राजमार्गमा वन्यजन्तुमैत्री ओभरहेड ब्रिज र अन्डरपास बन्ने

आधाभार (बारा)– पर्सा राष्ट्रिय निकुन्ज क्षेत्रभित्र पर्ने राजमार्गको सडकमा वन्यजन्तुमैत्री ओभरहेड ब्रिज र अन्डरपास बन्ने भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत निकुन्ज क्षेत्रभित्र पर्ने ३५ किमि पथलैया–हेटौंडा तथा पथलैया–ढल्केबार (कमला) सडक खण्डमा वन्यजन्तुको सुरक्षाका लागि एक ओभरहेड ब्रिज र पाँच अन्डरपास बन्ने भएको हो ।
निर्माण सुरु हुन लागेको पथलैया–ढल्केबार (कमला) सडक खण्डमा पाँचवटा वन्यजन्तुमैत्री अन्डरपास निर्माण हुने परामर्शदाता कम्पनीका प्रमुख रवि भट्टराईले जितपुरमा भएको सरोकारवालासँगको अन्तरक्रियामा सो जानकारी गराएका हुन् । उनले वन्यजन्तुका कारण हुने सडक दुर्घटना तथा दुर्घटनाबाट वन्यजन्तुलाई जोगाउन निकुन्ज क्षेत्रको सडकमा अध्ययन गरी जनावर बढी आवतजावत हुने क्षेत्रमा डीपीआरअनुसार पाँच अन्डरपास बन्ने बताए ।
विश्व बैंकको तीन अर्बभन्दा बढी ऋण सहायतामा बन्न लागेको पथलैया–ढल्केबार (कमला) १३० किलोमिटर सडक खण्डमा ७६ वटा नयाँ पुलमध्ये पाँचवटा वन्यजन्तुमैत्री अन्डरपास पुल बन्ने डीपीआरमा उल्लेख छ । ‘वन्यजन्तुकै लागि भनेर यसरी दीर्घकालीन योजना नेपालमा यसअघि निर्माण भएको छैन,’ भटराईले भने ,‘एडीबीले निकुञ्ज र वन्यजन्तुको संरक्षण हुने गरी बनाइएको डिजाइनलाई प्राथमिकता दिने हुँदा लागत बढे पनि आवश्यक रहेकाले निर्माण हुने भएको छ ।’
यो संरचना बनेपछि सडकमा गाडी गुडाउन सहज हुने र वन्यजन्तुलाई पनि आफ्नो बासस्थानमा वारपारलगायतका कार्य गर्न स्वतन्त्रता मिल्ने उनको भनाइ छ । गत वर्ष सडक विभागको आयोजना कार्यान्वयन निर्देशनालयले पथलैया–हेटौंडा–नारायणगढ सडकमा पर्ने चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जमा पहिलो पटक नयाँ प्रकारको वन्यजन्तुमैत्री दुई फ्लाइओभर चालु आर्थिक वर्षमा बनाउने जनाएको थियो ।
विगतमा सुरक्षा पक्षलाई ध्यान दिएर ‘क्रसिङ’हरू नराखी विकासे पूर्वाधार बनाइँदा प्राकृतिक विचरणकै क्रममा धेरै जीवजन्तु मृत्युको मुखमा पुगिरहेको पर्सा राष्ट्रिय निकुन्जका प्रमुख संरक्षण अधिकृत अशोक रामले बताए । उनले भने, ‘मान्छेको सहजताका लागि बनेका पूर्वाधार वन्यजन्तुका लागि पासो बन्दा धेरै वन्यजन्तु सडकमै सिकार बन्दैछन्, नयाँ बन्ने तथा बनेकामा पनि सुधार आवश्यक छ ।’
पर्सा राष्ट्रिय निकुन्जको तथ्यांकमा निकुन्जभित्रको राजमार्ग सडकमा सवारी दुर्घटनामा परी १० वर्षको पोथी बाघ, हात्ती, निलगाई, बँदेल, चित्तल, बाँदर, मलस्याप्रो, स्याल र रतुवा गरी ३९ वटा जनावरको मृत्यु भएको उल्लेख छ । सरकारले पूर्वाधारमा वन्यजन्तुलाई अन्डरपास र ओभरपास अनिवार्य गरेसँगै वन्यजन्तुको बासस्थान तथा जैविकमार्गमा बन्ने पूर्वाधार विकासमा फ्लाइओभर पुल र कल्भर्टको मुनिबाट वन्यजन्तु पास गर्न अन्डरपास वा यस्तै पूर्वाधारको माथिबाट ओभरपास संरचना र त्यस्तै किसिमका संरचनाबाट आवतजावत गर्न तथा पानीको स्रोतसम्म पुग्न/निस्कन सक्ने संरचना बनाउनुपर्ने गरी कानुनी व्यवस्था गरेको छ ।
तत्कालीन राजा महेन्द्रले २०१९ मा शिल्यान्यास गरी निर्माण थालेको मुलुकको एकमात्र पूर्व–पश्चिम राष्ट्रिय राजमार्गको एक हजार २८ किलोमिटर सडक खण्डभित्र पर्सा राष्ट्रिय निकुञ्जमा ३५ किमि र चितवन राष्ट्रिय निकुञ्जमा पाँच किमि सडक रहेको छ । बाँके राष्ट्रिय निकुञ्जमा करिब सय किलोमिटर, बर्दिया राष्ट्रिय निकञ्जमा ३० किमि, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आठ किमि सडक सञ्चालनमा रहेको छ ।