पर्यटन प्रवद्र्धनका लागि खुल्ला म्याराथुन «

पर्यटन प्रवद्र्धनका लागि खुल्ला म्याराथुन

गोरखा- खेलकुदको माध्यमबाट इतिहास र पर्यटनको प्रबद्र्धनका लागि गोरखामा खुल्ला म्याराथुन दौड प्रतियोगिता हुने भएको छ । नेपालको उत्पत्तिदेखि जगसम्म भन्ने अवधारणा अनुसार ‘लिगलिगकोट सिरानचोककोट गोरखा दरबार खुल्ला म्याराथन दौड’ प्रतियोगिता हुने भएको हो ।
नेपाली सेनाको रणसिंह दल गोरखा, गोरखा नगरपालिका, पालुङटार नगरपालिका र सिरानचोक गाउँपालिकाको संयुक्त आयोजनामा यही भदौ २५ गते प्रतियोगिता हुने आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ । लिगलिगकोटबाट सुरु हुने दौड सिरानचोक गाउँपालिका हुँदै गोरखा दरबारको हनुमानभन्ज्याङमा टुंगिनेछ ।
नेपाल एकीकरणको उद्गम थलो गोरखाको इतिहास जगेर्ना गर्दै पर्यटन प्रबद्र्धनमा सघाउने उद्देश्यका साथ नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग पु¥याउन प्रतियोगिता आयोजना गरेको गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले बताए ।
तीन पालिकाभित्र रहेका ऐतिहासिक महत्वका क्षेत्र समेटेर दौडको रुट तय गरेको पालुङटार नगरपालिकाका मेयर दीपकबाबु कँडेलले बताए । म्याराथुन वर्षेनी आयोजना गर्ने निर्णय भएको सिरानचोक गाउँपालिकाका अध्यक्ष राजु गुरुङले बताए । प्रतियोगितामा सहभागी हुन चाहनेले तीनवटै पालिकासहित रणसिंह दलमा भदौ २४ गतेसम्म नाम दर्ता गर्न सक्नेछन् ।
३८ किलोमिटर दूरीको उक्त दौड प्रतियोगिताका दश विजेतालाई पुरस्कृत गरिने भएको छ । आयोजकका अनुसार प्रथम पुरस्कार नगद १ लाख ५० हजार, द्वितिय पुरस्कार नगर १ लाख र तृतिय पुरस्कार नगर ५० हजार रुपैयाँ छ ।
प्रतियोगिता गर्न करिब दश लाख खर्च लाग्ने अनुमान गरिएको छ । प्रतियोगिताका लागि तीन पालिकाले तीन÷तीन लाख रुपैयाँ विनियोजन गरेका छन् । रणसिंह दल गणले एक लाख रकम उपलब्ध गराउने रणसिंह दल गणका प्रमुख उज्वल केसीले बताए ।

 

प्रतिक्रिया दिनुहोस्