Logo

साढे ११ हजार स्मार्ट सडक बत्ती जडान

काठमाडौं– साढे ११ हजारवटा अत्याधुनिक स्मार्ट सडक बत्ती (स्मार्ट स्ट्रिट लाइट) जडान गरिएको छ । नेपाल विद्युत प्राधिकरणले ‘सहर उज्यालो कार्यक्रम’ अन्तर्गत स्थानीय तहहरूसँगको लागत साझेदारीमा सहरको मुख्य चोकमा चारै दिशामा उज्यालो छर्ने ६७ वटा अत्याधुनिक हाइमास्ट लाइट जडान गरेको छ ।

प्राधिकरणले सडक बत्ती राखिने संरचनाहरू निर्माणका लागि करिब ४२ करोड रुपैयाँ योगदान गरेको छ । प्राधिकरणले यो अभियानअन्तर्गत पालिकाहरूसँगको समन्वय र साझेदारीमा मुख्य सडक, ऐतिहासिक सांस्कृतिक सम्पदाहरू, विश्वसम्पदा सूचीमा सूचीकृत तथा पर्यटकीय स्थानहरूमा सजावटयुक्त आधुनिक बत्ती (स्मार्ट लाइट) जडान गरिरहेको छ । यसबाट सहरको सौन्दर्य अभिवृद्धि हुने, विद्युत माग बढ्ने र रातिको खेर जाने विद्युत पनि खपत हुने प्राधिकरणको विश्वास छ ।

प्राधिकरणले आर्थिक, ऐतिहासिक तथा पुरातात्त्विक महत्त्वका मठमन्दिर र पर्यटकीय क्षेत्रहरूमा विशेष किसिमका बत्ती राख्नका लागि सर्भे र डिजाइन गरिरहेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले देशबाट लोडसेडिङ अन्त्य गरिएपछि विद्युत नपुगेको ठाउँको विद्युतीकरण र सहरी सौन्दर्यलाई वृद्धि गर्न स्थानीय तहहरूसँगको लागत साझेदारीमा स्मार्ट सडक बत्ती जडान कार्यक्रम सुरु गरिएको बताए ।

‘घरघरमा विद्युत बालेर मात्र नहुने रहेछ, सहरी सौन्दर्यता तथा सुरक्षाका लागि सडक पनि उज्यालो हुनुपर्ने रहेछ, त्यसैले स्थानीय तहको साझेदारीमा कार्यक्रम सुरु गरिएको हो, अहिल देशभरका स्थानीय तहहरूबाट सडक बत्ती जडानको माग आइरहेको छ’, उनले भने, ‘अहिले विद्युत आपूर्तिलाई पर्याप्त, भरपर्दो, गुणस्तरीय र सुरक्षित बनाउन अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनासहित काम गरिरहेका छौं ।’

प्राधिकरणको प्रणालीमा रहेको फिडर प्यानलबाट स्वचालित रुपमा स्मार्ट लाइटलाई नियन्त्रण गर्न सकिन्छ । यसका लागि फिडर प्यानलहरू जडान गरिएको छ । सडक बत्तीका लागि मात्र छुट्टै ट्रान्सफर्मरहरू जडान गरिएका छन् । स्मार्ट बत्ती प्राधिकरणको सर्भरसँग सीधै जोडिएको छ । सफ्टवेयरबाटै अँध्यारो हुँदा बत्ती बल्ने र उज्यालो हुँदा निभ्ने स्वचालित व्यवस्था छ । सफ्टवेरबाट विद्युतको महसुलको बिलिङ गरिन्छ ।

