राप्ती यातायात प्रालिमा आबद्ध भएर हाल नौ वटा गाडी चल्ने गरेका छन् । उनका अनुसार सुरूमा विद्युतीय गाडी खरिदमा केही बढी खर्च भए पनि इन्धनको बचतका कारण फाइदा हुने बताए । नेपाल विद्युत प्राधिकरणले दाङको लमहीमा दुईवटा चार्जिङ स्टेसन निर्माण गरेर गत जेठदेखि सञ्चालनमा ल्याएको छ ।

लमही नगरपालिकाको बसपार्कमा एसियाली विकास बैंक र नेपाल विद्युत प्राधिकरणको साझेदारीमा करिब डेढ करोड रुपैयाँमा चार्जिङ स्टेसन निर्माण गरिएको नेपाल विद्युत प्राधिकरण लमही वितरण केन्द्रका प्रमुख जगन्नाथ लामिछाने बताए । लमहीको बसर्पाकमा निर्माण गरिएको चार्जिङ स्टेसनले स्थानीयसँगै पूर्व–पश्चिम राजमार्गमा चल्ने विद्युतीय सवारीसाधनलाई सहजता भएको लामिछाने बताए ।

‘लमहीमा चार्जिङ स्टेसन नहुँदा निजी सवारीसाधन घरमै चार्ज गर्न सकिने भए पनि सार्वजनिक सवारीसाधनलाई चार्ज गर्नका लागि समस्या थियो । त्यो समस्या अहिले हटेको छ,’ प्रमुख लामिछानेले भने । उनका अनुसार दुईवटा चार्जिङ स्टेसनमा एकसाथ ६ वटा गाडी चार्ज गर्न मिल्ने सुविधा छ । पछिल्लो समय लमही स्टेसनबाट दैनिक १८ देखि २० वटा साना ठुला गाडीले चार्जिङ सेवा लिने गरेका छन् ।

उनका अनुसार चारपांग्रे एउटा गाडी पूरा चार्ज हुन २० युनिटसम्म विद्युत खपत हुने गरेकाले दुई सयसम्म शुल्क लाग्ने गरेको छ । यातायात व्यवस्था कार्यालय तुलसीपुरका प्रमुख रमेश गौतमका अनुसार कार्यालयमा निजी विद्युतीय कार २४ र ६२ वटा विद्युतीय स्कुटर दर्ता भएका छन् । त्यसैगरी रिक्साको संख्या तीन हजार सात सय बढी रहेको यातायात व्यवस्था कार्यालय दाङले जनाएको छ । तर ठूला गाडी बाहिर नै दर्ता भएर आउने भएकाले कार्यालयमा डाटा नभएको कार्यालय प्रमुख गौतमले बताए ।

प्रतिक्रिया दिनुहोस्