अन्तर्वार्ता लिँदै धमाधम कर्मचारी भर्ना «

अन्तर्वार्ता लिँदै धमाधम कर्मचारी भर्ना

दाङ-घोराही उपमहानगरपालिकाले लिखित परीक्षा नलिई अन्तर्वार्तामात्र लिई धमाधम प्राविधिक कर्मचारी छनोट गरेको छ ।
सामान्य कार्यालय सहयोगी छनोट गर्दासमेत लिखित परीक्षा लिएर पास भएपछि मात्र अन्तर्वार्ता लिएर पास भएमा कर्मचारी छनोट गरिन्छ । तर घोराही उपमहानगरपालिकाले केही दिन अघि प्राविधिक कर्मचारी भर्ना गर्दा समेत अन्तर्वार्तामात्र लिएर कर्मचारी छनोट गरेको छ । यसले कर्मचारी छनोटमा निस्पक्षता नभएको नगरवासीहरूले गुनासो गरेका छन् । प्राविधिक कर्मचारी भर्ना गर्दा समेत यसरी अन्तर्वार्ताबाट मात्रै गरिनुले नगरपालिकाले निस्पक्ष रूपमा काम नगरेको नगरवासीले गुनासो गरेका छन् ।
उपमहानगरपालिकाले गएको साउन १ गते सूचना प्रकाशित गरेर प्राविधिक कर्मचारी आवश्यक भएको जनाएको थियो । नगरपालिकाले प्रकाशित गरेको सूचनामा विज्ञापन नं १ मा ०७६-०७७ मा इन्जिनियर अधिकृत छैटौं तहको सेवा समूह सिभिल रहेको छ । जसमा १२ जना आवश्यक रहेको थियो भने ३८ जनाले निवेदन पेश गरेका थिए । विज्ञापन नं २ मा ०७६-०७७ पद इन्जिनियर अधिकृत छैटौं तहको रहेको छ । सेवा-समूह सिभिल, बिल्डिङ एवड आर्किटेक्चर छ । जसमा २ जना आवश्यक रहेको उल्लेख गरिएको छ भने ९ जनाले निवेदन दिएका थिए । त्यसैगरी विज्ञापन नं ३ मा ०७६-०७७ मा सबइन्जिनियर पाँचौ तह रहेको छ । सेवा, समूह सिभिल रहेको छ । जसमा १२ जना आवश्यता रहेको थियो भने २७ जनाले निवेदन दिएका थिए । यसरी निवेदन दिएकाहरूको अन्तर्वार्ता गएको साउन २६ गतेबाट
बिहान र दिउँसो गरेर लिइएको थियो । यसरी लिएको परीक्षाको नतिजा गत साउन ३० गते प्रकाशित गरिएको थियो । प्रकाशित नजिताअनुसार विज्ञापन नं १ मा इन्जिनियर अधिकृत छैटौं तहको सेवा समूह सिभिलका लागि १२ जना सफल उम्मेदवार र ५ जना वैकल्पिक उम्मेदवारको नाम सार्वजनिक गरिएको छ । त्यसैगरेर विज्ञापन नं २ मा ०७६-०७७ पद इन्जिनियर अधिकृत छैटांै तहको रहेको छ । सेवा-समूह सिभिल, बिल्डिङ एवड आर्किटेक्चरमा २ जना सफल उम्मेदवार र १ जना वैकल्पिक उम्मेदवारको नाम सार्वजनिक गरिएको छ ।
विज्ञापन नं ३ मा ०७६-०७७ मा सबइन्जिनियर पाँचौ तह रहेको छ । सेवा, समूह सिभिलमा १२ जना सफल र ५ जना वैकल्पिक नाम प्रकाशित गरिएको छ । यसरी सफल भएका उम्मेदवारहरूको नतिजा प्रकाशित भएको ७ दिनभित्र करार सम्झौता गर्न आउन भनेको छ । तोकिएको समयभित्र सफल उम्मेदवारहरू नआएमा वैकल्पिक उम्मेदवारहरूलाई करार सम्झौता गरेर काममा लगाइने सूचनामा उल्लेख गरिएको छ । घोराही उपमहानगरपालिकाको कार्यपालिकाको २०७६ जेठ ३१ गते बसेको बैठकले प्राविधिक कर्मचारी अभावमा योजना सञ्चालन कार्यान्वयन एवं भवन अनुमतिलगायतका काम कारबाही प्रभावकारी रूपमा सम्पादन हुन नसकेको भन्दै करारमा कर्मचारी करारमा पदपूर्ति गर्ने निर्णय गरेको थियो । त्यसैअनुसार घोराही उपमहानगरपालिकाले करारमा कर्मचारी व्यवस्थापन गर्ने सम्बन्धी कार्यविधि २०७५ को दफा ४ (१) बमोजिम सूचना प्रकाशित गरेको उपमहानगरले जनाएको छ ।
घोराही उपमहानगरपालिका प्रमुख प्रशासकिय अधिकृत ऋषिराम केसीले नगरपालिकाले कार्यविधि निर्माण गरेर राजपत्रमा प्रकाशित गरिसकिएको र त्यसैअनुसार प्राविधिक कर्मचारीका लागि लिखित परीक्षा नलिएको बताए ।

प्रतिक्रिया दिनुहोस्