Logo

प्याजको मूल्य दोब्बर बढ्यो

बिर्तामोड- झापामा प्याजको मूल्य दोब्बरले बढेको छ । भारतले प्याज निर्यातमा ४० प्रतिशत कर लगाएपछि प्याजको मूल्य दोब्बरभन्दा बढी वृद्धि भएको हो । केही दिनअघि ४० रुपैयाँ प्रतिकिलो रहेको प्याजको मूल्य अहिले ८० देखि सय रुपैयाँ प्रतिकिलोसम्म पुगेको छ ।

गत शुक्रबार बिर्तामोडको कृषि थोक बजारमा प्याजको थोक मूल्य ७० देखि ७५ रुपैयाँ प्रतिकिलो थियो भने खुद्रा मूल्य ८० देखि सय रुपैयाँ प्रतिकिलोसम्म पुगेको कृषि थोक बजारकी बजार निरीक्षक माया राजवंशीले बताइन् । उनले शुक्रबार प्याजको थोक मूल्य प्रतिकिलो ७० देखि ७५ रुपैयाँ र खुद्रा मूल्य ८० देखि सय रुपैयाँ प्रतिकिलो रहेको जानकारी दिइन् । भारतले निर्यातमा ४० प्रतिशत कर लगाएपछि भदौ ५ देखि नेपाली बजारमा प्याजको मूल्य बढेको उनले बताइन् ।

केही दिनअघि १५–१६ भारतीय रुपैयाँ पर्ने प्याज अहिले भारतमा ३०–३१ रुपैयाँ पुगेको बिर्तामोडका व्यवसायी लक्ष्मणकुमार शाहले बताए । भारतको पटनाबाट प्याज आयात गर्दै आएका बिर्तामोडका लक्ष्मणकुमार शाहले भारतमा भएको मूल्यवृद्धि, भारतीय सरकारले लगाएको ४० प्रतिशत निर्यात कर र नेपालको विभिन्न करले गर्दा प्याजको मूल्य अकासिएको बताए । उनले पटनामा रातो प्याज प्रतिकिलो ३३ रुपैयाँ पर्ने गरेको बताउँदै त्यसको ढुवानी खर्च प्रतिकिलो २ रुपैयाँसँगै ४० प्रतिशत निर्यात कर तिर्नुपरिरहेको जानकारी दिए ।

त्यस्तै नेपालतर्फ ९ प्रतिशत भन्सार शुल्क, १३ प्रतिशत भ्याट र डेढ प्रतिशत एआइटी कर तिर्नुपरेको उनले जानकारी दिए । भारतले लिने गरेको ४० प्रतिशत निर्यात करसँगै नेपाल सरकारलाई आफूहरूले २३ प्रतिशत कर बुझाउनुपरिरहेको बिर्तामोडका व्यवसायी त्रिलोक शाहले बताए । भारतले लिन थालेको ४० प्रतिशत निर्यात कर घटाउन नेपाल सरकारले पहल गरिरहेकाले प्याजको मूल्य घट्न सक्ने उनले विश्वास व्यक्त गरे । झापामा थोरै मात्र प्याज खेती हुने गरेको कृषि ज्ञान केन्द्र, झापाका निमित्त प्रमुख चेतराज भण्डारीले बताए ।

झापामा आर्थिक वर्ष २०७९/०८० मा २.५८ हेक्टरमा प्याज खेती भएको र ५ हजार १ सय ९० मेट्रिक टन प्याज उत्पादन भएको उनले बताए । बिर्तामोडको कृषि थोक बजारमा दैनिक २५ देखि ३० टन प्याज भित्रिने गरेको उनले बताए । पूर्वी नाका काँकडभिट्टा हुँदै व्यवसायीले प्याज भित्र्याउने गरेको बताउँदै उनले नेपालमा कम मात्रामा प्याज उत्पादन हुने र अधिकांश प्याज भारतबाट आउने भएकाले भारतले निर्यात कर लगाए पनि र मूल्य वृद्धि गरे पनि महँगो मूल्यमा नेपाली उपभोक्ता प्याज खरिद गर्न बाध्य भएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्