क्यानको छात्रवृत्तिका लागि आवेदन खुला

काठमाडौं– कम्प्युटर एशोसियसन नेपाल महासंघले प्राविधिक शिक्षातर्फ विगत चार वर्षदेखि प्रदान गर्दै आएको ‘नेसनल आईसीटी स्कलरसिप– २०८०’ को आवेदन खुला गरेको छ ।
‘नेसनल आईसीटी स्कलरसिप– २०८०’ मा देशको सातै प्रदेशका विद्यार्थीले समान अवसर पाउने गरी सात प्रदेशबाट १/१ जना छात्रालाई पूर्ण छात्रवृत्ति र बाँकी सम्पूर्ण प्रदेशबाट ४२ जनालाई आंशिक छात्रवृत्ति प्रदान गरिने बताइएको छ । चार वर्षदेखि सञ्चालित यस छात्रवृत्ति कार्यक्रम अन्तरगत हालसम्म ११० जना विद्यार्थी अध्ययनरत छन् ।
यो वर्ष पनि फिमेल मेरिट आईसीटी स्कलरसिपमा प्रत्येक प्रदेशबाट चार जनाका दरले २८ जना छात्रालाई छात्रवृत्ति प्रदान गरिनेछ भने आईसीटी मेरिट स्कलरसिप अन्तर्गत प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१ जनालाई छात्रवृत्ति प्रदान गरिने बताइएको छ ।