अटो चालाएरै ४० हजार मासिक आम्दानी

धार्के (धादिङ)– ‘नसिकाउन मलाई जिन्दगी जिउन, तिमी पैसाका लागि जिउँछौ, म जिउँछु खुसीका लागि’ यो भनाइ गीताले चलाउने अटो रिक्साको पछाडि लेखिएको छ ।
सामान्यतयाः महिलाले गर्ने काम छोराछोरीलाई खाना खुवाउने, स्कुल पठाउने, मेलापात र अर्मपर्म नै हुन् । अझ भनौ महिलाले नगद आर्जनको काम गरे पनि नगद हात पार्न पाउँदैनन् । तर धुनीबेसी नगरपालिका–५ अमलेचौकीकी गीता तामाङ गुरुङ भने छिनछिनमा नगद हात लाग्ने काम गरिरहेकी छिन् । उनी अटो रिक्सा चलाउँछिन् । दैनिक एक हजार पाँच सयदेखि दुई हजारसम्म कमाइ घर लान सक्दा गीता निकै खुसी छिन् । अझ खुसी हुन्छिन् । यात्रुले साहसी महिला हौ तिमी राम्रो गर भनेर हौसला प्रदान गर्दा ।
गीता भन्छिन्, ‘मलाई सबैले हौसला, माया र सेवा दिने अवसर दिनु भएको छु । म यसैमा खुसी छु । पैसा कमाएर खसी हुनुभन्दा अरुको माया, हौसला, प्रेरणा र स्याबासीले नै मन आनन्द हुँदो रहेछ । गीता भन्छिन्, ‘तीन वर्षअघि धुनीबेसी नगरपालिकाले महिलालाई स्वरोजगार बनाउन भन्दै अटो रिक्सा चलाउने तालिम सञ्चालन गर्ने सूचना पाएँ । अटो सिक्न निवेदन दिएँ । ७२ जना महिला दिदीबहिनीले तालिम लियांै । अब यी सबैले अटो चलाए भने के कमाइ होला र जस्तो लागेको थियो । तालिम सकिएको केही समयपछि अटो किनें । अटो पहिलो टिप नै धार्केदेखि सिम्लेसम्मको पाएँ । त्यो पनि पुरुष यात्रु । एक हजार भाडा तोकेर गएँ । ठूला ठूला गाडी अघिपछि, दायाँवायाँ गुडिरहेका थिए । अरु गाडीका यात्रु र सडक छेउमा उभिएका मानिस मलाई हेरिरहेका हुन्थे । म आफ्नै गतिमा सफलतापूर्वक सिम्ले पुगें । मेरो अटोमा यात्रा गरिरहेका यात्रु ओरालें । उहाँहरूले एक हजार रुपैयाँ र धन्यवाद दिनुभयो ।’
उनी भन्छिन्, ‘पहिलो नयाँ अटो तीन लाख ५० हजारमा किनेको हो । त्यसको कमाइबाट अर्को अटो किनेर श्रीमान्लाई पनि चलाउन लगाएँ । कमाइ अझ थपियो । दुवै जनाले कमाइ गर्ने हुदाँ एक अर्कामा अझ बढी माया, विश्वास थपिँदो रहेछ । हामीले निकै राम्रो कमाइ गरिरहेका छौं । अहिले एउटा बेचेका छौं । अब अलि ठूलो गाडी किनेर चलाउने सोचमा हुनुहुन्छ श्रीमान्,’ गीताले भनिन्, ‘म त सकुन्जेल अटौ नै चलाउँछु । यसले मलाई चिनाएको छ । अहिले धार्केमा १३ वटा अटो छ । यात्रुको आँखा ममा नै पर्छ । महिला भएर नै माया गरेर होला । हामीलाई लग्दिनुस भनेर आउनु हुन्छ । सबैभन्दा राम्रो कमाइ मेरै छ । यात्रुले गरेको मायाले पनि म पेशा छोड्न सक्दिन ।’
गीताले भनिन्, ‘अफ्ठ्यारो बाटोमा यात्रुहरूले अटो ठेल्नु हुन्छ । पहिलो पटक अटो चड्ने र महिलाले चलाएकोमा विश्वास नगरेर डरानेलाई नडराउन अनुरोध गर्छु । बाटो अफ्ठ्यारो लागेमा तपार्इंहरूलाई ओराल्छु नि भन्छु । एक पटक चढेका त फोन गरेर नै बोलाउनु हुन्छ । अहिले राम्रो चलेको छ । चाडपर्व नपरेको महिनामा पनि ४० हजार कमाइ गर्छु । चाडपर्व भएको बेलामा त दैनिक १०÷१२ हजारसम्म कमाइ गरेकी छु ।’
वडाध्यक्ष विश्वास भट्टराई पनि गीताको काम देखेर खुसी छन् । धुनीबेसी नगरपालिकाले ७२ जनालाई तालिम दिएकोमा गीता एकजना मात्र सीपलाई व्यवहारमा उतार्ने साहसी महिला हुन् । वडाध्यक्ष भट्टराईले भने, ‘म त्यतिबेला वडाध्यक्ष त थिइन । अहिले वडाध्यक्ष छु । उहाँको कामलाई कसरी सम्मान गर्ने सोचिरहेको छु । ताकि अरु बाँकी ७१ जना पनि अटो लिएर सडकमा आउन ।’
जिल्लाको विभिन्न स्थानमा १५० वटा हाराहारीमा अटो सञ्चालनमा आए पनि महिला चालक गीतामात्र हुन् । धुनीबेसी नगरपालिकाले जस्तै महिलाका लागि तालिम सञ्चालन गरेर स्वरोजगार सिर्जना गर्ने वातावरण अन्य पालिकाले पनि गर्नुपर्छ । अटो रिक्सा सञ्चालनमा ल्याए पनि नियमन गर्ने र भाडा दर नतोकिदिँदा समस्या भएको छ ।