अम्रिसोले मूल्य नपाउँदा किसान चिन्तित

तेह्रथुम, २८ माघ: नगदेबालीको रूपमा खेती गर्दै आएको अम्रिसोले मूल्य नपाउँदा पूर्वी जिल्लाका किसान चिन्तित बनेका छन् । तीन वर्षको बीचमा अम्रिसोको मूल्यमा ७५ प्रतिशत गिरावट आएपछि व्यावसायिक अम्रिसो खेती गर्ने किसान चिन्तित बनेका हुन् ।
अम्रिसो खेतीबाट राम्रो आम्दानी लिन थालेसँगै व्यावसायिक खेतीलाई विस्तार गर्दै आएका किसानले २ वर्षदेखि मूल्यमा सुधार नहुँदा बर्सेनि लाखौं रुपैयाँ क्षति बेहोर्दै आउनुपरेको तेह्रथुुम छथरगाउँपालिका–२ हमरजुङका झपटबहादुर कार्कीले बताए । परम्परागत अन्नबाली लगाउने जनशक्ति नभएपछि अम्रिसो खेती गर्न थालेका उनले सुरुका वर्षहरुमा राम्रो आम्दानी गर्दै आएका थिए । अम्रिसोको खेती गर्न खासै मेहेनत गर्नुनपर्ने र सुख्खा जमिनमा खेती गर्न सकिने भएकाले पछिल्ला दिनहरुमा किसान यसको खेतीतर्फ बढी आकर्षित भएका थिए ।
पछिल्लो समयमा अम्रिसोको उत्पादन बढे पनि मूल्य नपाउँदा व्यावसायिक खेती गर्नेहरुलाई निल्नु न ओकल्नु भएको छ । तीन वर्षअघिसम्म प्रतिकिलो १ सय १० रुपैयाँमा बिक्री हुने गरेको अम्रिसोको मूल्य घटेर अहिले २५ रुपैयाँमा झरेको छ । अम्रिसोबाट कुचो बचाउने गरिन्छ । पूर्वी पहाडि जिल्लाका धेरै स्थानमा अम्रिसो खेती हुने गरेको छ ।