Logo

धानमा रोग प्रकोप

बिर्तामोड– झापा, अर्जुनधाराका किसानले लगाएको धानखेतीमा गवारो रोगको प्रकोप बढेको छ । अर्जुनधारा वडा नम्बर ३ का १० जना किसानले लगाएको २० बिघा धानखेतीमा गवारो रोग देखिएको हो ।

गवारो कीरा प्रकोपले धान पहेंलो हुनुका साथै धानको गुभो मर्न थालेपछि किसानहरू चिन्तित बनेका छन् । अर्जुनधारा वडा नम्बर ३ का सञ्चरानी इङ्नाम, युवराज इङ्नाम, पूर्णहाङ इङ्नाम, दलमान कामी, प्रकाश गजुरेल, स्वर्णकुमार राई, होम पाण्डे, होम दुलाल, नरेन्द्र फेगुवा र अमा लिम्बूले लगाएको धानखेतीमा गवारो रोग देखिएको अर्जुनधारा वडा नम्बर ३ का वडा सचिव खगेन्द्र लिङ्देनले बताए । गवारो कीरा प्रकोपले धान पहेंलो हुनुका साथै धानको गुभो मर्न थालेपछि किसानहरू चिन्तित भएका छन् ।

किसान पीडित भएको खबर पाएपछि कृषि शाखाबाट गवारो मार्ने कीटनाशक औषधि ल्याएर वितरण गरेको अर्जुनधारा वडा नम्बर ३ का वडा सदस्य नारायण पराजुलीले बताए । अर्जुनधारा नगरपालिकाका वडा नं. ३ सहित सबै वडाका किसानले लगाएको धानखेती फौजी कीरा, गवारो रोगबाट प्रभावित बनेको कृषि शाखा प्रमुख एन्जिला विडारीले बताइन् । उनले फौजी कीरा, गवारो रोग नियन्त्रणका लागि कीटनाशक झोल औषधि वितरण गरिँदै आएको बताइन् ।

अत्यधिक पानी परेर घाम लागेपछि जमेको पानी तातेर धानका बोटमा फौजी कीरा र गवारोजस्ता रोग लागेको शाखा प्रमुख बिडारीले जानकारी दिइन् । गवारो धानमा लाग्ने एक प्रमुख शत्रुजीव कीरा भएको र यसले धानमा गाँज आउनेदेखि फूल फुल्ने वा बोटको वयस्क अवस्थासम्म आक्रमण गरी क्षति पुर्‍याउने गरेको उनले बताइन् । धानमा पहेंलो गवारो, सेतो, छिर्के, गोल्ड–फ्रिन्ज्ड, कालो टाउके छिर्के र कलेजी रंगको गरी ६ किसिमका गवारो कीराले धानमा आक्रमण गर्ने उनको भनाइ छ ।

धानको बेर्ना अवस्थादेखि परिपक्व अवस्थासम्मको धानमा गवारोले आक्रमण गर्ने बताउँदै उनले धानखेतमा रासायनिक मलको कमी, पानीको कमी र सूक्ष्म तत्वको कमीले कीराको संक्रमण सहजै फैलन सक्ने जनाइन् । गवारो कीरा प्रकोप तीव्र रूपमा फैलिएर कीराको संक्रमणले अहिले धानको बोट नै मर्दै गएको अर्जुनधारा वडा नम्बर ३ का किसान दलमान कामीले बताए । गवारो कीराका कारण आफूले लगाएको धान पूरै पहेंलो भएको बताउँदै उनले गवारो रोगले धान पहेंलो भएपछि अब के खाएर कसरी बाँचिने हो भनी चिन्ता छाएको दुखेसो पोखे ।

यो वर्ष झापामा ९८ प्रतिशत धान रोपाइँ भएको कृषि ज्ञान केन्द्र झापाका कृषि प्रसार अधिकृत तेजराज भण्डारीले जानकारी दिए । झापाको कुल ८७ हजार हेक्टरमा बर्खे धान खेती हुँदै आएकोमा ९८ प्रतिशत अर्थात् ८५ हजार २६० हेक्टरमा धान रोपाइँ भएको उनले बताए । रोपाइँका बेलामा मौसम केही प्रतिकूल भएकाले रोपाइँ प्रभावित भए पनि गत वर्षकै तुलनामा रोपाइँ भएको उनले बताए । झापामा अधिकांश किसानले रन्जित, रामनाथ, सर्नालगायतका धान लगाएका छन् भने केहीले स्थानीय जातका र बास्नादार धान रोपेका छन् ।

प्रतिक्रिया दिनुहोस्