सामूहिक कागती खेती «

सामूहिक कागती खेती

स्याङ्जाको वालिङमा सामूहिकरूपमा कागती लगाउन सुरु गरिएको छ । वालिङ नगरपालिकाको वडा नम्बर १२ र १४ मा थुमपोखरा साना कृषि सहकारीमार्फत ३० हजार कागतीका बिरुवा लगाउने योजनासहित काम सुरु गरिएको हो ।
स्थानीय तमादी, ढिँकीडाँडा, गापडाडाँ गरी १ हजार रोपनीमा पहिलो चरणमा १५ हजार र दोस्रो चरणमा १५ हजार गरी कुल ३० हजार कागती लगाउन सुरु भएको हो । नगरका दुई वडाका विभिन्न स्थानमा गरी कुल ३० हजार कागती लगाइने संस्थाका अध्यक्ष मोहन खनालले जानकारी दिए ।
२ करोड ५१ लाखको योजना रहेकोमा सहकारी बोर्डको ४९ लाख, प्रदेशको २० लाख लगानी रहेको सहकारीले जनाएको छ । त्यस्तै स्थानीय कृषकले प्रतिरोपनी ५ हजारका दरले योजनामा लगानी गरेका छन् ।
वडाका ढेड सय घरधुरी आवद्ध रहेको योजनामा प्रदेश सरकारले १० लाखको प्राङ्गारिक मल तथा औजार प्रदान गरेको छ भने १० लाख नगद प्रदान गर्नेछ । सुन जातको कागतीले १ वर्षमै फल दिने, प्रत्येक बोटमा ८ सयका दरले कागती फल्ने बताइएको छ । पहिलो चरणमा सामूहिक खेतिबाट १ सय २० टन कागती उत्पादन हुने लक्ष्य लिइएको छ ।
सामूहिक कागती खेतीको शुभारम्भ गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री पद्मा अर्यालले सामूहिक कृषि प्रणालीले नै देशमा विकास र समृद्धि ल्याउन सकिने बताइन् । सहकारीमार्फत सबैलाई आत्मनिर्भर बनाउने भन्दै सामुहिक प्रणाली नै फलदायी हुने मन्त्री अर्यालको दाबी थियो । कृषकलाई बिक्री हुँदैन कि भनेर चिन्ता नलिन आग्रह गर्दै मन्त्री अर्यालले बजारको जिम्मा संघीय सरकारले लिने बताइन् ।

प्रतिक्रिया दिनुहोस्