Logo

अनधिकृत संरचना भत्काउँदै पुनर्वास

महेन्द्रनगर– कञ्चनपुरको पुनर्वास नगरपालिकाले नगरभित्रका अनधिकृत संरचना हटाउन थालेको छ । पुनर्वास नगरपालिकाको मुख्य बजार आईबीआरडी सडक आसपास अतिक्रमण गरी बनाइएका संरचना भत्काउन लागेको हो ।

नगरपालिकाले सडक फराकिलो बनाउने योजनासहित नगरप्रमुख तोयप्रसाद शर्माले नगरका प्रमुख प्रशासकीय अधिकृत गणेश सिंह ऐर, योजना अधिकृत शंकर बोगटी, प्रविधिक प्रकाश सुवेदीलगायतको टिमसँग छलफल गरी सडक आसपास अतिक्रमण गरी बनाइएका संरचना भत्काउन निर्देशन दिएका थिए ।

त्यसैगरी नगर प्रमुख तोयप्रसाद शर्माको निर्देशनसँगै उक्त नगरपालिकाले सडक क्षेत्रमा परेका संरचना हटाउन थालेको छ । नगरपालिकाले आईबीआरडी क्षेत्रको बाटो नापजाँच र सीमांकन भइसकेको सडक क्षेत्राधिकारभित्रका सम्पूर्ण संरचना हटाउन २०८० वैशाख १७ गते ३५ दिने पहिलो सूचना जारी गरेको थियो ।

उक्त सूचना पश्चात कुनै पनि घरधनीले नहटाएपछि जेठ २२ गते ७ दिने अन्तिम सूचना सार्वजनिक गर्दा पनि समाधान नभएपछि डोजर चलाउन बाध्य भएको नगरपालिकाका योजना अधिकृत शंकर बोगटीले बताए । अहिले बजार क्षेत्रमा सडकको दायाँबायाँ ६/६ मिटर क्षेत्राधिकारभित्र पर्ने भौतिक संरचना जेठ मसान्तसम्म हटाइसक्न सूचना जारी गरिएको भएता पनि उक्त संरचना हटाउन अटेर गरेपछि नगर प्रमुख शर्माले सडकमा डोजर लिएर निस्केका हुन् ।

नगरपालिकाले पुनर्वास नगरपालिकाको पुरानो भवनदेखि पश्चिम एनसीएल चोकसम्म भत्काउन सुरु गरेको थियो । सडक चौडा बनाउन केही घरधनीले नगरपालिकाको प्राविधिक सहयोगमा आफैं संरचना हटाइसकेको नगरपालिकाको प्राविधिक शाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्