भियतनामको शैक्षिक व्यवस्थाबाट सिक्ने अवसर

कोभिड संक्रमण, २०१९ मा यसको सफल नियन्त्रण गरेर होस् वा पछि समष्टिगत अर्थव्यवस्था कुशलतापूर्वक सञ्चालन गरेर होस्, भियतनामका राजनीतिज्ञहरूले आफ्ना सफलताका गाथाहरू विश्वसामु प्रस्तुत गर्दै आइरहेका छन् । केही समयअगाडि विश्व मानव पुँजी सूचकांकमा विश्वका १ सय ५७ देशमा भियतनामले ४८ औं स्थान हासिल गरी प्राथमिक शिक्षामा भियतनामले हासिल गरेको सफलतालाई लिएर भियतनाम फेरि चर्चामा आएको छ ।
विश्व मानव पुँजी सूचकांकमा समावेश भएका सूचकहरूमध्ये हार्मोनाइज्ड टेस्ट स्कोरमा भियतनामका विद्यालयतहका बालबालिकाहरूले हासिल गरेको अंक (६१९) भियतनामजस्तै उदीयमान देशका बालबालिकाहरूले हासिल गरेको भन्दा मात्र धेरै होइन, विकसित देशका बालबालिकाहरूले हासिल गरेको अंक ( ५०६) भन्दा माथि छ ।
विश्व बैंकले अन्तर्राष्ट्रिय रूपमा विद्यालयका बालबालिकाहरूले विज्ञान र गणितको जाँच लिएर उनीहरूले हासिल गरेको अंकका आधारमा हार्मोनाइज्ड टेस्ट स्कोर गणना गरेको हो । विश्व मानव पुँजी सूचकांकमा शिक्षाबाहेक स्वास्थ्यसम्बन्धी सूचकहरू जस्तै- बचाव (सर्भाइभल), विद्यालय र स्वस्थ विद्यालय सूचकमा भियतनामको प्रगति नीति निर्माताहरूलाई नै अचम्मित पार्ने खालको छ ।
श्रेद्धय नेताप्रतिको सच्चा श्रद्धाञ्जली
भारत, थाइल्यान्ड, मलेसिया र इन्डोनेसियाजस्ता उदीयमान अर्थव्यवस्था भएका देशहरूको पंक्तिमा उभिन सफल भियतनामको शैक्षिक व्यवस्थालाई अहिले विश्वभरि नै प्रशंसा गरिएकोे छ । भियतनामको सरकारले आफ्नो नेता होचिमिन्हको दीर्घकालीन प्रभाव पर्ने उद्घोषबमोजिम काम गरेर आफ्नो नेताको सपना साकार पार्ने काममा भियतनामको अहिलेको सरकार लागेको भन्दा अन्यथा हुने देखिँदैन । एक ठाउँमा होचिमिन्हले भनेका थिए, दस वर्षको लाभ लिनु छ भने रुख रोप र सय वर्षको लाभ लिनु छ भने जनतालाई शिक्षित बनाऊ । भियतनामको अहिलेको राजनीतिक नेतृत्वले आफ्ना दिवंगत नेतालाई सच्चा रूपमा श्रद्धाञ्जली व्यक्त गरिरहेको पाइन्छ ।
शैक्षिक व्यवस्थाका राम्रा पक्ष
भियतनामका विद्यार्थीहरूले पाठ सिकाइमा पनि कम समय खर्चिने गरेका छन् । भियतनाममा विद्यालयका प्रधानाध्यापकहरू कम्युनिस्ट पार्टीका सदस्य नै हुन्छन्, तर तिनीहरू शिक्षण पेसामा असफल भएपछि पार्टीबाटै घृणित हुन्छन् र यसलाई काम गर्ने क्यारटको रूपमा लिइएको पाइन्छ । इकोनोमिस्ट पत्रिकाका अनुसार भियतनामको अर्को राम्रो पक्ष भियतनामको शैक्षिक व्यवस्था भनेको त्यहाँको केन्द्रीय सरकारले प्रान्तहरूलाई अनिवार्य रूपमा शिक्षामा कुल बजेटको २० प्रतिशत छुट्ट्याउन लगाएको छ, जसले गर्दा शिक्षामा हुने क्षेत्रीय असमानता निकै कम हुन गएको छ ।
पाठ्क्रम र शैक्षिक मापदण्डलाई समयसापेक्ष संशोधन गर्दै जानु यसको शैक्षिक व्यवस्थाको अर्को राम्रो पक्ष मानिएको छ । जनतामा शिक्षाप्रति आएको जागरुकता अर्को राम्रो पक्ष मानिएको छ । भियतनाममा शिक्षकहरूलाई कक्षाकोठामा पाठ सिकाउने कार्यमा आफ्नै तरिका अपनाउन पाउने लचकता दिएका छन् । प्राथमिक र पूर्वप्राथमिक शिक्षामा भियतनामको सरकारले दिएको प्राथमिकतालाई अरू देशले पनि सिक्नुपर्ने पाठका रूपमा लिन सकिन्छ ।
