असोजदेखि चाडपर्व लक्षित बजार अनुगमन «
Logo

नियमविपरीत कार्य गरेमा कार्यक्षेत्रमै जरिवाना

असोजदेखि चाडपर्व लक्षित बजार अनुगमन

काठमाडौं– चाडपर्व लक्षित बजार अनुगमन असोज १ देखि हुने भएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, जिल्ला प्रशासन कार्यालय, काठमाडौंसहित विभिन्न नौ विभागको टोलीले बजार अनुगमन गर्न लागेको हो । चाडपर्वमा अन्य समयमा भन्दा बजार चलायमान हुँदा व्यापारीबाट उपभोक्ता नठगिउन् भन्ने उद्देश्यले विभागले हरेक वर्ष चाडपर्व लक्षित बजार अनुगमन गर्दै आएको छ ।

वाणिज्य विभागका प्रवक्ता होमनाथ भट्टराईका अनुसार अनुगमनमा वाणिज्य, आन्तरिक राजस्व, खाद्य प्रविधि तथा गुण नियन्त्रण, स्वास्थ्य सेवा, औषधि व्यवस्था, गुणस्तर तथा नापतौल, कृषि, पशुसेवा, पर्यटन विभाग र जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि सहभागी हुनेछन् । यसअघि वाणिज्य तथा उपभोक्ता हित संरक्षण विभागले बजार अनुगमन गर्दै आएको थियो । विभाग एक्लैले बजार अनुगमन गर्दा प्रभावकारी नहुने हुँदा यस पटक सबै विभागसहित संयुक्त रूपमा गर्ने निर्णय गरेको प्रवक्ता भट्टराईले जानकारी दिए ।

सोमबार विभागका प्रतिनिधिको उपस्थितिमा समन्वयात्मक बैठकले असोज १ देखि कम्तीमा १० टोली बजार अनुगमनमा पठाउने निर्णय भएको उनले बताए । वाणिज्य सचिव नेतृत्वको समितिको बैठकले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई बजार अनुगमनको अधिकार प्रत्यायोजन गरेको उनले जानकारी दिए । ७ सय ५३ वटै पालिकामा बजार अनुगमन हुने उनले बताए । चाडपर्वमा धेरै कारोबार हुने हुँदा व्यापारीले उपभोक्तालाई ठग्ने सम्भावना देखिएकाले प्रभावकारी बजार अनुगमनका लागि थप २० जना जनशक्ति माग गरेको प्रवक्ता भट्टराईले जानकारी दिए ।

प्रवक्ता प्रवक्ता भट्टराईले भने, ‘जनशक्तिका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पत्र पठाएको महिना दिन भइसक्यो । विभागले जनशक्ति पाएको छैन । विभागले १० जना अधिकृत, १० जना नायव सुब्बा र अनुगमनका लागि आवश्यक स्रोतसाधनको माग गरेको हो । उपलब्ध भएको छैन ।’ जनशक्ति र स्रोतसाधन उपलब्ध भएलगत्तै विभागले तीव्र रूपमा बजार अनुगमन गर्न थाल्ने प्रवक्ता भट्टराईले बताए ।

बजारमा प्रभावकारी अनुगमनका लागि विभागसँग जनशक्ति र स्रोतसाधन नै नभएको उनको भनाइ छ । स्रोतसाधन नहुँदा पनि विभागको दैनिक दुई टोली बजार अनुगमनमा गइरहेको उनले जानकारी दिए । ‘विभागले मात्र अनुगमन गरी बजार प्रभावकरी हुँदैन । ठूला व्यापारिक मलदेखि साना खुद्रे चिया पसलहरूसम्म विभागको टोली अनुगमन पुग्न सम्भव छैन ।’ आम नागरिकको अनुभूति हुने गरी बजार अनुगमनलाई प्रभावकारी बनाउन सबै स्थानीय तहले आ–आफ्नो क्षेत्रमा अनुगमन गर्नुपर्ने उनको भनाइ छ ।

सबै स्थानीय तहलाई बजार अनुगमनको अधिकार भएकाले सम्बन्धित क्षेत्रभित्र पालिकाबाटै बजार अनुगमन हुन जरुरी भएको उनले बताए । प्रवक्ता भट्टराईका अनुसार विभागले आइतबार २१ वटा व्यवसायी फर्ममा अनुगमन गर्दा १२ वटालाई ७ लाख १५ हजार जरिवाना गरेको छ । नियमविपरीत व्यवसाय गर्ने पसललाई ५ हजारदेखि ३ लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने कानुनी अधिकार अनुगमन अधिकृतलाई दिइएको छ । सोही अधिकारबमोजिम विभागले कारबाही गर्ने गरेको हो ।

विभागका अनुसार बजार अनुगमन सबैभन्दा धेरै रिलेबलिङ गरी गुणस्तर, परिमाण, मूल्य र नापतौल हेरफेर गर्ने याट्खाटोलमा रहेको एक खाद्यवस्तु बिक्रेतालाई ३ लाख जरिवाना गरिएको छ । त्यस्तै रिलेबलिङ गरी गुणस्तर, परिमाण, मूल्य र नापतौल हेरफेर गर्ने स्याङ्जाको अर्को खाद्यवस्तु बिक्रेतालाई पनि २ लाख जरिवाना गरिएको विभागले जनाएको छ । बिनादर्ता सञ्चालित त्रिपुरेश्वरको सर्जिकल सामान बेच्ने बिक्रेतालाई विभागले १ लाख रुपैयाँ जरिवाना गरेको छ । सोल्टीमोड र नयाँ बजारमा रहेको मिनिमार्ट, नयाँ बजारको रेडिमेड कपडा पसल, कस्मेटिक पसललगायतलाई पनि विभागले जरिवाना गरेको छ ।

प्रतिक्रिया दिनुहोस्