चामलमा आत्मनिर्भर हुन चैते धानको उत्पादन बढाउन जोड

काठमाडौं– कृषि तथा पशुपन्छी विकास मन्त्रालयका मन्त्री बेदुराम भुसालले चामलमा नेपाललाई आत्मनिर्भर बनाउन चैते धानको उत्पादन बढाउनुपर्नेमा जोड दिएका छन् । सरकार सिँचाइ, बीउबिजन, यन्त्रलगायतका प्रबन्ध मिलाउन तयार रहेको मन्त्री भुसालले बताए ।
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले केन्द्रीय कार्यालय खुमलटार, ललितपुरमा बुधबार आयोजना गरेको अन्तक्र्रिया एवं छलफल कार्यक्रमलाई सम्बोधन गर्दै कृषिमन्त्री भुसालले यस्तो बताएका हुन् । चैते धानको उत्पादन बढाउनका लागि कृषि र सिँचाइ मन्त्रालयका बीचमा समन्वय गरी योजना निर्माण भइरहेको बताउँदै उनले योजना निर्माणपछि आक्रामक रूपमा योजनाहरू लागू गरी धान उत्पादन अहिलेको भन्दा बढी गर्ने बताए ।
‘देशैभरि रहेका खाली जग्गाको हामी उपयोग गर्छौं । हामीलाई चाहिनेभन्दा बढी नै धान उत्पादन गर्न खोजेका छौं । त्यसका लागि चैते धानको उत्पादन बढाउन रणनीति निर्माणमा लागेका छौं,’ मन्त्री भुसालले भने, ‘सिँचाइ, बीउबिजन, यन्त्रलगायतको प्रबन्ध सरकारले गर्छ । सिँचाइका लागि कृषि र सिँचाइ मन्त्रालयका बीचमा अहिले छलफल चलिरहेको छ । किसानलाई आवश्यक विषय हामी उपलब्ध गराउनेछौं ।’
नार्कका कार्यकारी निर्देशक ध्रुवराज भट्टराईले कृषि क्षेत्रमा भइरहेको अनुसन्धान तथा विभिन्न कार्यक्रमले कृषि र कृषकको विकासका साथै सरकारले अघि सारेका योजना एवं रणनीति पूरा गर्न लागि परेको बताए । कृषि र कृषकका विकासका लागि नार्कका वैज्ञानिक एवं कर्मचारीले गरिरहेका विभिन्न कामले सरकारको लक्ष्य प्राप्तिका लागि सहयोगी सिद्ध हुने उनले बताए । सरकारका योजना एवं रणनीतिलाई पूरा गर्नका लागि नार्क लागिपरेको उनले बताए ।
राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम हर्दिनाथका संयोजक डा. रामवरण यादवले चैते धान उत्पादन बढाउनेबारेमा प्रस्तुति पेस गरेका थिए । चैते धान उत्पादन गरेर नेपाललाई आत्मनिर्भर बनाउन सकिने उनले बताए । चाहिनेभन्दा बढी धान नेपालमा उत्पादन गर्न सकिने बताउँदै त्यसका लागि सरकारले किसानलाई बीउ, सिँचाइ तथा यन्त्रको व्यवस्था गर्नुपर्ने यादवले बताए । अहिले नेपाललाई वार्षिक रूपमा ७९ लाख ७० हजार मेट्रिक टन धान चाहिन्छ ।
तर, नेपालमा ५६ लाख १ हजार मेट्रिक टन धान मात्रै उत्पदन भइरहेको यादवले बताए । खानका लागि ६८ लाख ७० हजार टन र बीउसहित अन्य प्रयोजनाका लागि ११ लाख टन गरी ७९ लाख ७० हजार मेट्रिक टन धान उत्पादन गर्नुपर्ने आवश्यक रहेको उनले बताए । चैते धान २ लाख ५० हजार हेक्टर क्षेत्रमा थप उत्पादन बढाउने हो भने १३ लाख ७२ हजार टन उत्पादन गर्न सकिने उनले बताए । उत्पादन बढाउन सरकारले किसानलाई आवश्यक सामग्री उपलब्ध गराउनुपर्ने सुझाव उनको छ ।
