१३ करोडको पशुको बीमा «

१३ करोडको पशुको बीमा

दमौली– तनहुँमा १३ करोडभन्दा बढी मूल्यका पशुको बीमा गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमार्फत् जिल्लामा १३ करोड १८ लाख मूल्य बराबरका पशुको बीमा गरिएको हो । दमौलीस्थित विभिन्न बीमा कम्पनीमार्फत् २८ हजार ४९४ पशुको बीमा गरिएको केन्द्र प्रमुख डा. बालकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार यो कार्यक्रमबाट २७१ कृषक लाभान्वित भएका छन् । जिल्लामा सबैभन्दा बढी कुखुराको बीमा गरिएको छ । गत आर्थिक वर्षमा २५ हजार ६५० कुखुराको बीमा गरिएको कार्यालयले जनाएको छ । त्यस्तै सबैभन्दा कम ३१८ बंगुरको बीमा गरिएको छ । त्यसमध्ये ६५ लाख ९४ हजार सरकारले प्रिमियम शुल्कवापत सहयोग गरेको छ भने कृषकले १३ लाख १८ हजार बेहोरेको कार्यालय प्रमुख श्रेष्ठले जानकारी दिए ।

५६४ गाईको पाँच करोड सात लाख, ४७८ भैसीको पाँच करोड ७३ लाख, एक हजार ४८४ बाख्राको एक करोड ४८ लाख, २५ हजार ६५० कुखुराको २५ लाख ६५ हजार र ३१८ बंगुरको ६३ लाख ६० हजार बीमीत मूल्य रहेको कार्यालयले जनाएको छ । गाईको बीमा गर्ने एक सय दुई, भैंसीको ९३, बाख्राको ५७, कुखुराको सात र बंगुरको बीमा गर्ने कृषक संख्या १२ जना छन् ।

त्यसमध्ये गाईको २५ लाख ३८ हजार प्रिमियम शुल्क सरकारले सहयोग गरेको छ भने कृषकले पाँच लाख सात हजार बेहोरेका छन् । भैसीको २८ लाख ६८ हजार सरकारले सहयोग गरेको छ भने कृषकले पाँच लाख ७३ हजार, बाख्राको सात लाख ४२ हजार सरकारले सहयोग गरेको छ भने कृषकले एक लाख ४८ हजार, कुखुराको एक लाख २८ हजार सरकारले सहयोग गरेको छ भने कृषकले ३२ हजार र बंगुरको तीन लाख १८ हजार प्रिमियम शुल्क सरकारले सहयोग गरेको छ भने कृषकले ६३ हजार बेहोरेका छन् ।

जिल्लामा सगरमाथा, प्रुडेन्सियल र एनएलजी इन्स्योरेन्स कम्पनीले पशुको पशुधन सुरक्षण (बीमा) को सुविधा प्रदान गरिरहेको छ । पशुधनको सुरक्षण गरेपछि हुने फाइदाका विषयमा पशुपालक कृषकलाई जानकारी गराउँदै यसतर्फ आकर्षित गरिएको विज्ञ केन्द्रका प्रमुख डा. श्रेष्ठले बताए । बीमा रकम भुक्तानीका लागि किसानले आफ्ना पशुवस्तुको बीमा गरेको कागजात पेश गर्नुपर्ने प्रमुख डा. श्रेष्ठले जानकारी दिए ।

‘किसानले बीमा कम्पनीमार्फत् पशुवस्तुको बीमा गर्छन्, बीमा गरिसकेपछि किसानले बिमावापत भुक्तानी गरेको नगदी रसिद, बैंक खातासहित कार्यालयमा निवेदन दिनुपर्छ,’ उनले भने, ‘त्यसबाहेक कृषि फार्म भए फार्मको दर्ता प्रमाणपत्र र व्यक्ति भए नागरिकता उपलब्ध गराएपछि प्रक्रिया पुर्‍याएर रकम भुक्तानी गरिदिन्छौं ।’ पशुधन सुरक्षण गरेपछि पशुको मृत्यु भएमा पशुपालक कृषकले क्षतिपूर्ति दाबी गर्न सक्नेछन् । त्यसको लागि पशु मरेको १५ दिनभित्र सम्बन्धित स्थानीय सदस्य संस्थामार्फत् क्षतिपूर्ति दाबी पत्र भरी दाबी गर्नुपर्ने हुन्छ ।

क्षतिपूर्ति दाबी गर्दा सम्पूर्ण कागजात संलग्न गरी दाबी गरेमा पोलिसीमा उल्लेखित कर्जा रकमको ८० प्रतिशत रकम (सुरक्षण बराबर) सम्बन्धित पशुपालक कृषकलाई दिनुपर्ने प्रावधान छ । बन्दीपुर गाउँपालिका–५ याम्पाका कृषक काशीनाथ भट्टराईले पशु बीमाले कृषकलाई सहयोग पुगेको बताए । उनले भने, ‘पशुको मृत्यु भएको खण्डमा बीमामार्फत् राहत पाइन्छ, जसले गर्दा कृषकलाई सहयोग पुग्छ ।’

प्रतिक्रिया दिनुहोस्