फूलखेतीबाट वार्षिक आठ लाख बढी आम्दानी

जुगेडी (धादिङ)– धुनीबेसी नगरपालिका–९, जुगेडीमा १८ वर्षदेखि हेमलाल र रमाको जोडी फूलखेतीमा लागेका छन् । उनीहरूले फूलखेतीबाट वार्षिक ८ लाखभन्दा बढी आम्दानी गर्ने गरेका छन् । यो जोडी दैनिक १० घण्टाजति समय फूलबारीमा हुन्छन् । उनीहरूको मुख्य काम नै फूलखेती गरेर पैसा कमाउनु हो ।
२०६१ सालमा काभ्रेपलाञ्चोक पाँचखालकी रमा श्रेष्ठसँग वैवाहिक जीवन सुरु गरेका हेमलाल श्रेष्ठलाई फूलखेतीमा श्रीमतीको भरपुर साथ मिलेको छ । रमालाई पनि माइतीमा व्यावसायिक तरकारी खेती गरेकाले फूलखेती गर्न निकै सहज भएको बताइन् । तरकारी खेतीमा भन्दा फूलखेतीमा काम सजिलो भएको रमाले बताइन् । दार्जीलिङका मानिसहरूले नौबीसे क्षेत्रमा आएर फूलखेती गरेको देखेर प्रभावित भएका हेमलालले आफू व्यावसायिक फूलखेती गर्ने योजनासहित २०६० सालबाट फूलखेती सुरु गरेका हुन् ।
सुरुमा ग्याड्स र सयपत्री फूलखेती गरेका थिए । कमाइ राम्रै हुँदै गइरहेको थियो । हरेक वर्ष लगानी बढाउँदै गएका थिए । २०७२ सालमा १० लाख लगानी डुबेपछि उनीसँग थप लगानीको अभाव देखिएको हो । लगानी अभावपछि उनले तरकारी खेती गरेर पैसा संकलन गरे । पछि पुन: फूलखेतीमा लगानी गरेको उनले बताए । अहिले उनको लगानी १४ लाख रुपैयाँ पुगेको छ । उनले आठ रोपनी जग्गामा १५ वटा टनेल बनाएका छन् । टनेल नरहेको जग्गामा तरकारी खेती पनि गर्छन् ।
तर, उनको मुख्य खेती भने फूल नै हो । गत वर्ष वार्षिक तीन टन फूल बेचेर ६ लाख ९६ हजार आम्दानी गरेका छन् । यसमा उनको श्रमको मूल्य धेरै हुन्छ । वीउ, मल, औषधि, विषादीमा पनि खर्च हुन्छ । फूलखेती गरेर बाँकी रहेको जग्गामा तरकारी खेती गरेर पनि आम्दानी गर्ने गरेको उनी बताउँछन् । सरकारले पुष्प व्यवसायलाई खासै प्राथमिकता नदिएको गुनासो हेमलालको छ । यदि सरकारले नेपाली फूलखेती गर्ने किसानलाई उकास्ने हो भने भारतीय फूललाई रोक्नुपर्छ । नेपाली किसानलाई पर्याप्त अनुदान दिने व्यवस्था मिलाउनुपर्ने उनको भनाइ छ ।
नेपालमा फूलखेतीको प्रचुर सम्भावना भए पनि भारतीय फूलले नेपाली व्यवसाय छायामा परेको उनको गुनासो छ । फूलखेतीबाट छोराहरू पढाएको उनी बताउँछन् । घर खर्च पनि यसैबाट चलेको उनले बताए । कमाइका हिसाबले वार्षिक आठ लाखभन्दा बढी कमाइ हुने गरेको उनको भनाइ छ । नेपालमा फूलखेतीको सम्भावना रहेकाले हरेक वर्ष किसानहरू फूलखेतीमा लाग्नुपर्नेमा उनले जोड दिए । पुष्प खेतीको पचार–प्रसार गर्न आवश्यक छ । जन्मदेखि मृत्यु संस्कारमा सवै जाति धर्मका लागि आवश्यक हुने पवित्र फूलखेतीमा सरकारले सहयोग गर्नुपर्ने हेमलालको भनाइ छ ।