‘बैंकले ऋण दिएन भन्नु गलत हो’ «

‘बैंकले ऋण दिएन भन्नु गलत हो’

सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुयोग श्रेष्ठ विकास बैंकहरूको साझा संस्था डेभलपमेन्ट बैंकर्स एशोसिएसन, नेपालको अध्यक्ष छन् । बैंकिङ करिअरमा लामो समय व्यतित गरेका अनुभवी बैंकरको रुपमा उनी परिचित छन् । उनी करिब ५० वर्षअघि संखुवासभाको चैनपुरमा जन्मिएका थिए । सन् २००० मा हिमालयन बैंकबाट जुनियर अफिसर स्तरबाट बैंकिङ करिअर सुरू गरेका श्रेष्ठले सो बैंकमा इन्टर्नल अडिट डिपार्टमेन्ट हेडसम्मको जिम्मेवारी सम्हालेका थिए ।

त्यसपछि तत्कालीन नेपाल इन्भेष्टमेन्ट बैंकमा सहायक प्रबन्धक हुँदै प्रबन्धक तहसम्मको जिम्मेवारी सम्हालेका थिए । यस्तै सन् २००९ मा तत्कालीन भिवोर डेभलपमेन्ट बैंकमा वरिष्ठ प्रबन्धक पदमा समेत काम गरेका श्रेष्ठले तत्कालीन एस डेभलपमेन्ट बैंकको सहायक महाप्रबन्धक, निमित्त प्रमुख कार्यकारी हुँदै प्रमुख कार्यकारी अधिकृतसम्मको जिम्मेवारी सम्हालेका थिए । विभिन्न वाणिज्य एवम् विकास बैंकको जिम्मेवारपूर्ण पदमा रही लामो बैंकिङ अनुभव हासिल गरेका उनी २०७५ भदौदेखि सांग्रिला डेभलपमेन्ट बैंकमा प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा छन् ।

बैंकिङ क्षेत्रमा लामो अनुभव संगालेका श्रेष्ठ अहिले नेपालको बैंकिङ क्षेत्र चुनौतीपूर्ण अवस्थामा रहेको विश्लेषण गर्छन् । यसबाहेक २०७९ चैतदेखि उनी विकास बैंकहरूको छाता संगठन डेभपलमेन्ट बैंकर्स एसोसियसनको अध्यक्षको रुपमा उनले जिम्मेवारी सम्हालिरहेका छन् । बैंकहरूको खराब कर्जा बढ्दै गएको, ऋण असुलीमा समस्या भएको तथा उच्च ब्याजदरका कारण पनि अहिले बैंकिङ क्षेत्र चुनौतीपूर्ण रहेको उनको विश्लेषण छ । यसबाहेक अर्थतन्त्रमा अहिले आएको सुस्ततालगायतका कारण बैंकिङ क्षेत्र चुनौतीपूर्ण रहेको उनको बुझाइ छ ।

पछिल्लो समय बैंकिङ क्षेत्रबाट जनशक्ति पलायल हुँदै गएकोप्रति अध्यक्ष श्रेष्ठको चिन्ता छ । आजभन्दा २०/२२ वर्षअघि बैंकिङ क्षेत्रमा रहेको चार्म अहिले खस्कँदै गएको उनी बताउँछन् । यसले भविष्यमा समग्र राष्ट्रलाई नै हानी हुन सक्ने उनको चिन्ता छ । प्रस्तुत छ, डेभलपमेन्ट बैंकर्स एशोसिएसनका अध्यक्ष एवम् सांग्रिला बैंकका सीईओ सुयोग श्रेष्ठसँग कारोबारकर्मी परिवर्तन देवकोटाले गरेको कुराकानीको सम्पादित अंश:

अहिलेको नेपालको बैंकिङलाई कसरी हेरिरहनुभएको छ ?

