कार्यान्वयन हुन नसकेका सम्झौता खारेज गर्नुपर्छ : परराष्ट्रमन्त्री ज्ञवाली «

कार्यान्वयन हुन नसकेका सम्झौता खारेज गर्नुपर्छ : परराष्ट्रमन्त्री ज्ञवाली

विनविनको अवस्था बनाएर बढ्नुपर्छ : भारतीय राजदूत पुरी

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल र भारतबीच थाँती रहेका सम्झौता खारेज गरी नयाँ शिराबाट अघि बढ्नुपर्ने बताएका छन् । रिपोर्टर्स क्लब नेपालले बुधबार गरेको ‘नेपाल–भारत सम्बन्धको भविष्य र सम्भावना’ विषयक अन्तक्र्रियामा मन्त्री ज्ञवालीले सम्झौता भएको दशकौंसम्म कार्यान्वयनमा जान नसकेका सम्झौता खारेज गर्नु नै दुवै देशको हितमा रहेको बताए । ‘दशकौं हुँदा पनि केही सम्झौता कार्यान्वयनमा जानुको साटो उल्टो तनावको विषय बन्न गइरहेका छन्,” परराष्ट्रमन्त्री ज्ञवालीले भने, “अब त्यस्ता सम्झौतालाई कि कार्यान्वयन गरौं कि पन्छाऔं ।” पञ्चेश्वर परियोजना, कर्णाली जलविद्युत् आयोजनालगायतका सम्झौतातर्फ संकेत गर्दै उनले कार्यान्वयन या खारेजीको विकल्प रोजेर बढ्नुमा दुवै देशको हित हुने बताए ।
परराष्ट्रमन्त्री ज्ञवालीले भारतले नेपालका लागि उदारभाव देखाउनुपर्ने बताए । नेपाल विश्व महाशक्ति या क्षेत्रीय शक्ति पनि नभएको र बन्ने महत्वाकांक्षा पनि नराखेको भन्दै उनले भने, “हामी समृद्धिको उद्देश्य बोकेर अगाडि बढ्न चाहन्छौं, त्यसका लागि भारतले उदारताका साथ साथ देओस् ।” भारतबाट लगानीको अपेक्षा गरिएको र त्यसले भारतको पनि हित गर्ने उनले बताए । नेपाल र भारतबीच व्यापार घाटा बढिरहँदा नेपाललाई ठूलो नोक्सानी परिरहँदा भारतबाट नेपालमा उद्योग सञ्चालनमा लगानी हुन सके घाटाको समस्या समाधान हुने उनले बताए ।
मन्त्री ज्ञवालीले नेपाल–भारतबीचको संस्कृति जनताले जर्गेना गर्दै आएको भन्दै आगामी दिनमा आर्थिक सम्बन्ध मजबुत र साझेदारसहितको हुनुपर्नेमा जोड दिए । नेपालमात्र भारतसँग निर्भर नभएर भारत पनि नेपालसँग निर्भर रहेको ब्याख्या गर्दै उनले एक अर्काबीचको निर्भरतालाई मनन गरेर आपसी हितमा बढ्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेपालका लागि भारतका राजदूत मञ्जिभसिंह पुरीले नेपाल र भारतबीच विनविनको अवस्था बनाएर विकास र समृद्धिको यात्रामा साझेदारी गर्नुपर्ने बताए । उनले दुई देशबीच विगतमा भएका सन्धी सम्झौताले सार्थक परिणाम हासिल गरेकाले सबैलाई उत्साहित बनाएको बताए । “अब सिधै मोतीहारीबाट अमलेखगन्जमा पाइपलाइनबाट तेल आउँछ, हामी परिणाम हासिल गर्दैछौं,” उनले भने । विराटनगर चेकप्वाइन्ट सुचारु हुन गइरहेको र अरुण तेस्रो जलविद्युत् आयोजना पनि द्रुत गतिमा बढिरहेको उनले बताए । “गेम चेन्जर आयोजनाहरू सफल बनाउँदैछौं,” राजदूत पुरीले भने, “दुई देशबीच विगतमा भएका सम्झौता कार्यान्वयन भई सफल परिणाम हासिल हुँदा सम्बन्ध मजबुत हुनाका साथै उत्साह बढेको छ ।” राजदूत पुरीले भारतको विकास र प्रगतिले नेपाललाई लाभ मिलिरहेको भन्दै दुवै देश मिलेर अघि बढिरहेकोमा खुशी व्यक्त गरे । भारतको नेपालसँग विशेष सम्बन्ध रहेको भन्दै उनले सम्बन्धबाट आर्थिक लाभ लिनसक्ने अवस्था बनेको बताए ।
पूर्वपरराष्ट्रमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. रामशरण महतले नेपाल र भारतबीच अबको सम्बन्ध आर्थिक विकासमा केन्द्रित हुनुपर्नेमा नेपालका राजनीतिक दलहरूमा एकमत रहेको बताए । उनले नेपाली जनता विश्वकै द्रुत आर्थिक वृद्धि हासिल गरिरहेको भारतबाट लाभ लिने आशामा रहेको बताए । भारतीय लगानी बढीभन्दा बढी भित्रिएर रोजगारको अवसर सिर्जना गर्नुपर्नेमा उनले जोड दिए ।
नेता डा. महतले भारतको आर्थिक वृद्धि ७ प्रतिशतको हाराहारीमा भएको अवस्थामा नेपालले भोगिरहेको व्यापार घाटा गम्भीर चुनौती रहेको बताए । व्यापार घाटा घटाउन भारतीय लगानी भित्रिएर उद्योगधन्दा खोलिनुपर्नेमा उनले जोड दिए । नेपालको कच्चा पदार्थ नेपालमै सदुपयोग गर्ने गरी भारतीय लगानी भित्र्याउन सक्नुपर्ने उनको भनाइ थियो ।
पूर्वपरराष्ट्रमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले नेपालप्रति चासो र मायाभाव दर्शाउने नरेन्द्र मोदी भारतको प्रधानमन्त्री हुनु नेपालका लागि प्रगतिको उत्तम अवसर भएको बताए । अवसरलाई खेर फाल्न नहुनेमा उनको जोड थियो । भारतको आर्थिक वृद्धि नेपालका लागि अवसर बनेको लोहनीले बताए । नेपालले भारतबाट लाभ लिनसक्ने जलविद्युत्, कृषि, प्रविधिलगायतका क्षेत्रहरू रहेको भन्दै उनले जलविद्युत् आयोजनाहरू निर्माणमा भारतीय पक्ष अझ चासोका साथ आउनुपर्नेमा जोड दिए । “ठूला जलविद्युत् आयोजनाहरू बन्न सके नेपाल र भारतको आर्थिक विकासमा अझ योगदान पुग्छ,” उनले भने ।

प्रतिक्रिया दिनुहोस्