रुद्राक्ष जोगाउनै हम्मेहम्मे «

रुद्राक्ष जोगाउनै हम्मेहम्मे

संखुवासभा-पछिल्लो समय पूर्वीपहाडी जिल्ला संखुवासभा र भोजपुरको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पु¥याइरहेको प्रमुख नगदेवाली रुद्राक्षको फसल जोगाउन कृषकलाई समस्या परेको छ ।
केही वर्ष अघिसम्म रुद्राक्षको बोट वरिपरि नजान सामान्य सूचना गरेकै भरमा सुरक्षित रहने रुद्राक्ष अहिले सिसि क्यामेरा जडान र मासिक पारिश्रमिक दिएर हेरालु राख्दासमेत सुरक्षित नभएपछि रुद्राक्ष कृषकहरू समस्यामा परेका हुन् । रुद्राक्ष चोर्ने, चोर्न नसके जरामा विषादी लगाइदिने, बोक्रा ताछिदिने घट्ना संखुवासभा र भोजपुरमा बढ्दै गएका छन् । असार दोस्रो सातादेखि संखुवासभाको पाँचखपन, सिलिचोङ र संखुवासभासँग सिमाना जोडिएका भोजपुरको षडानन्द नगरपालिका क्षेत्रमा चोरीका घट्ना बढेका छन् ।
मोलमोलाइमा दाम नमिल्दा, दुई पक्षबीच आपसमा गरिएको सम्झौता पालना नहुँदा र छिमेकी छिमेकीबीचको आपसी सम्बन्ध बिग्रिएका कारण पनि रुद्राक्षको बोटमा रिस पोख्ने गरिएको हुनसक्ने रुद्राक्ष व्यवसायी संघ संखुवासभाका अयक्ष चक्र बिसुंखेको भनाइ छ । आरिसका कारण राम्रो गुणस्तरको रुद्राक्ष फल्ने बोटमा क्षति पु¥याउने घटना बढेपछि रुद्राक्षको बोट जोगाउनै मुस्किल परेको भन्दै सिसि क्यामेराबाट समेत निगरानी गर्न नसकेपछि कृषकहरू नयाँ विकल्पको खोजिमा छन् । कतिपय घट्नामा चोरीमा संलग्न मुख छोपेर आउने, शंकाकै भरमा उजुरी गर्न नमिल्ने भएका कारण पनि कानुनी उपचार गर्न समेत कठिन हुने गरेको कृषकहरूको भनाइ छ ।
राम्रो गुणस्तरको रुद्राक्ष फल्ने बोटमा क्षति पु¥याउने घटना बढेपछि कृषकहरूलाई बोट जोगाउनै मुस्किल परेको छ । बोटमा विषादी हाल्ने, जरा खन्ने, बोट काट्ने, बोक्रा ताछ्नेजस्ता घटना बढिरहेकाले राम्रो गुणस्तरको फल दिने बोटमा क्षति पु¥याइदिने होकि भन्ने चिन्ताले आफूलाई सधंै चिन्तित बनाइरहेको नाम नखुलाउने सर्तमा पाँचखपनका एक कृषकले बताए । राम्रा उत्पादन दिने आफ्ना बगानमा भएको रुद्राक्ष जोगाउन कतिपय किसान जागराम बस्दै आएका छन् ।
जिल्लाको पाँचखपन नगरपालिकामा केही महिनाअघि रुद्राक्षको बोट ताछिएको घटनापछि सिलिचोङ गाउँपालिकाको याफुमा बोट नै काटिएको घटनाले रुद्राक्ष कृषकमा थप त्रास फैलिएको हो । योसँगै संखुवासभासँग सिमाना जोडिएको भोजपुरको साल्पा सिलिछो गाउँपालिकाको कुलुङमा रुद्राक्षको बोटमा बिनीले खोपेर विषादी हालिएको घटनाले झन डर फैलाएको षडानन्द नगरपालिकाका राजकुमार विक बताउँछन् । अघिल्लो वर्ष जिल्लासँग सिमाना जोडिएको भोजपुरको दिङ्लामा रुद्राक्ष कुरुवालाई आक्रमण गरी रुद्राक्ष लुटेर लगेको घटना पनि किसानले बिर्सेका छैनन् ।
यसरी बेला बखत भइरहने चोरीका घट्नाले किसानलाई थप चिन्तित बनाइरहेको छ । त्यतिमात्र नभएर समूह बाँधेर आउने लुटेराको सामना गर्न दलबलका साथ नै बस्नुपर्ने भएकाले कृषकमा अनावश्यक लागत भार र सुरक्षा चुनौती बढेको शिलिचोङ याफुका मानबहादुर राई बताउँछन् ।
त्यस क्षेत्रका कतिपय किसानले गुणस्तरीय उत्पादन दिने बगानमा सिसि क्यामरा जडान गरेका छन् भने कतिले पारिश्रमिक नै दिएर कुरुवाको ब्यवस्था गरेका छन् । केही कृषकले भने थप सुरक्षाका लागि सिसि क्यामरा र कुरुवा दुवै राख्ने गरेका छन् । जिल्लाका केही किसानहरुले सुरक्षा चुनौतिका कारण ५ वर्ष १० वर्षका लागि सम्झौता गरेर बोट नै ब्यापारीलाई ठेक्का दिने गरेका छन् । ठेक्का दिइसकेपछि कुनै चुनौती बिनारकम पाइहाल्ने भएकाले ठेक्का दिने गरेको कृषकहरूको भनाइ छ ।
मानिसमा उत्पन्न हुने इष्र्याका कारण राम्रो रुद्राक्षमा क्षति पु-याउने गरिएको जानकारहरू बताउँछन् । आफ्नो बगानमा राम्रो नफल्ने तर छिमेकिकोमा राम्रो फले इष्र्याले क्षति पु¥याउने गरेको आशंका गर्ने कृषकको संख्यासमेत कम छैन । राम्रो रुद्राक्ष फल्ने बिरुवाको नजिक जान नदिइने र किन्न खोज्दा पनि बिक्री नगरिने बिक्री गरिए पनि प्रतिबिरुवा लाखौं मूल्य पर्ने हुँदा खरिद गर्न नसक्ने कारणले पनि रुद्राक्षको बोटमा क्षति पु-याउने विकृति फैलँदै गएको रुद्राक्ष व्यवसायीहरूको आशंका छ ।

कृष्णराज शाक्य

प्रतिक्रिया दिनुहोस्