अहिले नेपालको बैंकिङ क्षेत्र रमाइलो मोडमा छ । पहिलेको भन्दा सर्वसाधारण पनि बुझ्ने भएका छन् । कहिलेकाँही थोरै बुझ्दा बेफाइदा पनि हुने रहेछ । सबै बुझेको हिसाबले कुराकानी त हुन्छ, तर त्यस्तो पनि होइन रहेछ । अहिले नेपालको बैंकिङमा कुनै एउटामात्रै सूचकलाई हेरेर कुरा गर्दा अलिक गाह्रो हुन्छ । आजको दिनमा नेपालको बैंकिङमा हेर्ने हो भने बैंकसँग प्रशस्तै तरलता छ । तर पनि किन बैंकले ऋण दिएका छैनन् भन्ने भाष्य सिर्जना भएको छ, प्रश्न गर्ने गरिएको छ । कर्जा विस्तार नहुनुमा बैंक मात्रै कारण पक्कै पनि होइन नी ।

हिजोअस्ति जहिले कर्जाको माग थियो, त्यतिखेर तरलता कम थियो । तर आजको अवस्था त्यस्तो होइन । यसमा कर्जा गएन भन्नु सही भएपनि बैंकले ऋण दिएन भन्नु गलत हो । नेपालको बैंकिङ क्षेत्रमा बस्दा अर्थतन्त्र बुझेर बसेका धेरै कम छौँ । त्यसकारण मैले अहिले रमाइलो मोडमा छ किन भने चुनौतीहरू धेरै छन् । अर्थतन्त्रको अवस्था त्यति राम्रो छैन, अर्थतन्त्र राम्रो नहुँदा आर्थिक गतिविधि हुँदैन जसले कर्जा माग हुँदैन । गत आवमा मात्रै ३.८ प्रतिशत कर्जा वृद्धि भयो । जबकी लक्ष्य १२ प्रतिशतभन्दा माथि थियो ।

करिब एक वर्षअघि बैंकलाई तरलतामा निकै गाह्रो थियो, निजी क्षेत्रले ऋण माग्दा पाएका थिएनन् । अहिले बैंकमा तरलता छ, कर्जाको माग नै छैन । तरलतामा यस किसिमको उतारचढाव किन देखिन्छ ?

एउटा केही समयमा तरलता संकट भएको थियो । करिब २ वर्षअघि रेमिटेन्स त्यति राम्रो थिएन । अहिले रेमिटेन्स डलरमा नै राम्रो वृद्धि भयो । यसले पनि तरलतामा केही सहज बनाएको छ । यसबाहेक अर्थतन्त्रमा अप्ठ्यारो देखिन थालेपछि सरकार र राष्ट्र बैंकले आयातमा केही कडाइ गरे । यसले गर्दा तरलता सुधार हुन पुगेको हो । तर, हाम्रो सानै बजार भएपनि तरलता फेरि कहाँ हराउँछ भन्ने थाहै हुँदैन ।

मौद्रिक नीतिले ११.५ प्रतिशतको कर्जा वृद्धिको लक्ष्य लिएको छ । त्यो भनेको करिब ५ खर्ब हाराहारी हुन्छ । ठूला वा मेगा परियोजना बन्ने भयो भने त्यो लक्ष्य धेरै ठूलो होइन । भोलि त्यस्ता मेगा परियोजना आउँछन् कि आउँदैनन् र कर्जाको माग हुन्छ कि हुँदैन भन्ने प्रश्न खडा हुन्छ । यसरी आएमा अहिले सहज देखिएको तरलतामा फेरि केही तलमाथि पर्ने वा रिभर्स लाने अवस्थामा हामी रहन्छौँ ।

अहिले तरलता पनि राम्रै छ, ब्याजदर पनि घट्दो क्रममा छ भनिन्छ तर पनि कर्जाको माग हुन सकेको छैन, यो अवस्थालाई कसरी हेर्ने ?

