खाद्य संस्थानले धानको मूल्य कम तोकेको गुनासो किसानले संस्थानलाई धान बेचेनन् «

खाद्य संस्थानले धानको मूल्य कम तोकेको गुनासो किसानले संस्थानलाई धान बेचेनन्

नेपाल खाद्य संस्थानले निकै कम मूल्य तोकेका कारण बाँके र बर्दियाका अधिकांश किसानले संस्थानलाई धान बिक्री गरेका छैनन् । दुई वर्षअघि मोटो धान प्रतिक्विन्टल २ हजार १ सय रुपैयाँमा खरिद गरेको नेपाल खाद्य संस्थानले गत वर्ष २ हजार ५० र यो वर्ष २ हजार ३० रुपैयाँ प्रतिक्विन्टल मूल्य निर्धारण गरेपछि किसानले संस्थानलाई बिक्री नगरेका हुन् ।
बाँके र बर्दियाका अधिकांश किसानले संस्थानले तोकेको भन्दा बढी मूल्य पाएपछि बजारमा नै धान बिक्री गरेको जनाएका छन् । संस्थानले यो वर्ष नेपालगन्जमा २० हजार क्विन्टल र बर्दियाको राजापुरमा ३० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य राखे पनि किसानले बिक्री गर्न नआएपछि लक्ष्यभन्दा निकै कम परिमाणमा मात्र धान खरिद गर्न सकेको छ ।
नेपालन्जमा १३ हजार १ सय र राजापुरमा करिब २ हजार क्विन्टल मात्र धान खरिद गरिएको संस्थानले जनाएको छ । विगतका वर्षहरुमा किसानले कोटा बढाउन माग गर्ने गरेका थिए । तर, यस पटक पाएको कोटाअनुसार पनि संस्थानले धान खरिद गर्न सकेको छैन ।
महँगो बिउ र मल प्रयोग गरेर उब्जाएको धानले उचित मूल्य नपाउँदा किसानले बजारमा गएर धान बिक्री गर्नुपरेको बताएका छन् । सरकारले नै मूल्य कम तोकेपछि किसान निकै मर्कामा परेको भन्दै बाँके नौबस्ताका रामु चौधरीले ५० रुपैयाँ नै भए पनि बजारमा बढी पाएकाले संस्थानमा बिक्री गर्न नगएको बताए । उनले वर्सेनि हरेक वस्तुको मूल्य वृद्धि भए पनि किसानले रगत पसिना बगाएर उब्जाएको धानको मूल्य दुई वर्ष अघिकै हाराहारीमा तोक्नुले सरकारनै किसान विरोधी रहेको पुष्टि गरेको बताए ।
धानको उचित मूल्य निर्धारण गरेर किसानबाट धान खरिद नगर्ने तर व्यापारीहरुबाट महँगो मूल्यमा चामल खरिद गर्ने संस्थानको पुरानो परिपाटी यस वर्ष पनि उस्तै देखिएको जिल्लाका अर्का किसान दिपक शाहले बताए ।

मध्यम र मसिनो धानको मूल्य नतोक्दा झन पीडा
बाँके र बर्दियामा सबैभन्दा बढी उत्पादन हुने मध्यम र मसिनो धानको मूल्य नतोक्दा दुवै जिल्लाका किसानले व्यापारीलाई सस्तो मूल्यमा धान बेच्न बाध्य भएका छन् ।
संस्थानले मध्यम र मसिनो धान खरिद नगर्ने निर्णय गरेर मूल्य नतोेकेका कारण धान उत्पादक किसान मारमा परेको उनीहरुको भनाइ छ । अन्य आम्दानीको स्रोत नभएका किसानले सस्तो मूल्यमै भए पनि मध्यम र मसिनो धानसमेत बिक्री गरेर घर खर्च चलाउनु परेको छ ।
सरकारले धानको मूल्य निर्धारण गरी खाद्य संस्थानमार्फत खरिद गर्दै आए पनि यो वर्ष खाद्य संस्थानले बाँके र बर्दियाका किसानले ठूलो परिमाणमा उत्पादन गर्ने मध्यम र मसिनो धानको मूल्यसम्म निर्धारण नरिदिएकाले किसान मारमा परेको बाँके सीतापुरका अगुवा किसान राजेन्द्र थापाले बताए । खाद्यान्नप्रतिको परनिर्भरता बढिरहेकै बेला धान खेती गर्दै आएका किसानलाई प्रोत्साहित गर्न धानको उचित मूल्य पाउन सक्ने व्यवस्था मिलाउनुपर्ने माग थापाको छ ।

प्रतिक्रिया दिनुहोस्