Logo

धान बालीमा ब्लास्ट रोगको संक्रमण, कृषक चिन्तित

पर्वत– धान बालीमा ब्लास्ट नामक (राते) रोगको संक्रमण बढेपछि पर्वतका किसान चिन्तित बनेका छन् । धान रोप्नुअघि र बिउ राख्ने बेला खडेरीको मार खेपेका पर्वतका किसानले अहिले रोगको संक्रमण बढेपछि चिन्तित बनेका हुन् । रोग लागेर बोट नसप्रने, पात रातो हुने तथा बोट मर्ने गरेको किसानले बताएका छन् । खडेरीले सुरुमा बिउ राख्न पाइएन, रोप्ने बेलामा पनि खडेरी पर्‍यो, रोपेको २५/३० दिनपछि बोट नै रातो हुँदै गइरहेको कुश्मा नगरपालिका–१२ ठूलीपोखरीकी कृषक राधा सापकोटाले बताइन् ।

मुख्य बाली धान नै नोक्सान हुँदै जान थालेपछि निकै समस्यामा परेको उनले बताइन् । सुरुमा पातको टुप्पोबाट रातो हुँदै फेदसम्म पुग्ने, बोट ओइलिने र सुक्दै जान थालेको उनको भनाइ छ । बोट सुक्दै जान थालेपछि उपचारको विधि थाहा नहुँदा समस्या परेको छ । उनका अनुसार आफ्नो ८/१० रोपनी क्षेत्रफलको धानखेती रोगका कारण राताम्मे भएको छ । सोही स्थानका अर्का कृषक वेदप्रसाद गौतमले पनि रोपेको महिना दिनपछि धानबालीमा समस्या आएको बताए ।

उनले गाँज राख्न थालेको बेला रोगले आक्रमण गरेपछि धान मर्दै जान थालेको गुनासो गरे । कुश्मा नगरपालिका वडा नं. ३, ९, १२, १३ लगायत फलेवास र महाशिलाका विभिन्न वडामा राते रोगको संक्रमण बढ्दै गएको कृषकहरूले बताएका छन् । ढिलो गरी भएको रोपाइँ, सिँचाइ अभाव तथा पुरानो बिउ भएका कारण पनि यस्तो खालको समस्या आउन सक्ने कुश्मा नगरपालिकाका कृषि शाखा प्रमुख बलबहादुर जिटीले जानकारी दिए ।

उनका अनुसार धानमा लागेको राते रोगका कारण यस वर्षको धानको उत्पादन पनि घट्ने अनुमान गरिएको छ । उनले नगरपालिकाभित्र गुनासो लिएर आउने कृषकलाई विभिन्न भिटामिन र औषधि सिफारिस गरिएको बताए । उपचार नगरिकन रोपिएको धानको बिउ र प्रतिकूल मौसमका कारण ढुसी लाग्ने समस्याले धानमा राते रोग फैलिएको कृषि ज्ञान केन्द्र पर्वतका कृषि प्रसार अधिकृत विश्वास काफ्लेले बताए । सेतो झिंगाले धानका पातलाई चुस्दै जाँदा धानको बोट नै पहेंलो र रातो हुँदै गएको काफ्ले बताउँछन् ।

यस्तो अवस्थामा धानमा युरिया र डिएपीजस्ता मलको प्रयोग गर्न नहुने उनले बताए । धान खेतमा देखिएको यो रोगको तत्कालको रोकथाम गर्नका लागि किङ ब्लास्ट अर्थात् ट्राइसाइक्लोजोन नाम विषादी पानीमा मिसाएर धानको पात र बोट भिज्ने गरी छर्किनुपर्ने बताए । अहिले स्थानीय तहका कृषि शाखाले धानबालीमा लाग्ने रोग र किराको औषधि खरिद गरेर राखेकाले स्थानीय तहबाटै प्रकोप नियन्त्रणका लागि आवश्यक सल्लाह र विषादी पाइने काफ्लेले बताए ।

काफ्लेले राते रोगसँगै धानको फेद कुहिने ‘बकाने’ रोगको संक्रमण फैलिएका गुनासा समेत आउन थालेको बताए । जिल्लाको विहादी, पैंयु, कुश्मा, जलजला लगायतका कृषकले फेद कुहिने रोग देखिएको भन्दै आवश्यक सुझाव र सल्लाह माग्न आएको र आफूले विभिन्न औषधि सिफारिस गरेको उनले बताए । स्थानीय तहबाटै बालीनालीका लागि आवश्यक औषधि र विषादी वितरण भइरहेको र नियन्त्रण बाहिर जान थालेमा कृषि ज्ञान केन्द्रले आकस्मिक बाली संरक्षण कार्यक्रमअन्तर्गत रोग, किरा नियन्त्रणका लागि पहल गर्ने काफ्लेले बताए ।

प्रतिक्रिया दिनुहोस्