साततले दरबारको पुनर्निर्माण सुरु «

साततले दरबारको पुनर्निर्माण सुरु

नुवाकोट-विनासकारी भूकम्पले क्षति पु-याएको नुवाकोटको साततले दरबारसहित परिसरमा रहेका पुरातात्विक एवम् धार्मिक सम्पदाको पुनर्निर्माण सुरु भएको छ । चीन सरकारको सहायतामा चाइनिज एकेडेमी अफ कल्चरल हेरिटेजमार्फत सुरु भएको पुनर्निर्माणअन्तर्गत पहिलो चरणमा साततले दरबार र दरबार परिसरमा रहेको ऐतहासिक तुलजादेवी भवानीको मन्दिर पुनर्निर्माणका लागि थप क्षति पुग्न नदिने संरक्षण भइरहेको छ । चिनियाँ प्राविधिकको नेतृत्वमा नेपाली कामदार परिचालन गरेर सुरु भएको पुनर्निर्माणअन्तर्गत अहिलेको बर्खामा थप क्षति पुग्न नदिन साततले दरबार र तुलजा भवानी मन्दिरमा ओत लगाउने कार्य भइरहेको छ ।
दरबारसहित त्यस परिसरमा रहेका विभिन्न धार्मिक सम्पदा र ऐतिहासिक संरचनाको पुनर्निर्माण तीन चरणमा सक्ने लक्ष्यअनुसार चीन सरकार र नेपाल सरकारअन्तर्गत पुरातत्व विभागबीच गत असार २५ मा भएको सहमतिअनुसार पुनर्निर्माण थालिएको साततले दरबार संग्रहालय, नुवाकोटका प्रमुख अर्जुनप्रसाद फुयाँलले जानकारी दिए । पहिलो चरणको ४५ महिनामा साततले दरबार र तुलजा भवानी मन्दिर पुनर्निर्माण सक्ने चीन सरकारले जनाएको छ । “चार वर्षअघि २०७२ वैशाख १२ मा गएको भूकम्पले क्षति पु-याएको नुवाकोट दरबार र तुलजादेवी भवानीको मन्दिरलाई बर्खाको समयमा सुरक्षित गरिनेछ,” उनले भने, “आवश्यकताअनुसार प्रवलीकरण एवम् पुनर्निमाण गरिने चीन सरकारमार्फत सम्पन्न गर्न कार्य थालनी भएको छ ।”
मल्लकालीन समयमा निर्माण गरिएको तुलजा भवानीको मन्दिर र नेपाल एकीकरणको समयमा राजा पृथ्वीनारायण शाहले नुवाकोटमाथी विजयी गरेपश्चात निर्माण गर्न लगाएको नुवाकोट दरबारसहित आसपासको क्षेत्रका धार्मिक तथा साँस्कृतिक सम्पदा विनासकारी भूकम्पले क्षति पु-याएको थियो । भूकम्पपछिको पुनर्निर्माणअन्तर्गत चीन सरकारबाट दरबार, तुलजा भवानीको मन्दिरसहित, नारायण मन्दिर, विष्णु मन्दिर, रंगमहल, गारदघर, लामपाटी र सेतोपाटीको पुनर्निर्माण गर्ने समझदारी भएको नुवाकोट दरबार मौला अमालका प्रतिनिधि (द्वारे) महेन्द्रकुमार शाहीले जानकारी दिए । क्षतिग्रस्त संरचना मध्ये भैरवीदेवीको मन्दिर पुनर्निर्माण पुरातत्व विभागमार्फत अन्तिम चरणमा पु-याइएको छ ।

प्रतिक्रिया दिनुहोस्