हामी सबैको चाहना एकदमै अप्टिमम् लेभलमा बस्न पाए हुने भन्ने हो । यहाँ अप्टिमम् भनेको ८८ प्रतिशत सीडी रेसियोको हाराहारीमा हो । राष्ट्र बैंकले ९० प्रतिशतसम्म सीडी रेसियो कायम राख्ने व्यवस्था गरेको छ । नाफा अधिकतम पाउनका लागि पनि ८८ प्रतिशतको चाहना हुन्छ । तर सधैं आफूले चाहेको जस्तो हुँदैन । हामीले जस्तै निजी क्षेत्रका उद्योगी व्यवसायीले पनि नाफा अधिकतम कमाउने चाहना पक्कै राख्नुभएको हुन्छ । उहाँहरूले अहिले एकल अंकको ब्याजदरको माग गरिरहनुभएको छ ।

एकल अंकको कर्जाको माग गर्दै गर्दा निक्षेपको ब्याज कति हुन्छ भनेर पनि हेर्नुपर्छ । हाम्रा ग्राहक ऋणीमात्र नभई बचतकर्ता पनि हुन् । बचतकर्तालाई पनि हामीले हेर्नुपर्छ । मुद्रास्फीति ७.४४ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । मुद्रास्फीतिको तुलनामा केही बढी त बचतकर्तालाई दिनुपर्ने हुन्छ । ९ प्रतिशतमा कर्जाको ब्याज सीमित भयो भने निक्षेपको ब्याज कति त ? ४/५ प्रतिशत ? यसो हुँदा बचतकर्तालाई न्याय हुन्छ त ? यसमा पनि ध्यान दिनुपर्छ । बैंकले बचतकर्ता र ऋणी दुवैलाई विचार गरेर अगाडि बढ्नुपर्ने हुन्छ । अब ब्याजदरको घट्दो ट्रेण्ड भन्ने कुरा पनि रमाइलो नै छ ।

केही महिना घट्दो देखिएपनि फेरि अहिलेको बढ्दो ट्रेण्डले निरन्तरता पायो भने ब्याजदर फेरि बढ्छ । हामी कस्तो सानो बजारमा छौँ भने २ वा ३ वटा वाणिज्य बैंकले बचतको ब्याजदर बढाए भने अरु सबै बैंकले बढाउनुपर्ने बाध्यता सिर्जना हुन्छ । यी सबै कुरालाई विचार गर्ने हो भने एकल अंकको कर्जाको ब्याजदरको कुरा अलि राम्रो हुँदैन । हाम्रो केही प्रणाली उल्टो जस्तो देखिन्छ । हामी आयात निरुत्साहन र निर्यात प्रोत्साहन वा वृद्धिको कुरा गर्छौँ । तर सबैभन्दा सस्तोमा ट्रेडिङलाई राख्छौँ । धेरै वर्षअघि ‘ट्रेट रिसिप्ट (टिआर) लोन साढे ५, ६ प्रतिशतसम्ममा पाइन्थ्यो ।

त्यतिबेला हाम्रो ब्याजदर घट्दो ट्रेण्डमा थियो भने भारतमा बढ्दो थियो । त्यतिबेला एकदमै बढी पुँजी पलायन (क्यापिटल फ्लाइट) भएको थियो । यहाँबाट साढे ५ प्रतिशतमा टिआर लोन लिने र भारतमा ९ प्रतिशतमा बचत गर्ने अवस्था थियो । हामीले यसलाई बिर्सनु हुँदैन । खाली आफ्नै मात्र स्वार्थ हेर्नु हुँदैन । सबै पक्षलाई विचार गर्नुपर्छ । एकल अंकको ब्याजदरको कुरा गर्नु अगाडि यसले कता कतासम्म असर गर्न सक्छ भन्ने विचार गर्नुपर्छ । त्यसबाट मात्रै हामीलाई आवश्यक ब्याजदरको अवस्थामा चर्चा गर्न सक्छौँ ।

समग्र बैंकिङ पछि अब विकास बैंकहरूको कुरा गरौँ । विकास बैंकहरूले आफ्नो भूमिका बिर्सने गरेको गुनासो कहिलेकाँही सुनिन्छ, त्यस्तै भएको हो ?

