Logo

असोजबाट मात्र स्याउ टिप्न अनुमति

पोखरा– भदौ दोस्रो साता हुन नपाउँदै मुस्ताङमा उत्पादित स्याउ बजारमा आउने गरे पनि यसपटक असोज पहिलो सातापछि मात्र बजारमा आउने भएको छ । जिल्ला समन्वय समिति मुस्ताङको समन्वयमा मुस्ताङका पाँचवटै पालिकाका प्रमुखसहितको छलफलबाट भदौअघि मुस्ताङमा स्याउ टिप्न प्रतिबन्ध लगाएसँगै असोज पहिलो सातापछि मात्र मुस्ताङको स्याउ बजारमा आउने भएको हो ।

राम्रोसँग पुष्टिन नपाउँदै मुस्ताङका किसानले उत्पादन गरेको स्याउ बजारमा जाने गर्दा स्याउको गुणस्तरमा ह्रास आएको र किसानले उचित मूल्य नपाएकाले उक्त निर्णय गरिएको जिल्ला समन्वय समिति मुस्ताङका प्रमुख माया गुरुङले बताइन् । समितिको गत १९ साउनमा बसेको बैठले उक्त निर्णय गरेको हो । यो वर्ष मुस्ताङमा उत्पादन हुने स्याउको गुणस्तरलाई कायम गर्न भदौअघि स्याउ नटिप्न जिल्लाका पाँचवटै स्थानीय तहका किसानलाई अनुरोध गरिएको छ ।

मुस्ताङमा गोल्डेन डेलिसियस, रेडडेलिसियस, रिचारेड डेलिसियस, रोलय डेलिसियसलगायतका स्याउ खेती हुँदै आएको छ भने २ हजार ५ सयभन्दा माथिको उचाइमा उत्पादन भएको मुस्ताङको स्याउ अन्यभन्दा केही गुणस्तरको हुने स्थानीयले बताएका छन् । मुस्ताङमा उत्पादन हुने स्याउको गुणस्तर असोज दोस्रो साताबाट मात्र हुने हुँदा समितिले गरेको उक्त निर्णय उपयुक्त भएको स्थानीय किसान शान्तिमाया तामाङले बताइन् ।

यसपटक आफूले डेढ लाखको स्याउ बिक्री गर्ने लक्ष्य राखेको बताउँदै उनले असोज १५ पछि मात्र स्याउ टिप्ने योजना रहेको जानकारी दिए । कृषि ज्ञान केन्द्र मुस्ताङका कार्यालय प्रमुख प्रकाश बस्ताकोटीले यसपटक मुस्ताङको स्याउको गुणस्तर कायम गर्दै किसानलाई उचित मूल्य उपलब्ध गराउने उद्देश्यले असोजपछि मात्र स्याउ टिप्न अनुमति दिएको बताए । जलवायु परिवर्तनको कारण यसपटक फूल फुल्ने समयमा पानी परेको कारण परागसेचन हुन नपाएको हुँदा गत वर्षको तुलनामा यो वर्ष स्याउ उत्पादन करिब ४० प्रतिशत घट्न सक्ने आँकलन गरिएको छ ।

मुस्ताङको तल्लो पालिका थासाङ र घरपझोङमा यो वर्ष स्याउ उत्पादनमा कमी आउने उनको दाबी छ । प्रमुख बस्ताकोटीका अनुसार मुस्ताङका अन्य गाउँपालिका बाह्रगाउँ, मुक्तिक्षेत्र, लोमाङथाङ र लो घेकर दामोदरकुण्डमा सामान्य स्याउ उत्पादनमा कमी हुनेछ । यसअघि भदौ दोस्रो साताबाटै मुस्ताङको स्याउ बजारमा लैजाँदा केही अमिलो हुने हुँदा बजारमा मुस्ताङको स्याउको ब्रान्डलाई नकारात्मक प्रभाव पार्न थालेकाले असोजअघि टिप्न नपाउने निर्णय गरिएको उनको भनाइ थियो ।

गत वर्ष मुस्ताङमा ६ हजार ५ सय ९७ टन स्याउ उत्पादन भएको प्रमुख बस्ताकोटीले जनाए । मुस्ताङका स्याउ बगैंचामा राम्ररी नपाक्दै बजार पुर्‍याउने अवस्थाले गुणस्तर र राम्रोसँग त्यसले आकार ग्रहण नगरेको, रस नपस्ने समस्या देखिने गरेको थियो । मुस्ताङका ५ स्थानीय तहमा करिब १ हजार ४ सय ७५ हेक्टर क्षेत्रफलमा स्याउ खेती विस्तार भएको छ । मुस्ताङको स्याउ प्रवद्र्धन गर्न स्थानीय पालिकादेखि गण्डकी प्रदेश सरकार र संघ सरकारले समेत विशेष अनुदानका कार्यक्रम ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्