लन्डन एयरपोर्टमा बम

लन्डन एयरपोर्टमा बम फेला परेपछि आतंक फैलिएको छ । तर यो बम दोस्रो विश्व युद्धको भएको थाहा हुन आएको छ । बम फेला परे लगत्तै तत्काल एयरपोर्टमा विमानको आवतजावत बन्द गरेर विमानस्थललाई खाली गराइएको थियो ।
यो बम थेम्स नदीको जर्ज वि डाकमा फेला परेको थियो । बम फेला परे लगत्तै बम डिस्पोजल टोली उक्त स्थानमा पुगेर बमलाई निष्क्रिय पार्ने क्रममा जुटेका छन् । लन्डन सिटी एरपोर्टका यात्रुलाई पनि विमानस्थलतर्फ नजानका लागि आग्रह गरिएको थियो । यात्रुलाई उडानको बारेमा जानकारी आवश्यक परेमा सिधै एयरलायन्समा सम्पर्क गर्नका लागि भनिएको छ ।
प्रहरीले सम्बन्धित क्षेत्रलाई बन्द गर्नका लागि आदेश दिएको छ । सञ्चार माध्यममा आएको समाचार अनुसार एक कर्मचारीले कामको शिलशिलामा यो बम देखेका थिए । उसले तत्काल यसको बारेमा विमानस्थलका अधिकारीलाई जानकारी गराएको थियो । लन्डन सिटी एयरपोर्ट १९४० को सेप्टेम्बरदेखि १९४१ को मे सम्मको अवधिमा जर्मन एयरफोर्सको विमानले हजारौ बम खसालेको ठाउँमा पर्छ ।