केही केहीमा त्यस्तो गुनासो आउन पनि सक्छ । हामी विकास या वाणिज्य बैंक जुन भएपनि एक हिसाबले व्यवसाय त सबैले गर्न बसेकै हो । मैले यसलाई प्रस्टसँग भनेको छु । किनकी हाम्रा सेयरहोल्डरहरूले उच्च प्रतिफल खोज्छन् । हिजोका दिनमा एकदमै अस्वस्थ प्रतिष्पर्धा थियो । हाम्रो ऋणको वृद्धि हेर्ने हो भने निकै नै अनियन्त्रित बन्दै थियो । वार्षिक रुपमा कति वृद्धि आवश्यक हो, त्यो हेर्नुपर्ने हुन्थो । तर त्यतिखेर यी सब भएन, सबै ऋण विस्तारमा अन्धाधुन्ध लाग्यौँ । बिचमा वाणिज्य बैंकको ८ अर्ब र विकास बैंकको २.५ अर्ब पुँजी पुर्‍यायौँ । पुँजी बढेपनि त्यही दरको प्रतिफल खोज्नु त्यति स्वभाविक होइन । संसारमा कहीँ नहुनेजस्तो नेपालमा भइदियो ।

पहिला १५ प्रतिशतको प्रतिफल थियो भने पुँजी बढाएपछि पनि त्यही खोज्ने अवस्था देखियो । यसमा बैंकका लागि अन्तिम विकल्प भनेको ऋण विस्तार नै थियो । त्यसलाई पूरा गर्न सबैजना ऋण बढाउन कुदियो । विकास बैंकले ठूला ऋण पनि लिन थाले । यसमानेमा हेर्ने हो भने त्यतिखेर केही विकास बैंकले भूमिका बिर्सिएका पनि हुन् । तर अहिले त्यो अवस्था छैन । अहिले १७ वटा विकास बैंकमा ८ वटा राष्ट्रियस्तरका र ९ वटा क्षेत्रीय स्तरका छौँ । समग्र सबै विकास बैंक काठमाडौंमा भन्दा पनि क्षेत्रीय स्तरमा नै प्राथमिकता दिइरहेका छन् । तर अहिले पनि हाम्रो प्राथमिकता, हाम्रो आम्दानी सबै काठमाडौं बाहिरको नै हो ।

तर पनि हाम्रो अहिले हामी ठूला ऋणमात्रै वाणिज्य बैंकलाई दिए हुन्थ्यो भन्ने चाहन्छौँ । ससाना ऋणका लागि त हामी छँदैछौँ नी । एक करोड रुपैयाँको समेत ऋणको टार्गेट वाणिज्य बैंकले लिने गरेको छ । वाणिज्य बैंकले त ५ करोड माथिको लिने व्यवस्था गरेर विकास बैंकलाई ससाना ऋण लिन दिनुपर्ने हो । ग्रामीण क्षेत्रमा गएर काम गर्न हामी एकदमै तयार छौँ । विकास बैंकको कार्यक्षेत्र नै त्यही हो । त्यसकारण समग्र विकास बैंकले आफ्नो भूमिका वा लक्ष्य बिर्सिएको त पक्कै छैन । केही केही विकास बैंकले कर्जाको वृद्धि धेरै गर्नुपर्ने लक्ष्य लिँदा यस्तो अवस्था आएको हो ।

पछिल्लो समय समग्र बैंकिङ क्षेत्रमा खराब कर्जाको अवस्था निकै उच्च छ । विकास बैंकमा खराब कर्जाको अवस्था झनै उच्च देखिन्छ । यसको खास कारण के हो ?

