तरकारी बेच्दै, पढ्दै बालबालिका «

तरकारी बेच्दै, पढ्दै बालबालिका

हुम्ला-पछिल्लो समय हुम्ला सदरमुकाम सिमकोटनजिकका गाउँमा उत्पादन भएको तरकारी बालबालिकाको अध्ययनका लागि सहयोगी सावित हुन पुगेको छ ।
आफ्नै बारीमा उत्पादन भएको तरकारीलाई सिमकोट बजारमा बिक्री गरी आवश्यक पर्ने स्टेसनरीको सामान खरिद गरी विद्यालयमा अध्ययन गरिरहेका बालबालिका थुप्रै भेटिने गरेका छन् । घरको आर्थिक अवस्था कमजोर हुँदा विद्यालय जान नपाएका बालबालिका पछिल्लो समय तरकारीको सहयोगले विद्यालयमा पढ्ने अवसर पाएका छन् ।
हरेक शनिबार खुर्सानी, काँक्रा, गोलभेंडा, स्याउ र अन्य फलफूल बिक्री गर्ने अनि आफूलाई चाहिने कपडा, घरको आवश्यक दैनिक उपभोग्य सामग्री, किताब, कापीलगायत खदि गरी घर फर्कनु खार्पुनाथ गाउँपालिका छिप्रा गाउँका सविता शाहीको नियमित काम हुन गएको छ । खेती गर्नमा आमाबुवा खटिए पनि सदरमुकाम सिमकोट बिक्री गर्न बढीजसो बालबालिका नै देखिने गरेका छन् । खार्पुनाथ गाउँपालिका छिप्राबाट सात वर्षीय सविता शाही र एघार वर्षीय विपना शाही शनिबार सदरमुकाम सिमकोटमा रहेको टिबेटेन होटलमा गोलभेंडा बिक्री गर्दै थिए । दुवैजना छात्राले सानो छाप्रोमा आफूले सकेजति भारी बोकेर प्रत्येक शनिबार सदरमुकाम सिमकोटमा तरकारी बिक्री गर्न आउने गरेको विपना शाहीले बताइन् । गाउँमा उत्पादन भएको गोलभेंडा अर्गानिक हुने विश्वास छ । कुनै पनि विषदी प्रयोग नगरिएको गोलभेंडा आकारमा साना भए पनि यसको स्वाद अति नै कडा हुने गरेको छ । प्रतिकिलो २ सय रुपैयाँमा बिक्री हुने गोलभेँडा घरको बारीमा प्रशस्त फलेको र यसलाई हरेक बिदाको दिन बिक्री गरी घर खर्च चलाएको शाहीले बताइन् ।
कक्षा ६ मा अध्ययन गर्ने सविताले कमाएको पैसाले कापी कलमलगायत स्टेसनरी सामग्रीमा तरकारी बिक्रीपछि घर फर्कने गरेका छन् । छिप्रा गाउँबाट उकालो २ घण्टा हिँडेर सिमकोट आएको शाहीले बताए । उकालोमा भारीले हिँड्नका लागि केही असहज हुने गरेको भए पनि घर फर्कंदा ओरालोमा जानका लागि सहज नै हुने गरेको बताए । तरकारी बिक्री गरेको पैसाले घरमा तेल, आफूलगायत भाइबहिनीलाई कापीकलम लिने गरेको शाहीले बताइन् । तरकारी बिक्री गरेको पैसा एक शनिबार करिब १५ देखि दुई हजारसम्म आम्दानी हुने उनीहरूले बताए ।
सदरमुकाम सिमकोटमा रहेका विभिन्न होटेलमा तरकारी बोकेर बालबालिका पुगेका हुन्छन् । सिमकोटमा रहेको कालिन्चोक, विमानपथ, तल्लो बजारमा रहेको धुपी रुखलगायतका सर्वसाधारण बढी आवतजावत गर्ने क्षेत्रमा बालबालिकाको ठूलो उपस्थिति रहने गरेको छ ।
सविताजस्तै सिमकोटनजिक रहेका डाँडाफया, ठेहे, हिल्दुम, बुराउँसे, लाँदुलगायतका गाउँबाट नियमितरूपमा तरकारी र फलफूल बिक्री गरी अध्ययनमा लागेका थुप्रै बालबालिका दिनहुँ सिमकोटमा भेटिने गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्