Logo

आयातको तथ्यांकले दिएको संकेत

गत वर्षजस्तै चालू आर्थिक वर्षमा पनि आयात बढ्ने संकेत देखिएको छैन । भन्सार विभागका अनुसार साउनमा १ खर्ब २९ अर्बबराबरका वस्तु आयात भएको छ । गत वर्षसँग तुलना गर्दा यो १.५६ प्रतिशत कम हो । गत साउनमा १ खर्ब ३१ अर्बका वस्तु आयात भएका थिए । साउनमा आयात घट्नुको मुख्य कारण पेट्रोलियम पदार्थ कम आउनु देखिएको छ । साउनमा २१ अर्ब ९८ करोडको पेट्रोलियम पदार्थको आयात भएको छ । जबकि अघिल्लो वर्ष साउनमा २५ अर्बको आएको थियो ।

अर्कातिर आइरन र स्टिलको आयात भने बढेको छ । यस्तै एक महिनामा साढे २ अर्बको तरकारीजन्य वस्तु आयात भएको छ भने २ अर्ब ८१ करोडको औषधि आएको छ । सवारी साधन र यसको पार्टपुर्जा ४ अर्ब २९ करोडका आएका छन् । गत वर्ष यस्ता वस्तुको आयात ४ अर्ब ६४ करोड थियो । आयातजस्तै साउनमा निर्यात पनि ८.६५ प्रतिशतले घटेको छ । एक महिनामा १३ अर्ब ५२ करोडका सामान विदेश पठाइएको छ । अघिल्लो वर्ष साउनमा १४ अर्ब ८० करोडको निर्यात भएको थियो ।

आयात घट्दैमा सन्तोष मान्नुपर्ने अवस्था छैन । आन्तरिक उत्पादन बढाएर घटाएको आयात मात्र मुलुकका लागि राम्रो तथ्यांक हो ।

यो साउनमा ४३ करोड २० लाखको पाम आयल, २९ करोड ३६ लाखको सिमेन्ट तथा क्लिंकर, १ अर्ब २७ करोडको धागो र ५७ करोड ९० लाखको ऊनी फेल्ट निर्यात भएको छ । आयात र निर्यात दुवैमा आएको कमीले कुल वैदेशिक व्यापार पनि घटेको छ । यसले हाम्रो व्यापारघाटा पनि कम गराएको छ । साउनमा कुल वैदेशिक व्यापारको आकार १ खर्ब ४२ अर्ब पुगेको छ । यो गत साउनको तुलनामा २.२८ प्रतिशत कम हो । यस्तै साउनमा व्यापारघाटा पनि १ खर्ब १५ अर्ब करोड मात्र भएको छ ।

वैदेशिक व्यापारमा सबैभन्दा ठूलो हिस्सा राख्ने भारतसँग साउनमा मात्र ७२ अर्ब ७६ करोड व्यापारघाटा भएको छ । भारतबाट ८१ अर्ब २४ करोडको सामान ल्याउँदा ८ अर्ब ४८ करोडको पठाइएको छ । यस्तै, दोस्रो ठूलो व्यापारिक साझेदार मुलुक चीनबाट २१ अर्ब ९४ करोडको वस्तु आयात हुँदा ३९ करोड रुपैयाँको मात्र निर्यात भएको छ । यो वर्षको एक महिनाको वैदेशिक व्यापारमा देखिएको तथ्यांकले केही संकेत देखाएको छ । आयातमा कमी आउनु अर्थतन्त्रको बाह्य क्षेत्रका लागि केही राम्रो हो ।

यसले विदेशी मुद्रा सञ्चितिमा चाप पार्दैन । तर, के कारणले आयातमा कमी आएको हो, त्यो सबैभन्दा महत्त्वपूर्ण विषय हो । आन्तरिक उत्पादन बढेका कारण आयात घटेको हो भने त्यो मुलुकका लागि सबैभन्दा राम्रो पक्ष हो । त्यसैले कुन वस्तुको आयात घटेको छ र कसको बढेको छ, त्यसलाई हेर्नुपर्ने हुन्छ । त्यसले मुख्य भूमिका खेल्छ । अर्कातिर हाम्रो जस्तो मुलुकका लागि औद्योगिक कच्चा पदार्थ आयातले ठूलो महत्त्व राख्छ । हामीसँग अधिकांश उद्योगका लागि आवश्यक कच्चा पदार्थ छैन ।

यस्तोमा कच्चा पदार्थ आयातमा भएको बढोत्तरीले घाटा गर्दैन । उल्टो अर्थतन्त्रका लागि राम्रो गर्छ । कच्चा पदार्थ ल्याएर उत्पादन बढाउन सके त्यो अर्थतन्त्रकै लागि लाभदायक हुनेछ । यसले रोजगारीका थप अवसर सिर्जना गराउने, सरकारको राजस्व बढ्ने, वस्तु निर्यात गर्न सके वैदेशिक मुद्रा आर्जन हुनेलगायतका फाइदा पुग्नेछ । यस्तै उपभोगमा प्रयोग हुने वस्तुको आयात बढेको भए त्यो मुलुकका लागि हितकारी हुनेछैन । उपभोग्य वस्तुमा सकेसम्म आत्मनिर्भर हुनु राम्रो पक्ष हो । यसैले आयात घट्दै वा बढ्दैले मात्र खुसी वा दु:खी हुनुपर्ने अवस्था छैन ।

हाम्रो अर्थतन्त्रका लागि आयातको भूमिका कस्तो हुन्छ, त्यसले मात्र महत्त्व राख्छ । उदाहरणका लागि पछिल्ला दुई वर्षलाई हेर्न सकिन्छ । अघिल्लो वर्ष उच्च आयातले अर्थतन्त्रको बाह्य क्षेत्रमा समस्या ल्यायो । उच्च आयातकै कारण विदेशी मुद्राको सञ्चितिमा ठूलो गिरावट आउँदा मुलुक श्रीलंकाको बाटोमा त जाँदै छैन ? भन्ने संशय पैदा भयो । तर, यही उच्च आयातले सरकारले मनग्गे राजस्व असुली गर्ने मौका पायो भने आन्तरिक अर्थतन्त्र पनि चलायमान गर्न सहयोग पुर्‍यायो । गत आवमा आयात घट्दा त्यसको सकारात्मक प्रभावस्वरूप सञ्चितिमा सुधार आयो । तर, आन्तरिक अर्थतन्त्र चल्न सकेन र सरकारको राजस्व पनि राम्रो उठ्न सकेन ।

अहिलेको समस्या आउनुमा आयातमा कमी आउनु पनि एक हो । आयात घट्नुको अर्को संकेत सर्वसाधारण नागरिकको क्रयशक्ति बढेको छैन भन्ने पनि हो । जनतासँग पर्याप्त पैसा भए उपभोग्यदेखि अन्य वस्तुहरूको आयात बढ्ने थियो र यसले अर्थतन्त्रलाई चलायमान गराउन सहयोग पुर्‍याउने थियो । अर्कातर्फ सरकारको राजस्वमा पनि सुधार आउने थियो । त्यसैले आयात घट्दैमा सन्तोष मान्नुपर्ने अवस्था छैन । आन्तरिक उत्पादन बढाएर घटाएको आयात मात्र मुलुकका लागि राम्रो तथ्यांक हो ।

प्रतिक्रिया दिनुहोस्