राजतन्त्रकालिन पर्यटन ऐनले वर्तमान पर्यटन क्षेत्रको नेतृत्व गर्न सक्दैन: मन्त्री किराँती «

राजतन्त्रकालिन पर्यटन ऐनले वर्तमान पर्यटन क्षेत्रको नेतृत्व गर्न सक्दैन: मन्त्री किराँती

फाइल तस्बिर ।

काठमाडाैं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले राजतन्त्रकालिन पर्यटन ऐनले वर्तमान पर्यटन क्षेत्रको नेतृत्व गर्न नसक्ने बताएका छन् ।

सोमबार प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा बोल्दै मन्त्री किराँतीले वर्तमान पर्यटन ऐन, २०३५ सालको ऐन रहेको भन्दै उक्त ऐनलाई वर्तमान आवश्यकता अनुसार संशोधन गर्न सरकार लागेको बताए । उनले सरकारले पर्यटन ऐनलाई समय सापेक्ष बनाउने गरी काम गरिरहेको बताए ।

मन्त्री किराँतीले पर्वतारोहणको क्षेत्रको विकासका लागि ८ हजार मिटर उचाईबाट प्याराग्लाइडिङ गर्न सकिने सहितको पर्यटन नियमावलीमा व्यवस्था राखेर पर्वतारोहण सम्बन्धी नियमावली संशोधन गर्न लागेको बताए । उनले पर्यटन नियमावली संशोधन गरेर ग्लाइडरका लागि सहज बनाउने बताए । उनले पर्वतारोहण नियमावली संशोधन गर्दा ८ हजार मिटर माथिको उचाईबाट प्याराग्लाइडिङ गर्दा सगरमाथाको महत्व घट्ने विषयमा पनि सचेत रहेको बताए ।

उनले नेपालमा संस्कृतिको ऐन नभएकाले सरकारले राष्ट्रिय संस्कृति नीति निर्माण गर्न ११ सदस्य समिति आज नै गठन गर्न लागेको बताए । उनले नेपालका कतिपय नीतिहरु नेपालको राष्ट्रिय हीतमा हो की होइन भनेर छुट्याउन नसकिएको बताए । उनले पर्यटन क्षेत्रको विकासका लागि संरचनाहरु बनाउने अनि जहाजहरु नउडाउने काम भइरहेको बताए । उनले २२ वटा विमानस्थलहरु खाली रहेको भन्दै उक्त विमानस्थलमा राज्यको खर्बौं बजेट खर्च भएको बताए ।

मन्त्री किराँतीले आफू मन्त्री भएर आएपछि एनसी धमिजा, लाउण्डा र कोभिड महामारी छलेर आएको नेपाल एयरलाइन्स नाफामा रहेको दाबी गरे । उनले वायुसेवा निगमले पौने ४ अर्ब ऋण तिरेरको भन्दै तीनवटा जहाज किन्न अन्तिम तयारीमा रहेको बताए । उनले निगमको ४८ अर्बको ऋण जहाज किन्न दिएर व्यापार गर्न दिएपछि मात्रै तिर्ने बताए । उनले मन्त्रीले बुद्धि पुर्‍याउन सकेन भने मन्त्रालय वनझाँक्रीले चलाउन खोज्ने अवस्था रहेको बताए । उनले मन्त्री दिनभर सुतेर बस्ने हो भने मन्त्रालय अरुले चलाइदिने दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्