मेलम्चीको बाँकी काम फिल्डमै बसेर गर्न निर्देशन «

मेलम्चीको बाँकी काम फिल्डमै बसेर गर्न निर्देशन

खानेपानीमन्त्री बिना मगरले मेलम्ची खानेपानी आयोजनाको बाँकी काम द्रुत गतिमा अघि बढाई निर्धारित समयमै सम्पन्न गर्न आयोजनाका प्रमुखसहितको टीमलाई निर्देशन दिएकी छन् । उनले कर्मचारीहरूलाई आयोजनास्थलमै खट्नसमेत निर्देशन दिइन् ।
मन्त्री मगरको उपस्थितिमा बुधबार सिंहदरबारमा बसेको बैठकले मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक सूर्यराज कँडेलसहितको टीमलाई आयोजनास्थलमै खटेर काम अघि बढाउन निर्देशन दिएकी हुन् । आयोजनाका प्रमुख, समितिका अन्य पदाधिकारी र डिभिजनल इन्जिनियरहरूसहितको टोलीलाई आयोजनास्थलमा खटाउने र आयोजनामा देखिएको अन्योल हटाउँदै अघि बढ्न मन्त्रीले निर्देशन दिएको मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिए ।
मेलम्ची आयोजनाको काम छाडेर हिँडेको ठेकेदार कम्पनी सिएमसीबाट बाँकी भुक्तानी पाउन स्थानीय ठेकेदार तथा भेण्डरहरूले दाबी गरेको रकमको सन्दर्भमा अध्ययन गरी प्रतिवेदन पेश गर्न मन्त्रालयका सहसचिव चन्द्रबहादुर केसीको संयोजकत्वमा एक समिति समेत गठन गरिएको छ । आयोजनाका प्रमुख कँडेलले हेडवक्र्स र सुरुङ फिनिसिङ जस्ता ठूला प्याकेजका कामको ठेक्का सम्झौता गर्ने तयारी अन्तिम चरणमा रहेको जानकारी दिए । अहिले नदी संरक्षण र सुरुङभित्र भेन्टिलेसन साफ्टको काम भइरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्