प्रधानमन्त्री दाहालको चीन भ्रमण
फर्केला पुरानो व्यापारिक सम्बन्ध ?

काठमाडौं– नेपाल र उत्तरी छिमेकी चीनबीच २०७२ देखि ‘चिसिएको’ व्यापारिक सम्बन्धमा अहिले सुधारका संकेत देखिएका छन् । २०७२ को विनाशकारी भूकम्प र सन् २०१९ देखि सुरु भएको कोभिड महामारीका कारण चीनले नेपालतर्फका स्थलगत सबै नाका बन्द गर्ने निर्णय गरेसँगै दुई मुलुकबीचको व्यापारिक सम्बन्धमा चिसोपना आएको थियो । नेपालले यसबीचमा व्यापारिक कारोबार पुरानै लयमा फर्काउन आफ्नो तर्फबाट कुनै कसर बाँकी राखेन ।
दुई मुलुक बीचको मुख्य व्यापारिक मार्ग तातोपानी–खासा खुलाउन सरकार, निजी क्षेत्र र कुटनैतिक क्षेत्रबाट बारम्बार अनुरोध भए पनि चीन तर्फबाट वास्तै गरिएन । तर, पछिल्लो एक वर्षदेखि चीन केही रूपमा खुला देखिएको छ । केही समयअघि रसुवागढी–केरुङ नाका पूर्ण सञ्चालनमा ल्याएको चीनले गत शुक्रबारदेखि तातोपानी–खासा नाकालाई पनि थप खुलाएको छ । केही समय अघिदेखि यो नाका भएर कन्टेनर मात्र आवतजावत हुने गरेकामा गत शुक्रबारदेखि स्थानीयवासी (सिन्धुपाल्चोक) ले पनि आवागमनको सुविधा पाएका छन् ।
अरु नेपाली नागरिक र विदेशीलाई यो नाका अझै खुलेको छैन । विगतमा यही नाका भएर विदेशी खासगरी भारतीय नागरिक तिब्बतको मानसरोवर जाने गरेका थिए । नेपाल चीनबीचको व्यापारिक सम्बन्ध विगतको जस्तो खुलस्त नभएका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल आउँदो असोज पहिलो साता चीन भ्रमणमा जाँदैछन् । प्रधानमन्त्री दाहालको यो भ्रमणले दुई मुलुक बीचको व्यापारिक सम्बन्धलाई पुरानो लयमा फर्काउनेमा व्यवसायी आशावादी देखिएका छन् ।
नेपाल चीन उद्योग वाणिज्य संघका अध्यक्ष त्रिभुवन तुलाधर चीन र नेपालबीचको आर्थिक सम्बन्ध पुरानै लयमा फर्कन थालेको बताउँछन् । उनका अनुसार स्थलनाका पूर्ण क्षमतामा सञ्चालनमा आउनु र तातोपानी नाकाबाट सिन्धुपाल्चोकका स्थानीयले खासा बजारसम्म जान पाउने व्यवस्थाले द्विपक्षीय आर्थिक तथा सामाजिक सम्बन्धमा नवीकरण भएको छ । ‘चीनसँग हाम्रो पुरानो दौत्य सम्बन्ध हो,’ अध्यक्ष तुलाधर भन्छन् । सरकारले प्रधानमन्त्री दाहालको भ्रमणका बेला कृषि क्षेत्रको विकासदेखि, उत्तरतर्फका अन्य नाका खोल्ने र सडक विस्तारसम्मका लागि सहयोग माग्ने एजेन्डा तय गरेको छ ।
विगतका भ्रमण सैद्धान्तिक रूपमा सफल भए पनि त्यसको कार्यान्वयन पक्ष निकै कमजोर छ । त्यसैले कार्यान्वयनका लागि समयतालिका सहित प्रस्तुत हुनुपर्छ ।
परराष्ट्रमन्त्री एनपी साउदका अनुसार चीनका राष्ट्रपति सी चिनफिङ नेपाल आएका बेला चीनले प्रतिबद्धता जनाएका अनुदान राशिहरूका लागि प्राथमिकताका आधारमा योजना छुट्याउने विषय भ्रमणको एजेन्डामा समावेश छन् । हाल नेपाल र चीनबीच सानाठूला गरी दर्जनभन्दा बढी नाका छन् । यी सबै सञ्चालनका लागि नेपालले पहल गर्दै आएको छ । यसबाहेक संखुवासभाको किमाथांकासहितका चीनको सीमाक्षेत्रमा जलविद्युत परियोजना अघि बढाउने विषयमा पनि नेपालले सहमति गर्ने परराष्ट्रमन्त्री साउद बताउँछन् । प्रधानमन्त्री दाहालको चीन भ्रमणमा चीनसँगको व्यापार घाटालाई एजेण्डाका रूपमा राखिएको छ । यसमा व्यवसायी उत्साहित देखिन्छन् ।