बत्ती बले/नबलेको अनुगमन पनि सफ्टवेयरबाटै गर्न सकिन्छ । विद्युतको महसुल सम्बन्धित पालिकाहरूले तिर्नेछन् ।
ललितपुर तथा पोखरा महानगरपालिका, धनगढी उपमहानगरपालिका र कन्काई, बेलका, भीमेश्वर, भिमदत्त तथा फिदिम नगरपालिकामा सडक बत्ती जडान सकिएको छ । भरतपुर महानगरपालिका र महालक्ष्मी, बूढानीलकण्ठ, सिद्धार्थनगर तथा मन्थली नगरपालिकामा स्मार्ट सडक बत्ती जडान कार्य अन्तिम चरणमा रहेको छ ।

काठमाडौंसहित ३ महानगरपालिका, ३ उपमहानगरपालिका र १३ नगरपालिकासँग लागत साझेदारीमा स्मार्ट सडक बत्ती जडानका लागि सम्झौता भइसकेको छ । सडक विभाग, ललितपुर महानगरपालिका र प्राधिकरणको साझेदारीमा विस्तारित चक्रपथको बालकुमारी–बल्खु सडकखण्डमा स्मार्ट सडक बत्ती जडानका लागि सम्झौता भई जडान सुरु गर्न लागिएको छ । सडक बत्ती जडानको लागतमध्ये ७५ प्रतिशत महानगरपालिकाले र प्राधिकरणको २५ प्रतिशत लगानी लगानी साझेदारी रहनेछ ।

उपमहानगरपालिकामा सम्बन्धित उपमहानगरपालिकाको ७० प्रतिशत र प्राधिकरणको ३० प्रतिशत लगानी साझेदारी रहनेछ । नगरपालिकामा ६५ प्रतिशत सम्बन्धित नगरपालिकाको र ३५ प्रतिशत प्राधिकरणको लगानी साझेदारी रहनेछ । यसैगरी, गाउँपालिकामा ६० प्रतिशत सम्बन्धित गाउँपालिका र ४० प्रतिशत लगानी प्राधिकरणले बेहोर्ने छ । लागत अनुमान, प्रविधिको छनोट, खरिद र निर्माणको सुपरिवेक्षण प्राधिकरणले गर्नेछ । जडान गरिएका सडक बत्तीको पाँच वर्षसम्म मर्मतसम्भार निर्माण व्यवसायी कम्पनीले गर्नेछ ।

नगरपालिकाहरूले आफै शतप्रतिशत लगानी गरेर बोलपत्र गरेमा प्राधिकरणले बोलपत्र प्रक्रिया र सुपरिवेक्षणका लागि प्राविधिक सहयोग उपलब्ध गराउनेछ । यसैगरी नेपालको प्रमुख पर्यटकीय नगर पोखरालाई हाइमास्ट र स्मार्ट सडक बत्ती (स्मार्ट स्ट्रिट लाइट)बाट झिलिमिली बनाउन सुरु भएको छ । पोखरा महानगरपालिका र प्राधिकरणको साझेदारीमा पोखराका २३ वटा मुख्य चोकहरूमा १६ मिटर अग्लो पोलमा चारै दिशामा उज्यालो छर्ने अत्याधुनिक २३ वटा हाइमास्ट लाइट जडान गरिएको छ ।

महानगरभित्रको ६० किलोमिटर मुख्य सडकमा २ हजार सातवटा सडक बत्ती जडान गरिएको छ । जसमध्ये ऊर्जा दक्षतायुक्त ९० वाट र १ सय २० वाटका स्मार्ट बत्ती रहेका छन् । सडक बत्ती जडान आयोजनाको लागत १४ करोड ६५ लाख रुपैयाँ रहेको छ । कम विद्युत खपत गर्ने तर उज्यालो बढी दिने बत्ती जडान गरिएको हो । स्ट्रिट लाइटले रातको समयमा सडकको यात्रा सुरक्षित र सडक तथा सहरी सौन्दर्यलाई वृद्धि गरी पोखराको रात्रिकालीन सौन्दर्यता बढाउनेछ । पोखरा महानगरपालिकाले सडक बत्तीको महसुल तिर्ने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्