युवाको रगत र पसिना बेचेर मुलुक समृद्ध हुँदैन «

युवाको रगत र पसिना बेचेर मुलुक समृद्ध हुँदैन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले ४५ लाख युवाको रगत र पसिना विदेशमा निर्यात गरेर मात्र मुलुक समृद्ध नहुने बताएका छन् । राप्रपाको भ्रातृ संगठन ट्रेड युनियन महासंघ नेपाल (टुकोन)ले गरेको श्रमिकहरूको राष्ट्रिय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले श्रमिक र किसानको प्रतिनिधि बताउने कम्युष्टिको दुईतिहाइको सरकार भएको अवस्थामा पनि नेपाली युवाले खाडीमा रगत र पसिना बेचेर आएको रेमिट्यान्सले मात्र मुलुकको अर्थतन्त्र धानिनु दुःखद भएको बताए ।
अध्यक्ष थापाले भ्रष्टाचार हेर्न पनि सक्दिन भनेर प्रधानमन्त्रीले सार्वजनिक रूपमा भनिरहेकै अवस्थामा राज्यको ढुकुटीमा संगठित रूपमा नै ब्रम्हलुट हुँदै गरेको आरोप लगाए । उनले तथ्यहरू बाहिर आउँदै जाँदा प्रधानमन्त्री केपी शर्मा ओलीलाई इतिहासकै निरीह र असफल प्रधानमन्त्रीको रूपमा जनताले मूल्यांकन गर्ने दिन नआओस् भन्दै चेतावनी दिए ।
सरकारले अवलम्वन गरेको आर्थिक नीति नै श्रमिकमैत्री नभएको भन्दै उनले उद्योग व्यवसाय फस्टाउन नसक्नु, आशातित रूपमा आर्थिक वृद्धिदर नबढ्नु गलत अर्थनीतिको परिणाम भएको दाबी गरे । श्रमिकलाई प्रयोग गरेर नवसामन्त र नवधनाढ्यहरूको दिनप्रतिदिन वृद्धि भइरहेको भन्दै अध्यक्ष थापाले नेपालको इतिहासमै श्रमिकहरूको चरम शोषण भइरहेकाले यसतर्फ ट्रेड युनियन महासंघ नेपाल (टुकोन) ले ध्यान दिनुपर्ने बताए ।
कार्यक्रममा पार्टीका वरिष्ठ नेता दिपक बोहराले देशमा पर्याप्त रोजगारका अवसर सिर्जना नभएसम्म मुलुक समृद्ध नहुने बताए । उनले ट्रेड युनियन महासंघ नेपाल (टुकोन)ले संगठन विस्तार गर्दै रोजगारीका अवसर सिर्जना गर्न दबाब दिनुपर्ने बताए ।
पार्टीका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङले आइएलओ सन्धिको पूर्ण पालना नभएसम्म श्रमिकको उत्थान नहुने बताए । राष्ट्रिय भेला तथा प्रशिक्षण कार्यक्रममा ५३ जिल्लाका २५७ श्रमिक सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्