नेपाल चीन उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठले नेपालले चीनमा सम्भावना भएका वस्तुको निर्यात बढाउन शून्य भन्सार सुविधा माग गर्नुपर्ने बताए । यसका निमित्त चीनसँग मिलेर नेपालमै केही उद्योग खोल्न सकिने विषयलाई पनि भ्रमणको एजेण्डामा राख्नुपर्ने उनको सुझाव छ । विगतका भ्रमण सैद्धान्तिक रूपमा सफल भए पनि त्यसको कार्यान्वयन पक्ष निकै कमजोर भएको उल्लेख गर्दै उनले कार्यान्वयनका लागि समयतालिका सहित प्रस्तुत हुनुपर्नेमा जोड दिए । कनेक्टिभिटी, पर्यटन, बीआरआई अन्तर्गत सीमा क्षेत्रमा पूर्वाधार विस्तारलगायतका विषयमा ध्यान जान जरुरी रहेको उनको भनाइ छ ।
पछिल्लो समय चीनतर्फ नेपाली व्यवसायीको आवतजावत बढेको उल्लेख गर्दै पूर्वअध्यक्ष श्रेष्ठ कोरोना महामारी अघिकै अवस्थामा पुग्न केही समय लाग्ने भए पनि आशालाग्दा संकेत देखिएको बताउँछन् । कोभिडअघि चीनका प्रमुख व्यापारिक सहरमा नेपाली व्यवसायीका प्रतिनिधि रहने गरेकोमा महामारी सुरु भएसँगै उनीहरू स्वदेश फर्केका थिए ।
जसका कारण नेपालबाट निकासी घटेको र चीनबाट आयातसमेत बढ्न सकेको थिएन । अब भने पुरानै अवस्था देखिन थालेको छ । चिनियाँ व्यापारीहरू पनि सम्पर्कमा आउन थालेको उनले बताए । विगतमा सुस्त रहेको दुई मुलुक बीचको व्यापार केही महिनाअघि नाका सुचारु भएसँगै चीनतर्फ नेपाली वस्तुको निकासी बढ्न थालेको छ भने नेपाली व्यवसायीको पनि चीनतर्फ आउजाउ तुलनात्मक रूपमा बढ्दै गएको तथ्यांकले देखाउँछ ।
उत्तरतर्फका दुवै स्थलगत नाका पूर्ण क्षमतामा सञ्चालनमा आउन थालेको र पछिल्ला वार्तामा चीन सहजताका साथ प्रस्तुत हुन थालेको सरोकारवाला बताउँछन् । चालू आर्थिक वर्षको पहिलो महिना साउनमा चीनतर्फ नेपालको निकासी ५२७.२ प्रतिशतले बढेको छ । अघिल्लो साउनमा नेपालले चीनतर्फ ६ करोडको सामग्री निकासी गरेकोमा यस वर्षको साउनमा भने ३९ करोडको निकासी गरेको छ । यससँगै निकासी व्यापारमा १५औं स्थानमा रहेको चीन यस वर्ष चौथो स्थानमा उक्लिएको छ । चीनबाट आयात पनि बढ्न थालेको छ ।
अघिल्लो साउनमा १८ अर्ब ७७ करोडको सामान आयात भएकोमा यस वर्ष १६.९७ प्रतिशतले बढेर २१ अर्ब ९५ करोड पुगेको छ । द्विपक्षीय व्यापार वृद्धि हुनुको मुख्य कारण सञ्चालनमा आएका रसुवागढी केरुङ र तातोपानी नाका हुन् । अध्यागमन विभागका अनुसार चीनबाट गत अगष्ट महिनामा मात्र पाँच हजार ६९५ जना नेपाल भित्रिएका छन् भने नेपालबाट यस अवधिमा पाँच हजार ३४५ जना चीनका विभिन्न गन्तव्यमा पुगेका छन् ।