Logo

पोखराका मुख्य सडक क्षेत्रमा खाल्डाखुल्डी

मर्मतमा ५० प्रतिशत बजेट कटौती

पोखरा– गण्डकी प्रदेश राजधानी पोखरामा यतिबेला खाल्डाखुल्डीले सहरको सुन्दरतामा प्रश्न चिन्ह खडा भएको छ । हिजोआज पोखराको सडकका मुख्य चोकदेखि भित्री सडकमा खाल्डाखुल्डी हुँदा सामाजिक सञ्जालमा निकै टीका टिप्पणी हुन थालेको छ ।

विभिन्न राजमार्गअन्तर्गत पर्ने सडक क्षेत्रमा सडक डिभिजन कार्यालय र महानगरभित्रको क्षेत्रमा पोखरा महानगरले उक्त सडक मर्मत संहार गर्ने जिम्मा रहे पनि भदौको पहिलो साता बित्दासम्म पोखरा क्षेत्रमा देखिएको खाल्डाखुल्डी मर्मत संहारमा कसैले चासो नदिए पछि सामाजिक सञ्जालमा यस विषयमा टीका टिप्पणी सुरु भएको हो ।

सामाजिक सञ्जालमा पोखरा महानगरपालिकालाई व्याङ्य गर्दै खाल्डाखुल्डी तत्काल मर्मत संहार गर्न माग गरे पनि महानगरले भने तत्काल मर्मत संहार गर्ने शंकेत देखाएको छैन । हिजोआज निरन्तर वर्षा भइरहेकाले त्यसतर्फ कुनै निकायको ध्यान पुगेको छैन । यस विषयमा पोखरा महानगरपालिकाका प्रवक्ता मोतीलाल तिम्सिनाले अघिल्लो वर्ष तीन चरणमा सडकमा परेका खाल्डाखुल्डी मर्मत संहार रिसेलिङ गरेको बताए ।

पोखरामा केही ठाउँमा भएको खाल्डाखुल्डी अबको केही समयपछि त्यसको मर्मत संहार गर्ने योजनामा रहेको उनले सुनाए । वर्षाद्को समयमा पोखरामा अस्वाभाविक रूपमा खाल्डाखुल्डी पर्ने गरेको प्रवक्त तिम्सिनाले बनाए । गत वर्ष करिब १५ करोड जसो पोखरा क्षेत्रको सडक मर्मत संहार गर्ने बजेट विनियोजन भए पनि चालु आर्थिक वर्षमा भने करिब ५० प्रतिशत बजेट कटौती भएको गुनासो गरे ।

महानगरका पूर्वाधार विकास महाशाखा प्रमुख इन्जिनियर सुरेन्द्र पाण्डेले यस चालु आर्थिक वर्षमा पोखरा क्षेत्रको सडक मर्मत संहार गर्ने शीर्षकमा आठ करोड बजेट विनियोजन भएको बताए । यस वर्ष महानगरको बजेट नै घटेका कारण कम बजेट विनियोजन भएको उनले जनाए । चालु आर्थिक वर्षमा पूर्वाधार विकासमा महानगरको बजेट दुई अर्ब १० करोड रहेको छ भने अघिल्लो वर्षमा चार अर्ब २७ करोड रहेको महानगरले जनाएको छ ।

पोखराका शिवराज बस्ताकोटीले पोखराको पृथ्वीचोक, अम्मरसिंहचोक लगायतका सडकमा परेको खाल्डाखुल्डी मर्मत संहार गर्न आह्वान गर्दै आफ्नो फेसबुक स्टाटस् लेख्दै आएका छन् । सडक यातायातसम्बन्धी बढी चासो राख्ने पत्रकारसमेत रहेका बस्ताकोटीले पोखराको एउटा मुख्य चोक अमरसिंह चोकको सडकको अवस्था भनेर सडकमा खाल्डा परेको र पानी जमेको फोटो फेसबुकमा राखेका छन् ।

हाल सडकमा देखिएको समस्या समाधान होस् भनेर खबरदारी गरेको उल्लेख गर्दै जनप्रतिनिधिले विरोध नसम्झन आग्रह गर्दै आवश्यक परे सहकार्य गर्न तयार भएको जनाए । पोखराका नागरिक समाजका एक अगुवा रामबहादुर पौडेलले सुरक्षित सडकका लागि नागरिक खबरदारी भन्दै आफ्नो फेसबुक स्टाटस्मार्फत् ड्यामसाइटदेखि गण्डकी प्रदेशका मुख्यमन्त्रीको सरकारी निवास प्रवेश गर्ने सानो गल्लीमा राष्ट्र बैंक चोकदेखि १०० मिटर दक्षिण स्ल्याब फुटेका कारण नागरिकलाई सास्ती भएको छ भनेर खबरदारी गरेका छन् ।

साथै उनले आवश्यक पहलका लागि वडाका जनप्रतिनिधिको गम्भीर ध्यानाकर्षणसमेत गराए । पोखराका व्यस्त बजारदेखि पोखराका विभिन्न भित्री सडकमा समेत खाल्डाखुल्डी हुँदा सडक दुर्घटनाको जोखिम बढेको उनले दाबी गरे । बस्ताकोटी, पौडेलका यी दुई उदाहरणमात्र हुन् जनताले सडकमा हाल परेको खाल्डाखुल्डीले गर्दा सास्ती भोग्नु परेको धेरै चर्चा परिचर्चा गर्न थालेका छन् ।

पोखराको व्यस्त बजार पृथ्वीचोक, महेन्द्रपुल, नयाँबजार, पार्दीविरौटा, अम्मर सिंहचोक, बगरलगायतका सडकसहित भित्री धेरै सडकमा यतिबेला खाल्डाखुल्डीले गर्दा सडकमै पानीपानी हुने जसले गर्दा यात्रुलाई समेत सास्ती भोग्नु परेको छ । सडकमा खाल्डाखुल्डी हुँदा कहिले काहीँ सवारी साधनलाई खाल्डा जोगाउन खोज्दा अर्को सवारी साधनसंँग ठोकिने, यात्रुलाई हिलो पानी छ्यापिने उत्तिकै जोखिम हुने सवारी चालकको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्