Logo

सेती नदीमा ९४ करोड लागतमा दुई वटा पक्की पुल निर्माण सुरु

पोखरा– पृथ्वी राजमार्गअन्तर्गत पर्ने पोखराको पृथ्वीचोक नजिक (चाइनापुल) सेती नदीमा अत्याधुनिक डिजाइनका दुईवटा पक्की पुल निर्माण कार्य सुरु भएको छ । पुल निर्माणको जिम्मा पाएको रसुवा कन्स्ट्रक्सन कम्पनीले सो पुलको डिजाइनसमेत स्वीकृत गरी पोखरा रंगशालामा क्याम्प नै खडा गरी पुल निर्माण प्रकृया सुरु गरेको कम्पनीका प्रतिनिधि सुदर्शन देवकोटाले बताए ।

पोखराको सेती नदीमाथि अपस्ट्रिम र डाउनस्ट्रिम १९० मिटरका दुईवटा पक्की पुल निर्माण गर्ने तयारी स्वरुप क्याम्पमा मेसिनसहित निर्माण सामग्री तयारी अवस्थामा राखी जनशक्तिसमेत परिचालन भएको कम्पनीका प्रतिनिधि देवकोटाले उल्लेख गरे । दुईवटा पुलमध्ये पहिला दक्षिणतर्फको पुलको निर्माण प्रकृया अघि बढेको त्यसको जगसहितको स्ल्याप गरे पश्चात मात्र उत्तरतर्फको अर्को पुलको निर्माण प्रकृयालाई अघि बढाउने लक्ष्य राखिएको उनले जनाए ।

नेपालमा बनेका पुलमध्ये निकै फरक प्रकृतिको पुल निर्माण हुने कम्पनीका प्रतिनिधि देवकोटाले बताए । उनका अनुसार हाल निर्माण हुने उक्त पुलको बीचको स्पाम १४० मिटर, फुटपाथको क्षेत्र २५/२५ मिटरको स्पाम क्षेत्रफल रहने छ । उक्त पुल निर्माणका लागि कोत्रेबाट ल्याउने गिटी र बालुवासमेत परीक्षण गरिएको कम्पनीले जनाएको छ । हाइ स्ट्रेन्थको कंक्रिट निर्माण हुने भएकाले केही समयपछि पुल निर्माण स्थलमा रेडिमिक्सचर राखेरै काम गर्नुपर्ने देवकोटाको भनाइ छ ।

हाल सञ्चालनमा रहेको चाइना पुलको उत्तर र दक्षिण साइटमा दुईवटा पुल चाइना पुलकै लेबलमा निर्माण हुने भएको हो । गाडी गुड्ने भाग साढे सात मिटर फुटपाथको रुपमा भने दुवै पुलको ३/३ मिटरको क्षेत्र रहने भएको कम्पनीका प्रतिनिधि देवकोटाले उल्लेख गरे । साढे १० मिटरको पक्की पुल निर्माण हुने भए पनि केही भाग टावरसहित गर्दा १३ मिटरको उक्त पुल निर्माण हुने भएको देवकोटाले जनाए । सेतीको भाग जोखिम होला भनेर आफूहरूले भने १४० मिटर लामो क्षेत्रमा जग राखेर उक्त पुल निमार्ण गर्ने तयारी गरेको उनको भनाइ छ ।

दुईवटै पक्की पुल टावरसहितको निर्माण हुनेछ भने हालको चाइना पुल र नवनिर्मित पुलको स्पेस करिब ४/४ मिटर हुनेछ । दुवै पुलमा तीन मिटरको फुटपाथ हुने कम्पनीले जनाएको छ । एकै ठाउँमा तीनवटा पुल हुने हुँदा अब पृथ्वी राजमार्ग र पोखरा रंगशालामा हुने ठूला खेलकुद गतिविधि र अन्य कार्यक्रमले गर्दा चाइना पुलमा हुने जाम कम हुने स्थानीयले विश्वास गरेका छन् ।

उक्त परियोजना सेप्टेम्बर २०२२ मा सम्झौता भएको थियो भने ३६ महिना समय सीमा भए पनि अबको दुई वर्षमा उक्त पुल निर्माण हुने तयारीका साथ काम सुरु भएको कम्पनी प्रतिनिधि देवकोटाले बताए । समय सीमाभित्र उक्त पुल निर्माण गर्ने कम्पनीले दाबी गरेको छ । पोखराको सेतीनदीमा ९४ करोडको लागतमा दुई वटा पुल निर्माण भएसँगै चाइना पुलसहित अब तीनवटा पुलमा यातायात संचालनमा सहज हुने भएको छ । उक्त पुल पोखराका लागि नौलो र सेल्फि ब्रिजको रूपमा निर्माण हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्