गन्यापधुराको पारीखेतमा मोटरेवल पुल निर्माण «

गन्यापधुराको पारीखेतमा मोटरेवल पुल निर्माण

डडेल्धुराको गन्यापधुरा गाउँपालिकाको पारीखेत खोलामा पक्की मोटरेवल पुल निर्माण गरिएको छ । डडेल्धुरा सदरमुकामलाई गन्यापधुरा गाउँपालिका जोड्ने भातकाँडा–गन्यापधुरा सडक खण्डमा रहेको पारीखेत खोलामा पक्की मोटरेवल पुल निर्माण गरिएको हो ।
पारीखेत खोलामा पक्की पुलको निर्माण भएपछि गन्यापधुरा गाउँपालिकाका वडा नम्बर २, ३, ४ र ५ का स्थानीयलाई जिल्ला सदरमुकामसम्म ओहोरदोहोर गर्न सहज भएको छ । यसैगरी पक्की मोटरेवल पुल निर्माण भएपछि वडा नम्वर १ का स्थानीयलाई गाउँपालिका सदरमुकामसम्म जानका लागि सहज भएको छ । दुई स्पाम भएको पक्की मोटरेवल पुलको लम्वाई ३६.५० मिटर रहेको छ ।
दुई वर्ष ढिलो गरी निर्माण सम्पन्न भएको यो पुलको लागत करिव ४ करोड रूपैयाँ रहेकोे सडक डिभिजन कार्यालय कुलपाते डोटीले जनाएको छ । यो खेलामा पक्की मोटरेवल पुल निर्माणसँगै गाउँपालिका सदरमुकामसम्म वर्षातको समयमा पनि सहज रूपमा यातायातका साधन सञ्चालन हुने छन् ।
पक्की मोटरेवल पुल निर्माण भएपछि वर्षातको समयमा आवतजावत गर्नका साथै गाउँमा उत्पादन भएको कृषिजन्य वस्तुलाई वर्षातको समयमा पनि बजारसम्म पु-याउन सहज भएको भन्दै स्थानीय खुसी भएका छन् । बिरामी हुँदा एम्बुलेन्सको आवश्यकता पर्ने र पुल नहुँदा विरामीलाइ ज्यानको बाजी लगाएर खोला तार्नुपर्ने बाध्यता हटेको स्थानिय वारबहादुर मालीले बताए । योसँगै डडेल्धुराका विभिन्न स्थानमा आधा दर्जनभन्दा बढी पक्की मोटरेवल पुलको निर्माण कार्य सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस्