धुलिखेलमा सिलाइ केन्द्रको स्थापना

रोटरी क्लब अफ धुलिखेल, आईईडी नेपाल र धुलिखेल उद्योग वाणिज्य संघको सहकार्यमा धुलिखेलमा आधुनिक सिलाइ केन्द्रको स्थापना भएको छ । रोटरी क्लब अफ धुलिखेलको आर्थिक सहयोगमा स्थापना भएको यो सिलाइ केन्द्रमा स्यानिटेरी प्याडको तालिम तथा १५ हजार स्यानिटेरी प्याड उत्पादन गरिनेछ ।
करिब ३० जना महिलालाई तालिम र रोगजारी दिने यस केन्द्रको उद्घाटन रोटरी डिस्ट्रिक ३२९२ का डिस्ट्रिक गभर्नर किरणलाल श्रेष्ठ, रोटरी क्लब अफ धुलिखेलका अध्यक्ष विष्णुप्रसाद सापकोटा र धुलिखेल उद्योग वाणिज्य संघका अध्यक्ष मञ्जुकुमार कोजु संयुक्त रूपमा गरेका थिए ।
परियोजना संयोजक रोटरी क्लबअफ धुलिखेलका पूर्वअध्यक्ष रन्जीव श्रेष्ठले यो परियोजनाले रोजगारीका साथै करिब ५ हजार छात्रा लाभान्वित हुने बताउँदै रोटरी सहकार्यमा विश्वास राख्ने संस्था भएकाले धुलिखेल उद्योग वाणिज्य संघसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताए ।