‘सरकार अधिनायकवादतिर गएको छैन र जाँदैन’ «

‘सरकार अधिनायकवादतिर गएको छैन र जाँदैन’

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार अधिनायकवादतिर नगएको दाबी गरेका छन् । आइतबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारबारे नचाहिने हल्ला चलाइएको भन्दै असन्तुष्टि पनि जनाए ।
जनताको निराशामा टेकेर सरकारबारे नचाहिने हल्ला फैलाइएको उनको भनाइ थियो । “जनताको विश्वास भत्काउने प्रयास गरिँदैछ । कोहीभन्दा कम लोकतन्त्रका लागि संघर्ष गरेर सफलता प्राप्त गरेको होइन हामीले । सरकार अधिनायकवादतिर गएको छैन । हल्ला नगर्दा हुन्छ,” उनले भने ।
त्यस्तै, उनले सुशासन, आर्थिक उन्नति र विकासमा सरकारको ध्यान गएको दाबी गरे । उनले संसदभित्रका शक्तिहरुबीच सहकार्य हुनुपर्नेमा पनि जोड दिए । “संविधान कार्यान्वयनले पूर्णता पाएको छ । चालू अधिवेशनले केही कानुन निर्माण गरिसक्नुपर्नेछ । कानुन छिटो निर्माण गर्नुपर्नेछ । विलम्ब भयो भने जनताले पाउनुपर्ने कुरा रोकिन्छ,” प्रधानमन्त्री ओलीले भने ।
प्रधानमन्त्री ओलीले आगामी निर्वाचनपछि आफूलाई सरकारमा बस्ने मन नभएको बताए । उनले भने, “पद नगएको मान्छे कोही देखेको छैन । राजा, महाराजा, बादशाह, जनप्रतिनिधि सबैको पद कुने न कुनै दिन जान्छ । आगामी निर्वाचनपछि मलाई पनि बस्न मन छैन । त्यसकारण निर्वाचनसम्म धैर्य गर्न म साथीहरुलाई अनुरोध गर्दछु ।”
नेकपा गठनका बेलामा अध्यक्षद्वय ओली र पुष्पकमल दाहालबीच सत्ताको नेतृत्व आधाआधा गर्ने सहमति भएको भनिए पनि पूरै कार्यकाल आफूले सरकार चलाउने ओलीले संकेत गरे । उनले अर्को निर्वाचन गराएर मात्र बाहिरिने सम्बोधनका क्रममा प्रष्ट पारेका छन् । त्यस्तै उनले पूर्व राजाका समर्थकतर्फ संकेत गर्दै केही प्रतिगामी तत्वहरु सडकमा आए भन्दैमा सरकार नतर्सने पनि बताए । ओलीले भने, “जनताले निर्वाचित गरेर सुम्पिएको जिम्मेवारीबाट अहिले सरकार भाग्छ, सरकार काम्यो भन्ने दिवास्वप्न नदेखे हुन्छ । सरकारको आलोचनाका नाममा प्रणाली उल्टाउँछु भनेर सोच्नेहरु उत्साहित नभए हुन्छ, नहौसिए हुन्छ । चिहानमा गएर हड्डी फुकेर त्यो संस्था फर्काउँछु भन्ने नसोचे हुन्छ ।”
प्रधानमन्त्री ओलीले संसदभित्र रहेका राजनीतिक दलहरुबीचको सहकार्यले संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढ बन्ने बताए । ओलीले संसदभित्रका दलहरुबीचको सहकार्यले मात्रै संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढ बन्ने धारणा राखे ।
“संसदभित्रका शक्तिहरूको सहकार्यले व्यवस्थालाई सुदृढ तुल्याउँछ । संसद अवरोधरहित ढंगले क्रियाशील छ । म खुशी व्यक्त गर्न चाहन्छु,” उनले भने । प्रधानमन्त्री ओलीले अहिलेको व्यवस्थामा पुरानो व्यवस्थाका मानिसहरुले पनि गतिविधि गर्न पाउने भन्दै उनीहरुले व्यवस्थालाई कमजोर बनाउन विभिन्न गतिविधिहरु गरिरहेको आरोपसमेत लगाए ।
संघीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर पार्न खोज्ने तत्वप्रति सबैले सजह हुनुपर्नेमा उनले जोड दिए । “संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरेका छौं । यो प्रणाली नयाँ हो । जुन प्रणाली हामीले निर्माण गरेका संविधानले तय गरेको छ । यो नयाँ प्रणाली भएको हुनाले पुराना प्रणालीका सम्बाहकहरु पक्षधरहरु पनि यस देशमा छन् । लोकतन्त्र दमनकारी प्रणाली नभएको हुनाले उनीहरुले पनि खुलेयाम गतिविध गर्न पाउने नै कुरा भयो, पाएका छन्,” ओलीले भने ।
उनले संविधानसम्मत र दायराभित्र सरकार चल्ने प्रष्ट्याउँदै प्रतिगमनतिर जाने, व्यवस्था उल्ट्याउने कुरा सरकारलाई मान्य नहुने बताए ।
प्रधानमन्त्री ओलीले मेलम्ची खानेपानी आयोजनाबाट ठेकेदारमात्र भागेको पनि स्पष्ट पारे । उनले आयोजनाबाट ठेकेदार भागे पनि सरकार भागेजस्तो गरी हल्ला फैलिएको भन्दै असन्तुष्टि व्यक्त गरे । “मेलम्ची खानेपानी आयोजनाबाट ठेकेदारमात्र भागेको हो, सरकार भागेको होइन,” उनले भने । मेलम्ची खानेपानी आयोजना निर्माण ठेक्का लिएको कम्पनी सिएमसीले योजना छोडेर गएकोतर्फ उनको भनाइ लक्षित थियो । त्यस्तै उनले आफूले सरकारको नेतृत्व लिएपछि १४ सय किलोमिटर सडक र ३ सय वटा झोलुंगे पुल बनेको भन्दै काम अघि बढिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्