Logo

छाब्दी बाराहीको विकास गर्न गुरुयोजना तयार

दमौली-तनहुँको प्रसिद्ध धार्मिक पर्यटकीय क्षेत्र छाब्दी बाराही मन्दिरलाई एकीकृत धार्मिक तथा ग्रामीण कृषि पर्यटनको रूपमा विकास गर्ने लक्ष्यले गुरुयोजना तयार भएको छ ।
व्यास नगरपालिका–१४ मा पर्ने छाब्दी बाराही मन्दिरको संरक्षण, वातावरणमैत्री भौतिक पूर्वाधार विकास, धार्मिक तथा ग्रामीण कृषि पर्यटन विकास एवं प्रवद्र्धन गरी समुदायलाई आर्थिक तथा सामाजिक रूपमा समृद्ध बनाउने लक्ष्यका साथ गुरुयोजना तयार गरिएको छाब्दी बाराही विकास कोषका अध्यक्ष धनबहादुर थापाले जानकारी दिए । गुरुयोजनामा छाब्दी बाराही मन्दिर क्षेत्रको ऐतिहासिक तथा पुरातात्विक महत्व, धार्मिक तथा साँस्कृतिक सम्पदा, भौतिक अवस्था र जैविक विविधताको संरक्षणसम्बन्धी सचेतना अभिवृद्धि गर्ने, मन्दिर परिसरको सौन्दर्यकरण गर्दै सरसफाइ तथा फोहरमैला व्यवस्थापन सम्बन्धमा आवश्यक कार्यक्रम गर्ने उद्देश्य राखिएको छ ।
त्यसैगरी मन्दिर क्षेत्रमा एकीकृत धार्मिक तथा ग्रामीण कृषि पर्यटन विकास गर्न संस्थागत समन्वय, प्रवद्र्धनात्मक एवं क्षमता अभिवृद्धिसम्बन्धी कार्यक्रम गर्ने, आवश्यक वातावरणमैत्री भौतिक पूर्वाधार निर्माण तथा व्यवस्थापन गर्ने, मन्दिर क्षेत्रको भौतिक अवस्था, प्राकृतिक वातावरण एवं माछालगायतका जैविक विविधताको संरक्षण र व्यवस्थापन गर्ने विषय गुरुयोजनामा समावेश गरिएका छन् ।
गुरुयोजना निर्माणका क्रममा छाब्दी बाराही मन्दिर क्षेत्र संरक्षण, विकास तथा व्यवस्थापन गुरुयोजनाको कार्यान्वयनका लागि ७ उद्देश्य, २३ रणनीति र ९४ कार्यक्रम प्रस्ताव गरिएको छ । यो मन्दिर माछाको पुजा गरिने नेपालको एकमात्र मन्दिर हो । मन्दिरभित्र जीवित माछाको पूजा गरिन्छ । अहिले भने मन्दिर परिसरमा २५ फिट अग्लो माछाको आकारको छाब्दी बाराही देवीको मूर्ति स्थापना गरिएको छ । छाब्दी देवीलाई चार वेद, अठार पुराणका रचयिता भगवान वेद व्यासको माताको रूपमा पूजा गर्ने गरिन्छ । वेदब्यासकी आमा मत्स्याकन्याले छाब्दीदेवीको रूपधारण गरी यस स्थानमा उत्पत्रि भएकाले वि.सं १८०० देखि पूजा हँुदै आएको उल्लेख गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्