जबदेखि राष्ट्र बैंकको एकीकृत निर्देशिका आयो, त्यतिखेरदेखि नै डिफल्टरलाई दुई किसिमले वर्गीकरण गरेको छ । पछिल्लो समय बाध्यताले नै ऋण तिर्न नसकेका ऋणीहरू बढी देखिएका छन् । कोरोना महामारी आएपछि केही सहुलियत प्याकेज आयो । विस्तारै सामान्य हुँदै गयो । तर फेरि नेपालको मात्र नभई विश्वकै अर्थतन्त्रले सुस्त भयो । यहाँ साना ऋणीलाई ऋण तिर्न एकदमै गाह्रो भएको अवस्था छ । विकास बैंकभन्दा लघुवित्तमा केही बढी समस्या आएको छ ।

आजभन्दा १०/१२ वर्षअघि भारतमा फार्महाउस सञ्चालकले आत्महत्या गरेका थिए । त्यसको कारण भनेको लघुवित्तको ब्याजदर निकै उच्च भएको थियो । ग्रासरुटमा काम गर्ने लघुवित्तकै यति धेरै ब्याजदर हुँदा समस्या आएको थियो । हाम्रो नेपालमा पनि अवस्था उस्तै छ । लघुवित्तको ब्याज कम हुनुपर्नेमा बढी बनाइएको छ, जसले पनि गाह्रो भएको छ । बढी व्यापार गर्ने, बढी सम्पत्ति कमाउने लोभमा आफ्नो क्षमता मानिसले बिर्सन्छ ।

यसतर्फ पनि ध्यान दिनुपर्ने हो, तर यसलाई सिस्टममा ल्याइएन । अहिले अर्थतन्त्र यस्तो मोडमा छ कि पोखरा, काठमाडौं लगायत मुख्य शहरहरूमा सटर खाली छन् । चाडपर्व नजिकिँदै जाँदा सामान अझै आएका छैनन्, व्यापारीहरू सामान ल्याउने वा नल्याउनेमा दोधार छन् । यी सबै कारणले गर्दा ससाना ऋणीको ऋण तिर्ने अवस्था नरहेको वा गाह्रो भएको अवस्था छ ।

अहिलेको अवस्थालाई केही हल गर्न राष्ट्र बैंकले केही ‘स्टिमुलक प्याकेज’ को आवश्यकता देखिन्छ ?

यो प्रश्न मेरा लागि निकै गाह्रो हो । स्टिमुलस प्याकेज गर्ने वा रिफाइनान्सिङ गर्ने जस्ता सहुलियतहरू साह्रै अप्ठ्यारो हुँदा दिनु पनि पर्छ । तर यो आउँदा उचित योजनासहित केही समयका लागि मात्रै ल्याउनुपर्छ । लामो समय यस्ता सहुलियत दिनु र ऋणीलाई हरेक पटक गाह्रो भयो भने सरकारले वा राष्ट्र बैंकले उद्दार गरिदिन्छ भन्ने भाष्य सिर्जना हुँदा नराम्रो असर पर्छ । खराब ट्रेण्ड हाबी हुन्छ । त्यसकारण केही न केही थोरै राहत ल्याए अहिले सहज हुन्छ । तर सबैले यसमा ध्यान दिनुपर्छ । बैंकहरूले पनि बैंकमात्रै पनि हेरिदिनु भएन ।

सहुलियत प्याकेज सरकारले ल्याउने हो, सरकारको खर्च चित्तबुझ्दो छैन । सरकारलाई पनि अहिले सकस परेको अवस्था छ । त्यसकारण यसतर्फ सचेत हुनुपर्छ । चालू आर्थिक वर्षको मौद्रिक नीतिमा राष्ट्र बैंकले केही सहुलियत दिएको छ । अब सरकारले गम्भीर रुपमा सोचेर प्याकेज ल्याउनुपर्छ । कुनै एक उद्योग वा कम्पनीले ऋण तिर्न सक्दिन भन्यो भने तुरुन्तै उसको तिर्न सक्ने क्षमता छ कि छैन हेर्न सकिन्छ । नेपालमा यस्तो कुरा धेरै कम मात्रामा भएको छ । यसलाई गम्भीर रुपमा नहेरेसम्म समस्या आइरहन्छ ।

