५६ लाख रुपैयाँसहित चार हुण्डी कारोबारी पक्राउ «

५६ लाख रुपैयाँसहित चार हुण्डी कारोबारी पक्राउ

पर्सा प्रहरीले ५६ लाख रुपैयाँभन्दा बढी हुण्डीको रकमसहित चार जनालाई पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिकाको लिंक रोडस्थित दक्षिणकाली अटो पाट्र्सबाट प्रहरीले ५६ लाख ६४ हजार २ सय ९ रुपैयाँसहित चार जनालाई आइतबार पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा दक्षिणकाली अटो पाट्र्स रहेको भवनका धनी राजेश रौनियार, भारत रक्सोलका रितेश अग्रवाल (गुप्ता), उनका कार्यालय सहयोगी बिमित अग्रवाल र मनोज पटेल छन् । हुण्डीको कारोबार भइरहेको सूचनाका आधारमा सादा पोसाकमा खटिएका प्रहरीले उनीहरूलाई पक्राउ गरेका हुन् ।
पक्रा परेकामध्ये रितेश अग्रवाल, उनका सहयोगी विमित अग्रवाल र घरधनी राजेश रौनियार हुण्डीका मुख्य कारोबार भएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमध्येका मनोज पटेलको भने वीरगन्ज महानगरपालिका–२२ मा मनि एक्सचेञ्ज छ । उनीसँगै मनी एक्सचेञ्जको कारोबार गर्ने टुना पण्डित भन्ने व्यक्तिलाई भने प्रहरीले छोडिदिएको छ । हुण्डी कारोबारमा पक्राउ परेको खबर पुग्ने बित्तिकै राजनीतिक दबाबमा पण्डितलाई छाडिएको प्रहरी स्रोतले जनाएको छ ।
प्रहरीले हुण्डी कारोबारमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानमा देखिएको दाबी गरे पनि पक्राउ परेका मनोज पटेल प्रहरीले छापा मारेको स्थानमा हेर्न गएको बताइएको छ । प्रहरीले दक्षिणकाली अटो पार्टसमा छापामारी गरेको सुनेपछि हेर्न गएका मनोजको मोबाइलमा फोन आएको र प्रहरीले कुरा नगर्नभन्दा विवाद गरेपछि पक्राउ परेको प्रत्यक्षदर्शीले जनाएका छन् ।
हुण्डीको रकमसहित विभिन्न ६ वटा वाणिज्य बैंकका ३२ वटा चेक बुक, ६ वटा मोबाइललगायत २ बोरा कागजपत्रसमेत बरामद भएको पर्साका प्रहरी उपरीक्षक डा. गणेश रेग्मीले जानकारी दिए । उनले चार जनालाई पक्राउ गरिएको र अनुसन्धानपछि त्यसमा संलग्न अन्य व्यक्तिलाई पनि पक्राउ गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्