प्रभु र नेपाल इन्स्योरेन्सलाई प्राधिकरणको ताकेता «

प्रभु र नेपाल इन्स्योरेन्सलाई प्राधिकरणको ताकेता

काठमाडौं– नेपाल बीमा प्राधिकरणले प्रभु र नेपाल इन्स्योरेन्सलाई पुँजी वृद्धिको योजना माग गरेको छ । चुक्ता पुँजी बढाउनका लागि ठोस योजना नबनाएका प्रभु र नेपाल इन्स्योरेन्सलाई प्राधिकरणले एक हप्तामा पुँजी बढाउने नीति ल्याउन पत्राचार गरेको हो ।

यी दुई कम्पनीलाई चुक्ता पुँजी बढाउने विषयमा योजना माग गरिएको प्राधिकरणको उच्च स्रोतले बतायो । ‘प्रभु र नेपाल इन्स्योरेन्सलाई पुँजी योजनाका लागि पत्राचार गरिएको छ । एक हप्ता पुँजी वृद्धिको योजना नीति ल्याउन भनिएको छ,’ स्रोतले भन्यो ।

प्रभु र नेपाल इन्स्योरेन्सले चुक्ता पुँजी बढाउन अझै ठोस कदम उठाएका छैनन् । सोही कारण प्राधिकरणले अन्तिम पटक योजना माग गरिएको स्रोतले बतायो । यी दुई कम्पनीले अहिलेसम्म चुक्ता पुँजी साढे २ अर्ब पुर्‍याउन सकेका छैनन् । अब प्राधिकरणको निर्देशन बमोजिम ती दुई कम्पनीले पेस गरेको क्यापिटल प्लानको आधारमा यसबारे थप निर्णय प्राधिकरणले गर्नेछ ।

सम्भवतः उनीहरूलाई आवश्यक समय दिन सकिने विकल्पमा समेत प्राधिकरणमा छलफल भएको छ । ‘एक हप्ताको समय दिएका छौँ । उनीहरूले के कस्तो योजनाहरू ल्याउँछन् थप निर्णय त्यसपछि अघि बढ्छ,’ स्रोतले भन्यो । प्राधिकरणले निर्जीवन बीमा कम्पनीलाई न्यूनतम चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ तोकेको छ ।

तोकिएको पुँजी पुर्‍याउन अधिकांश कम्पनीहरू मर्जरमा गएका छन् । मर्जरपश्चात् पनि नपुगेका कम्पनीहरूले हकप्रद सेयरमार्फत पुँजी वृद्धि गर्दै छन् । केही कम्पनीले बोनस सेयर वितरण गरेरै पुँजी पुर्‍याउन योजनामा छन् । केही दिनअघि मात्रै प्राधिकरणले आठ वटा कम्पनीलाई हकप्रद सेयर जारी गर्न अनुमति पनि दिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्