विकास बैंकहरूको गत आवको वित्तीय अवस्था कस्तो पाउनुभयो ? छोटकरीमा बताइदिनुस् न ।

विगतको हिसाबले ओभरलमा राम्रो रिपोर्ट होइन । पहिले र अहिलेकोमा अलिकति प्याटर्न चेञ्ज भएको छ । पहिले नेट प्रोफिट (खुद नाफा) भनेपछि क्यास बेसिसको कलेक्सन मात्रै आउँथ्यो । तर अहिले संकलन नै नभएको ब्याज पनि खुद नाफामा आउँछ । त्यसकारण खुद नाफा अहिले बढी देखिएको छ, तर वितरणयोग्य नाफा कम छ । यसरी हेर्दा विकास बैंकको मात्र हैन वाणिज्य बैंकमा पनि कतिपयको वितरणयोग्य नाफा कम छ ।

अहिले साँच्चै ऋण असुली हुन सकेको छैन । खराब कर्जा विगतमा भन्दा अहिले सबैको बढेको छ । राष्ट्र« बैंकले पुनर्संरचनाको सुविधा नदिएको भए खराब कर्जा अझै बढी हुन्थ्यो । त्यसकारण गत आवमा बैंकहरूको वित्तीय विवरण समयका हिसाबले सन्तोषजनक हो, तर विगतको तुलनामा कम हो । यसले के देखाउँछ भने बैंकिङ क्षेत्र अहिले धेरै गाह्रो र चुनौतीपूर्ण मोडमा छ ।

अहिलेको विकास बैंकको मुख्य चुनौती के के हुन् ? यसलाई कसरी सामना गर्न सकिन्छ ?

अहिले कर्जा असुली नै सबैभन्दा ठूलो चुनौतीकोे रूपमा खडा भएको छ । बल गरेर मात्रै कर्जा असुली हुँदैन । यसमा सन्तुलन कायम राखेर असुली गर्नुपर्नेछ । कर्जा असुलीका क्रममा कतिपय बैंक पक्कै चुकेका छन् । असुलीका लागि जाँदा नरम भाषा प्रयोग गरेर ग्राहकलाई सचेत बनाउनुपर्ने हुन्छ । यससँगै पछिल्लो समय बैंकिङमा कर्जाको विस्तार नै चुनौतीको विषय छ । राष्ट्र बैंकले साढे ११ प्रतिशतको कर्जा वृद्धिको लक्ष्य राखेको छ । तर साउन महिनामा त पूरै ऋणात्मक छ अवस्था । अहिले यही नै मुख्य चुनौती हो ।

यति हुँदाहुँदै पनि हामी कहाँनेर बहकिनु हुँदैन भने ऋणको वृद्धि चाहेको जस्तो नहुँनु त छँदैछ सम्पत्तिको गुणस्तरमा नि ध्यान दिनुपर्छ । बैंकिङका लागि अहिले जनशक्तिको ठूलो चुनौती छ । आजभन्दा करिब २०/२५ वर्षअघि बैंकिङ क्षेत्रमा जुन चार्म थियो । तर अहिले त्यो घट्दो क्रममा छ । यो घट्नुमा विविध कारण छन् । विभिन्न कारणमध्ये पनि हामीले नै सुरु गरेको अस्वस्थ प्रतिष्पर्धाले निम्ताएको काम गर्ने वातावरण र उनीहरूको सेवा सुविधा पनि हो । युवाहरूले बैंकिङ क्षेत्रमा सम्भावना देख्ने अवस्था नआउँदा पछि विश्वशनीयता गुम्नेसम्मको खतरा रहन्छ । यसमा हामी सबैले विचार गर्नुपर्ने छ । अन्यथा यो बैंकिङका लागि मात्र नभई देशका लागि नै दुर्भाग्य हुन्छ ।

मौद्रिक नीतिले विकास बैंकका लागि ल्याएको ब्यासल ३ को कस्तो असर पर्छ ?