नार्कका पूर्वकार्यकारी निर्देशक टेकबहादुर गुरुङले नार्क पुनर्संरचना उप– समितिको प्रतिवेदन प्रस्तुत गर्दै नार्कलाई अनुसन्धान विभागमा परिणत गर्नुपर्ने सुझाव दिएका छन् । नार्कको कार्यकारी निर्देशकलाई कृषि अनुसन्धान सचिव बनाउनुपर्ने सुझाव पेस गर्दै गुरुङले नार्कमै मानित विश्वविद्यालय निर्माण गर्न आवश्यक रहेको बताए । कृषिमन्त्री भुसालले आवश्यक थप छलफल एवं अनुसन्धान गर्दै नार्कलाई उत्कृष्ट एक अनुसन्धान संस्थाको रूपमा अगाडि बढाउनुका साथै विश्व विद्यालयको गठनका बारेमा समेत थप छलफल र अनुसन्धान गरी अगाडि बढ्ने बताए ।
अनुगमन तथा मूल्यांकन महाशाखा नार्कका वैज्ञानिक डा. विवेक सापकोटाले नार्कको खाली एवं बाँझो जग्गाको उपयोगका बारेमा प्रस्तुति पेस गर्दै त्यसमा विभिन्न किसिमका बाली उत्पादन गर्न सकिने बताए । नार्कअन्तर्गतका विभिन्न कार्यालयमा जङ्गल, चरन, खोल गरी ४१ प्रतिशत जग्गा खाली रहेको उनले बताए । ५ सय ३१ हेक्टर क्षेत्र खाली रहेको र यसमध्ये ३ सय २८ हेक्टर क्षेत्रलाई विभिन्न प्रयोजनका लागि प्रयोग गर्न सकिने सापकोटाले बताए ।
कृषिमन्त्री भुसालले नार्कको ती खाली एवं बाँझो जग्गाको उपयोग गर्दै विभिन्न बाली उत्पादन गर्नुपर्ने सुझाव दिए । जडीबुटीका साथै धान, मकै, तरकारी, फलफूललगायतका खाद्य उत्पादन गर्न ती खाली एवं बाँझो जग्गाको उपयोग गर्नुपर्ने उनले बताए । देशैभरि रहेका खाली जग्गाको उपयोग गर्दै विभिन्न बाली उत्पादनका योजना पेस गर्न निर्देशन दिँदै मन्त्री भुसालले त्यसका लागि सिँचाइका साथै अन्य आवश्यक विषयमा मन्त्रालयले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
यसैगरी कार्यक्रममा टीकापुर क्षेत्रको केरामा देखिएको पानमा रोगको प्रजाति टिआर–४ बारेमा राष्ट्रिय बाली रोग विज्ञान अनुसन्धान केन्द्र खुमलटारका वैज्ञानिक डा. रामबहादुर खड्काले जानकारी गराए । केरामा लाग्ने पानमा रोग टिआर–४ का बारेमा खड्का नेतृत्वको टोलीले थप अनुसन्धान गरिरहेको र टीकापुर क्षेत्रमै पुगेर त्यहाँको अवस्थाका बारेमा समेत उनले जानकारी गराए ।
खड्काको सुझावपश्चात् मन्त्री भुसालले यसबारेमा तत्काल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्दै यस रोगको नियन्त्रणका लागि सबै प्रयास एवं सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे । आवश्यक अध्ययन गरी सरकारले रोग नियन्त्रणका लागि किसानलाई क्षतिपूर्ति दिएर त्यहीं आगो लगाई अन्य क्षेत्रमा रोग फैलिन नदिने उनले बताए ।