स्वास्थ्य सेवा विस्तार गर्दै गाउँपालिका

दमौली– तनहुँको आँबुखैरेनी गाउँपालिकाले यही वर्षदेखि मिर्गौला बिरामीका लागि डायलासिस सेवा सुरु गर्ने भएको छ ।
आँबुखैरेनी गाउँपालिकाभित्र रहेका मिर्गाैला बिरामीका लागि सहज रूपमा डायलासिस गराउने उद्देश्यसहित पालिकाले सेवा सुरु गर्न लागेको हो । त्यसका लागि गाउँपालिकामा तीन थान डायलासिस उपकरण आइपुगेको छ । स्वास्थ्य मन्त्रालयमार्फत् गाउँपालिकालाई तीन थान डायलासिस उपकरण प्राप्त भएको हो । करिब ४३ लाख ९२ हजार बराबरको डायलासिस उपकरण आइपुगेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए ।
गाउँपालिकाले नीति तथा कार्यक्रममै समावेश गरी चालु आर्थिक वर्षबाटै आँबुखैरेनी अस्पतालबाट डायलासिस सेवा दिने घोषणा गरेको थियो । सोहीबमोजिम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेतलगायतको ध्यानाकर्षण गराइएको थियो । सबैको सहयोग र पहलबाट गाउँपालिकालाई डायलासिस उपकरण प्राप्त भएको गाउँपालिकाका अध्यक्ष चुमानले जानकारी दिए ।
उनले भने, ‘लामो समयको प्रयासले सार्थकता पाएको छ, अब यही आर्थिक वर्षभित्रै अस्पतालमा डायलासिस सेवा सुरु हुन्छ ।’ मिर्गौला पीडितका लागि डायलासिसका लागि अन्यत्रै जानुपर्दा दुःख भएपछि गाउँपालिकाले आँबुखैरेनी अस्पतालमा डायलासिस केन्द्र स्थापनाको प्रक्रिया अगाडि बढाएको थियो । गाउँपालिकाको चालु आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमा डायलासिस सेन्टर स्थापना गर्ने उल्लेख गरेको छ ।
गाउँपालिकाभित्र करिब २५ जना मिर्गौला पीडित रहेकाले उनीहरूलाई सहज रूपमा सेवा दिन अस्पतालमा डायलासिस केन्द्र स्थापना गरिने अध्यक्ष चुमानको भनाइ छ । उनले भने, ‘यहाँका मिर्गौला बिरामीहरु भरतपुर, दमौली, पोखरासम्म पुगेर डायलासिस गर्नुपर्ने बाध्यता छ । तैपनि भनेको बेला समय नपाउँदा उहाँहरूलाई निकै दुःख भइरहेको छ ।’ हाल तनहुँमा दमौली अस्पतालमा मात्रै डायलासिस सेन्टर सञ्चालनमा छ । मिर्गाैला पीडितको संख्या बढेसँगै यहाँ सेवा लिनका लागि पालो पर्खनुपर्ने अवस्था छ ।
दमौली अस्पतालमा ११ वटा उपकरण रहेकामा बिग्रिएर हाल चार वटाले मात्रै सेवा दिइरहेको छ । गाउँपालिकाले आँबुखैरेनी अस्पतालको स्तरोन्नतिलाई प्राथमिकतामा राखेको छ । आगामी आर्थिक वर्षमा अस्पतालबाट शल्यक्रिया सेवा सुरु गरिने चुमानले बताए । उनले भने, ‘ठूला शल्यक्रिया गर्नुपरेमा महिना एक पटक विशेषज्ञ चिकित्सक ल्याएर सेवा दिइनेछ । केही शल्यक्रिया भने नियमित रुपमा अस्पतालमै हुनेछ ।’
गाउँपालिकाले जनतासँग स्वास्थ्य कार्यक्रममार्फ्त ज्येष्ठ नागरिकलाई महिनाको एकपटक घरमै पुगेर सेवा प्रदान गर्ने नीति लिएको छ । अध्यक्ष चुमानले महिलाको प्रजनन् स्वास्थ्य, पाठेघर क्यान्सर परीक्षण कार्यक्रमलाई जोड दिइएको बताए । गाउँपालिकाभित्रका सर्वसाधारणलाई क्यान्सर रोग लागेमा ५० हजार आर्थिक सहायता दिने कार्यक्रमलाई आगामी वर्षमा निरन्तरता दिइएको उनले उल्लेख गरे ।