वैतेश्वर गाउँपालिकाले उपभोक्ता समितिमार्फत् काम नगर्ने

दोलखा– दोलखाको वैतेश्वर गाउँपालिकाले चालु आर्थिक वर्षमा कुनै पनि योजना उपभोक्ता समितिमार्फत् नगर्ने भएको छ । गत वर्षभन्दा बजेट र योजना पनि घटेकाले गाउँपालिकाको योजना सबै ठेक्का बन्दोबस्तमार्फत् गर्ने भएको छ । विगतका वर्षमा सानासाना टुक्रे योजना बनाएर उपभोक्ता समितिमार्फत् काम गराउँदै आएको गाउँपालिकाले यस वर्ष योजनाका संख्या घटाएको छ भने योजनामा बजेट बढाएको छ ।
‘हामीले उपभोक्ता समितिभन्दा ठेक्कामार्फत् काम गराउन प्राथमिकतामा राखेका छौं,’ वैतेश्वर गाउँपालिका अध्यक्ष छवि लामाले भने, ‘उपभोक्ता समितिभन्दा ठेक्कामार्फत् कामको गुणस्तर पनि हुने र काम नगरे कानुनी रुप लडाइँ पनि ठेकेदारसँग गर्न सकिने भएकाले ठेक्कालाई प्राथमिकतामा राखेका हौं ।’ साना योजना बनाउँदा नतिजा पनि कम देखिने कागजी काममात्र बढी हुने भएकाले पनि गाउँपालिकाले नतिजामुखी काममा ध्यान दिएको अध्यक्ष लामाले बताए ।
उपभोक्ता समितिमार्फत् दिएको योजना पनि समितिले ठेक्कामै दिने प्रचलन बढेको पाइएकाले अब सिधै गाउँपालिकाले नै सिधै ठेक्का लगाएको हो । प्रधानमन्त्री रोजगार कार्यक्रमको भने उपभोक्तामार्फत् नै गर्ने कार्यक्रम भएकाले त्यसलाई ठेक्का नलगाएको अध्यक्ष लामाले बताए । गाउँपालिकाले वडामा दिने बजेटको सिलिङ पनि यस वर्ष घटाएको छ । ८ वटा वडा रहेको हरेक वडालाई पुँजीगत बजेट २५ लाखका दरमा वडालाई अधिकार दिएको छ । वडाले पनि न्यूनतम पाँच लाखको योजना बनाउनु पर्नेछ ।
गाउँपालिका पूर्वाधार प्रमुख इन्जिनियर युधिष्टिर केसीले केही वडाले सात वटासम्म योजना पनि छनोट गरेको जानकारी दिए । ‘विगतमा तीन वटाभन्दा बढी योजना हुन्थे,’ उनले भने, ‘यो वर्ष ७९ वटा मात्र पूर्वाधारका योजना छन् ।’ इन्जिनियर केसीका अनुसार त्यसमध्ये पनि आठवटा योजना संघीय सशर्तको गत वर्ष नै काम पूरा भएको तर बजेट नआएकाले भुक्तानी गर्न नसकिएको र यो वर्ष भुक्तानी हुँदा कार्यान्वयन हुने ७१ वटामात्र योजना छन् । गाउँपालिकाले चालु वर्ष सडकलाई दिगो बनाउने गरी सबैभन्दा बढी बजेट सडकमै विनियोजन गरेको छ ।
संघीय समपुरक योजनाअन्तर्गत गोपीखोला–जोरमाने, मैनापोखरी–क्षेत्रपा र बुस्ती–पुतलीकाठ सडकका लागि दुई करोडका दरले ६ करोड विनियोजन गरेको छ । त्यस्तै प्रदेश समपुरकअन्तर्गत नाम्दु–पाँडुडाँडा, मैनापोखरी–पाँडुडाँडा, निमकोट–मजुवा र कान्ले–छाप सडकमा ५० लाखका दरले दुई करोड विनियोजन गरेको छ । यी सबै सडक कालोपत्रे र ढलान रहेका छन् । वैतेश्वर गाउँपालिकाले अहिलेसम्म ११ किलोमिटर कालोपत्रे र पाँच किलोमिटर ढलान गरिसकेको छ ।
वर्षात्मा सडक बिग्रिन नदिन असारदेखि भदौसम्म ११ जना हेरालूको व्यवस्था गरेको छ । वर्षात्मा कुनै पनि मुख्य सडक वर्षात्मा अवरुद्ध नभएको इन्जिनियर केसीले बताए । पूर्वाधारतर्फ कुखुरेचौर पाँडु खानेपानी योजनाका लागि एक करोड प्रदेश विशेष अनुदानबाट र संघीय अनुदानबाट विष्णु माविको भवन निर्माणका लागि एक करोड २० लाख विनियोजन गरेको छ । चालु आर्थिक वर्ष कुनै पनि नयाँ सडक खन्ने योजना छैन । साना खानेपानी र सिँचाइको योजना पनि नभएको उनले बताए ।
सडकबाट बस्ती जोड्ने गोरेटो बाटो ३५ वटा सोलिङ र पिसिसी रहेका छन् । गाउँपालिका अन्तर्गतका सबै योजनाको २०८१ वैशाखसम्म पूरा गर्ने गरी ठेक्का आह्वान गरिसकेको छ । ठेक्का लागेर घटाघटबाट बचेको बजेटको पनि दसैंअघि नै ठेक्का आह्वान गर्ने गाउँपालिकाको योजना छ । पूर्वाधारतर्फ सबै किसिमको चालु आर्थिक वर्षमा १८ करोड बजेट गाउँपालिकाको रहको छ ।