Logo

सौराहामा एक अर्बको सिद्धार्थ भिलासा वनबास

काठमाडौं– सिद्धार्थ हस्पिटालिटीले चितवनको सौराहामा लक्जरी रिसोर्ट ‘सिद्धार्थ भिलासा वनबास’ दसैंअगाडि सञ्चालनमा ल्याउने भएको छ । ‘भिलासा’ सिद्धार्थ ग्रुपको लक्जरी ब्राण्ड हो । सिद्धार्थ बुटिक होटल बौद्धमा आयोजना गरिएको ‘फेस टु फेस’ कार्यक्रममा पर्यटन व्यवसायीहरूसँग बोल्दै सिद्धार्थ ग्रुपका अध्यक्ष लक्ष्मण न्यौपानेले नयाँ होटलबारे जानकारी दिएका हुन् ।

स्थानीय व्यवसायी वासु ढुंगानाले निर्माण गरेको रिसोर्टमा सिद्धार्थ ग्रुपले लगानीसहित व्यवस्थापनको जिम्मेवारी लिएको छ । रिसोर्टमा २२ भिल्लाका ३४ रुम छन् । ‘बर्ड वाचिङ’ थिमलाई प्राथमिकता दिइएको रिसोर्टका कोठाहरू चराको नामबाट नामकरण गरिएका छन् । रिसोर्ट ४ बिघा क्षेत्रफलमा फैलिएको छ । पाहुनाले रिसोर्ट परिसरकै तलाउमा ‘फिसिङ’ पनि गर्न सक्नेछन् । सौराहाको हात्तीसार नजिकै भएकाले कोठाबाटै हात्ती देख्न सकिन्छ ।

चितवन राष्ट्रिय निकुञ्जको नजिकै रहेको रिसोर्टले जिप सफारी, हात्ती सफारी, बोट सफारीलगायत गतिविधि पनि गराउने छ । रिसोर्टमा स्विमिङ पुल, मसाजसहितको स्पा पनि रहनेछ । रिसोर्ट निर्माणमा करिब एक अर्ब लगानीको अनुमान गरिएको न्यौपानेले जानकारी दिए । लक्ष्मण न्यौपानेले भारतको रोजगारीबाट फर्केर २५ वर्षअघि कैलालीको टीकापुरमा सानो व्यवसायबाट सुरु गरेको व्यवसाय अहिले विस्तार भएर देशैभर फैलिएको छ ।

यसअघि ग्रुपले आफ्नो २५औं वर्षगाँठ पारेर भैरहवामा साढे दुई अर्ब रूपैयाँ लगानीमा पहिलो पाँचतारे होटल सिद्धार्थ भिलासा सञ्चालनमा ल्याएको थियो । भैरहवाको अञ्चलपुरमा रहेको यो होटल करिब ५ बिघा क्षेत्रफलमा फैलिएको ग्रुपका सीईओ कृष्ण न्यौपानेले बताए । सिद्धार्थ हस्पिटालिटीले जुम्ला र इलाममा ‘एग्रो टुरिजम’ थिममा लक्जरी रिसोर्ट निर्माणको तयारीसमेत गरिरहेको छ । जुम्लामा स्याउ बगानसहितको लक्जरी रिसोर्ट र इलामको चिया बगानभित्र लक्जरी रिसोर्ट निर्माण तयारी गरिएको न्यौपानेले जानकारी दिए ।

ग्रुपले नेपालगञ्ज र सुर्खेतमा चार तारे सिद्धार्थ होटल तथा चन्द्रौटामा लक्जरी रिसोर्ट ‘सिद्धार्थ लुम्बिनी ग्रिन रिसोर्ट’ सञ्चालन गरिरहेको छ । चिसापानीको सिद्धार्थ रिसोर्ट, पृथ्वी राजमार्गस्थित चुम्लिङटारको सिद्धार्थ रिभरसाइड रिसोर्ट रहेका छन् । बौद्धको सिद्धार्थ बुटिक होटल, बिर्तामोडको चार तारे सिद्धार्थ होटल ग्राण्ड सिटी, नुवाकोटको सिद्धार्थ होटल वाटर टावर, टीकापुरको होटल सिद्धार्थ, सुन्धाराको होटल सिद्धार्थ यसै ग्रुपअन्तर्गतका होटल हुन् ।

बुटवल, नेपालगञ्ज, तीनकुने, घोबिघाट र पुरानो बानेश्वरमा सिद्धार्थ कटेज सञ्चालनमा छन् । ग्रुपले महाराजगञ्जमा दुई वटा तथा तीनकुने र नेपालगञ्जमा एक–एक वटा गरी ४ वटा एस क्याफेको आउटलेट सञ्चालन ल्याएको छ । सिद्धार्थ हस्पिटालिटीमा दुई हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्