मेरो भनाइमा कतिपय सहमत नहुन सक्नुहुन्छ । तर मेरो विचारमा अहिले बासल ३ मा जाँदा विकास बैंकहरूलाई धेरै फरक पर्दैन । बासल ३ अहिलेदेखि व्यवस्था भएपनि हामीले गत आवदेखि नै प्यारालल रिपोर्टिङ सुरू भइसकेको थियो । त्यसले गर्दा एक हिसाबले हामी बासल ३ मा गइसकेका थियौं । कोर क्यापिटल रिक्वायर हेर्नुहुन्छ भने बासेल ३ अनुसार कोर क्यापिटल ८.५ प्रतिशत चाहिन्छ भनेर त्यही अनुसार गइसकेका थियौं । त्यसकारण यसले धेरै असर पार्ने देख्दिन ।

एउटा मात्रै कहाँ असर पर्न सक्थ्यो भने, काउन्टर साइक्लिकल बफरमा । तर त्यो पनि चालू आवदेखि विकास बैंक पनि काउन्टर साइक्लिकल बफर लागू हुने भनेर राष्ट्र बैंकले भनिदिएको भए असर पथ्र्यो । त्यसो भनिएन । तर त्यसमा पनि क्यापिटल एडुकेसी फ्रेमवर्क २०१५ मा प्रस्ट के लेखिएको छ भने, यो लागू हुन कम्तिमा १२ महिनाको समय दिनुपर्छ । तर हटाउन चाहिँ तुरुन्तै सकिन्छ भनिएको छ । त्यसकारण हामी अहिले सेफली के भन्न सक्छौँ भने २०८१ असार मसान्तमा विकास बैंकलाई काउन्टर साइक्लिकल बफर लाग्दैन ।

विकास बैंकको मर्जरको आवश्यकता अहिले छ कि छैन ?

मर्जरकै हिसाबले हेर्दा विकास बैंकतर्फ अहिले आवश्यकता देखिएको छैन । आठ वटा राष्ट्रि«यस्तरका विकास बैंकको शाखा सञ्जाल चाहिनेभन्दा बढी नै पुगिसकेको अवस्था छ । कतिवटा वाणिज्य बैंककोभन्दा बढी शाखा सञ्जाल हाम्रा छन् । अहिले आवश्यकता भनेको धेरैलाई पुँजीको आवश्यकता हुन्छ । तर यस वर्ष त्यस्तो समस्या छैन । क्षेत्रीयस्तरका विकास बैंकका लागि पनि केही होला । यस्ता विकास बैंकमा साना व्यवसाय हुन्छ । उनीहरूलाई समान स्प्रेड दर लागू हुँदा समस्या छ ।

अहिले विकास बैंकलाई ४.६ प्रतिशत स्प्रेड छ । रिजनलमा व्यवसायको आकार सानो हुन्छ, त्यसकारण उनीहरूलाई यस स्प्रेडमा बस्न गाह्रो हुन्छ । त्यसकारण स्प्रेडमा केही बढी गर्नुपर्छ भन्ने मान्यता हो । यसबाहेक मर्जरमा हामी केन्द्रित भइहाल्नुपर्ने अवस्था देखिँदैन । मर्जरमा फेरि जनशक्ति व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने हुन्छ । हामी अहिले जसरी हिँडिरहेका छौँ, तुरुन्त मर्जर गरिहाल्नुपर्ने आवश्यकता देखिँदैन ।

अन्तिममा, सांग्रिला बैंकको अहिलेको अवस्था के कस्तो छ ?

व्यवसायमा गत वर्ष हामीले धेरै फोकस गरेनौं । यस वर्ष चाहिँ के हुन्छ हेरौँ, पुँजीले सर्पोट गर्ने हिसाबले व्यवसाय वृद्धि गर्ने सोच छँदैछ । एउटा टाइममा आएर नियामकले राइट इस्युका विषयलाई सम्बोधन गरिदिएमा सहज हुन्छ जस्तो लाग्छ । शाखाको हिसाबले ११२ वटा पुगिसकेका छौं, पूर्वाधार सबै ठाउँमा छ । समयमात्रै अप्ठ्यारो हो । त्यसकारण हामी यही समयसान्दर्भिक व्यवसाय वृद्धिमा अगाडि बढ्छौँ ।

प्रतिक्रिया दिनुहोस्