अस्पताल भवन निर्माणमा प्राविधिक त्रुटि
बिर्तामोड– झापाको भद्रपुरमा रहेको मेची प्रादेशिक अस्पताल भद्रपुरको नवनिर्मित भवन निर्माणमा प्राविधिक त्रुटि फेला परेको छ ।
काठमाडौंको कन्टेन्ट प्रालिले २२ करोड रुपैयाँको लागतमा मेची प्रादेशिक अस्पताल भवन निर्माण गर्ने गरी २०७४ मंसिर १० गते ठेक्का सम्झौता गरे पनि कोरोना महामारीका कारण लागत बढेर निर्धारित अवधिभन्दा तीन वर्ष ढिलो २०७९ असोजमा २७ करोड रुपैयाँमा भवन निर्माण सम्पन्न भएको थियो । त्यस्तै भवन निर्माणको प्रत्यक्ष रेखदेख र गुणस्तर निगरानीको जिम्मेवारी सघन सहरी तथा भवन निर्माण आयोजना भद्रपुरले लिएको थियो ।
सघन सहरी तथा भवन निर्माण आयोजना भद्रपुरले २०८० साल जेठ २२ गते नवनिर्मित भवन मेची प्रादेशिक अस्पताललाई हस्तान्तरण गरे पनि हस्तान्तरण भएको एक सातामै सघन उपचार कक्ष ‘आईसीयू’मा बर्खाको पानी चुहिएपछि नवनिर्मित भवन निर्माणमा प्राविधिक त्रुटि फेला परेको हो । मेची प्रादेशिक अस्पतालका कामु मेडिकल सुपरिटेन्डेन्ट डा. रामबाबु खड्काले नवनिर्मित भवन मेची प्रादेशिक अस्पताललाई हस्तान्तरण गरेलगत्तै सुरु भएको बर्खाको झरीमै भवनको सघन उपचार कक्षमा पानी चुहिएको बताए ।
उनले मेची प्रादेशिक अस्पतालको नवनिर्मित भवनको सघन उपचार कक्षमा पानी चुहिएको र भवन निर्माणमा थुप्रै प्राविधिक त्रुटि भेटिएको बताए । त्यस्तै मेची प्रादेशिक अस्पताल विकास समितिका अध्यक्ष विश्वनाथ बरालले अविरल वर्षाका कारण मेची प्रादेशिक अस्पतालको नवनिर्मित भवनबाट पानी रसाएर चुहिँदा सघन उपचार कक्षमै पानी पसेको, छतको फाइबर कमसल देखिएको, तीनवटा सेक्सनको छानाको जडानमा पानी चुहिएको बताए ।
उनले मेची प्रादेशिक अस्पतालको नवनिर्मित भवन निर्माणका क्रममा देखिएका त्रुटि र प्राविधिकको संलग्नता सम्बन्धमा छानबिन गरी किन र कसरी यस्तो परिस्थिति सिर्जना भयो ? अविलम्ब जाँच गर्न नेपाल सरकारको सहरी विकास मन्त्रालय र सम्बन्धित निकायलाई आग्रह गरे । उनले भवन उद्घाटन गर्ने तयारी भए पनि प्राविधिक त्रुटि निवारण नभएसम्म त्यस भवनबाट सेवा सञ्चालन गर्न नसकिने जानकारी दिए ।
सघन सहरी तथा भवन निर्माण आयोजना भद्रपुरका आयोजना प्रमुख इन्जिनियर. रुपक आचार्यले मेची प्रादेशिक अस्पतालको नवनिर्मित भवनमा प्राविधिक त्रुटि भेटिएको स्वीकार गर्दै त्यसको निवारणका लागि आवश्यक प्रक्रिया अघि बढाइएको जानकारी दिए । गुनासो आएलगत्तै भवनको अनुगमन गर्दा आईसीयू ब्लक र अर्को एउटा ब्लकमा समेत पानी रसाएर चुहिएको पाइएको बताउँदै उनले पानी चुहिएको ब्लक निर्माण दुई वर्षअघि नै सकिएको र विगतका दुई बर्खामा त्यहाँबाट पानी नचुहिएको दाबी गरे ।
सघन सहरी तथा भवन निर्माण आयोजना भद्रपुरका तर्फबाट निर्माण कम्पनी काठमाडौंको कन्टेन्ट प्रालिलाई प्राविधिक त्रुटि भेटिएकाबारे लिखित प्रष्टीकरण सोध्ने कार्य भइसकेको बताउँदै उनले भुक्तानी रोक्ने निर्णय गरिएको जानकारी दिए । उनले सघन सहरी तथा भवन निर्माण आयोजनाले निर्माण कम्पनी काठमाडौंको कन्टेन्ट प्रालिलाई १५ दिनभित्र ‘स्ट्रक्चरल इन्जिनियरिङ’ प्रतिवेदनसहित जवाफ पेस गर्न भनेको बताए ।
विगत दुई वर्षमा पानी नचुहिएको तर यसवर्ष आईसीयू ब्लक, अर्को ब्लकमा पानी रसाएको बताउँदै उनले सामग्री कमसलबारे ल्याब टेस्ट नगरी भन्न नसकिने जनाए । मेची प्रादेशिक अस्पतालको नवनिर्मित भवनको केही झ्याल ढोका कमजोर देखिएको, जालिखापा उप्किएको, शौचालयका धारा र सेपरेटर हल्लिएको पाइएको बताउँदै उनले भवनको आयु अवधिभरि कुनै समस्या नआउने ग्यारेन्टी चाहियो भनेर निर्माण कम्पनी काठमाडौंको कन्टेन्ट प्रालिलाई पत्र लेखेको र अब त्रुटि नआउने गरी मर्मतसम्भार कसरी गर्नुहुन्छ ? भनेर सोधेको जनाए ।
निर्माणका कम्पनीले भवन निर्माणको ठेक्काबमोजिमको भुक्तानी भने लगिसकेको बताउँदै उनले कम्पनीले धरौटीवापत राखेको डेढ करोड र ‘पर्फर्मेन्स बन्ड’वापत जम्मा गरेको डेढ करोड गरी कुल तीन करोड रकम आयोजनाको बैंक खातामा रहेको जानकारी दिए । आयोजनाले सो रकमको भुक्तानी रोक्काका लागि बैंकसँग पत्राचार गरिसकेको उनले बताए । विसं २०१५ मा बनेको २५ शैयाको अस्पतालको पुरानो भवन जीर्ण र साँघुरो भएपछि आधुनिक र सुविधासम्पन्न भवन निर्माण अघि बढाइएको मेची प्रादेशिक अस्पताल विकास समितिका अध्यक्ष विश्वनाथ बरालले बताए ।
कोशी प्रदेशको दोस्रो ठूलो सरकारी स्वास्थ्य सेवाप्रदायक अस्पतालका रूपमा परिचित मेची प्रादेशिक अस्पताल भद्रपुर नगरपालिका–८ को १२ बिघा सात कट्ठामा फैलिएको छ । अस्पतालमा दैनिक एक हजार बिरामीले ओपिडी र पाँच सयभन्दा बढी विरामीले आकस्मिक सेवा लिइरहेको अस्पतालका सूचना अधिकारी मनोज पोखरेलले बताए ।