प्राथमिक र पूर्वप्राथमिक शिक्षामा भियतनामको सरकारले दिएको प्राथमिकतालाई अरू देशले पनि सिक्नुपर्ने पाठका रूपमा लिन सकिन्छ । सरकारले उच्च दक्ष भएका व्यक्तिहरूलाई शिक्षण पेसामा आकर्षण, प्रोत्साहन गर्ने र पेसागत विकासको अवसर दिने नीति अपनाउँदै आएको पाइन्छ ।
सरकारले उच्च दक्ष भएका व्यक्तिहरूलाई शिक्षण पेसामा आकर्षण, प्रोत्साहन गर्ने र पेसागत विकासको अवसर दिने नीति अपनाउँदै आएको पाइन्छ । विद्यालयपूर्वको शिक्षामा सरकारले समुदाय र निजी क्षेत्रलाई यथोचित रूपमा परिचालन गरेको छ । भियतनामले आफ्नो विद्यालयका विद्यार्थीहरूको जाँच लिने व्यवस्थालाई अन्तर्राष्ट्रिय असल अभ्यासका आधारमा बेन्चमार्क गर्दै आएको पाइन्छ ।
विश्व बैंकको भनाइअनुसार भियतनामले सन् २०१२ को हार्मोनाइज्ड टेस्ट स्कोरमा भएको कमीलाई ध्यानमा राखी भियतनामले आफ्नो कानुनी व्यवस्था नै परिवर्तन गर्यो, जसबाट उसले विद्यार्थीहरू लिने यस्तो परीक्षामा धेरै र विविध तथा जटिल खालका विषयवस्तुहरू समावेश गर्न सक्यो । भियतनामको सांस्कृतिक पक्षले पनि यसको शैक्षिक व्यवस्थाको पृष्ठपोषणमा सहयोग गरेको देखिन्छ । खास गरेर समाजले शिक्षालाई बढी प्राथमिकता दिने, अभिभावकहरूले आफ्ना नानीहरूको उच्च नतिजा खोज्ने र विद्यार्थी तथा शिक्षकहरूको सिक्ने र सिकाइका लागि उपयुक्त वातावरण भएको आदि पर्छ ।
भारतसँगको तुलना
भारतमा शिक्षकहरूलाई चुनावमा लगाउने, सरकारी विद्यालयहरूमा धेरै शिक्षक अनुपस्थित हुने र कोभिडको बेलामा शिक्षकहरूलाई सामाजिक दूरी पालना गराउन खटाउने गरेको पाइएको छ । भारतमा भन्दा भियतनाममा कक्षाकोठामा धेरै विद्यार्थी राखेर अध्यापन हुने गरेको तर भियतनाममा शिक्षकहरूलाई कक्षाकोठामा पाठ सिकाउने कार्यमा आफ्नै तरिका अपनाउन पाउने लचकता दिएको र भारतमा विद्यार्थीहरूलाई धेरै कुरा थोरै समयमा सिकाउनुपर्ने प्याक्ड करिकुलम रहेको जस्ता कारणहरू औंल्याएका छन् ।
भारतमा आधाजस्तो शिक्षा निजी क्षेत्रबाट उपलब्ध हुन्छ र सेवसुविधाको हकमा भारतीय शिक्षकहरूको सेवासुविधा पनि राम्रो मान्ने गरिएको छ । अर्थशास्त्रीहरूले यदि भारतले आफ्नो शैक्षिक व्यवस्थामा सुधार नगर्ने हो भने उसले परिकल्पना गरिरहेको सन २०३० भित्रमा विश्वको तेस्रो ठूलो अर्थव्यवस्था बन्ने सपना साकार नहुन सक्छ । भियतनामको हकमा यस्तो चेतावनी आएको पाइँदैन ।
हाम्रो सन्दर्भ
भियतनामको तुलनामा नेपाल विश्व बैंकको मानव पुँजी सूचकांकमा ०.२० ले कमी रहेको देखिन्छ । युएनडिपीको मानव विकास सूचकांकमा नेपालको स्थान १ सय ४३ औं रहेबाट पनि हाम्रो शैक्षिक अवस्थाको आकलन गर्न सकिने हुन्छ । दिगो विकास लक्ष्य, २०३० को प्रगतिमा नेपालले शिक्षा क्षेत्रमा राम्रो प्रगति गरेको पाइन्छ । नेपालको प्राथमिक र माध्यमिक शिक्षामा प्रचलित गणित र अंग्रेजीको पाठ्यक्रमको गुणस्तरमा प्रश्न उठाउने ठाउँ देखिँदैन ।
हालका दिनहरूमा स्थायी शिक्षक बन्न जुन प्रतिस्पर्धा चलेको छ, त्यसले पनि हाम्रो शैक्षिक व्यवस्थाको भविष्य उज्ज्वल रहेको मान्नुपर्छ । निजी क्षेत्रबाट उपलब्ध गराइने शिक्षा र सरकारी क्षेत्रबाट उपलब्ध गराएको शिक्षाको गुणस्तरमा प्रश्न उठ्ने गरेको छ र सरकारी क्षेत्रका शिक्षकहरूभन्दा निजी क्षेत्रका विद्यालयहरूमा कार्यरत शिक्षकहरूको सेवासुविधा पनि निकै कम छ । तर, राजनीतिक हस्तक्षेपको सबैभन्दा बढी सिकार शिक्षा क्षेत्र भएकाले यसतर्फ ध्यान दिन सकेमा हामीले पनि छलाङ मार्न सक्छौं ।