सुनको मूल्य १२ सय बढ्यो «

सुनको मूल्य १२ सय बढ्यो

बिहीबार अन्तर्राष्ट्रिय बजारमा प्रतिऔस सुनको मूल्य १ हजार ५ सय २२ डलर पुगेको छ ।

सुनको मूल्यले स्थानीय बजारमा पुनः नयाँ रेकर्ड बनाएको छ । एकै दिन १ हजार २ सय रुपैयाँ बढेर बिहबार सुनको मूल्य प्रतितोला ७१ हजार ५ सय रुपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बिहीबार सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गरेको बताए । अन्तर्राष्ट्रिय बजारमा लगातार सुनको मूल्य बढेपछि त्यसको प्रत्यक्ष प्रभाव स्थानीय बजारमा परेको हो । बुधबार प्रतितोला ७० हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन बिहीबार ७१ हजार ५ सय रुपैयाँमा उक्लिएको हो ।
बिहीबार अन्तर्राष्ट्रिय बजारमा प्रतिऔस सुनको मूल्य १ हजार ५ सय २२ डलर पुगेको छ । बुधबार १ हजार १६ डलर थियो । अमेरिकी डलरका कारण सुनको मूल्य बढ्न टेवा पुगेको छ । बिहीबार १ डलरको मूल्य १ सय १४ रुपैयाँ ३० पैसा पुगेको छ । जसका कारण नेपाली बजारमा सुनको मूल्य बढेको व्यवसायी बताउँछन् । सुनसँगै चाँदीको मूल्यसमेत सामान्य वृद्धि भएको छ । बिहीबार प्रतितोला चाँदीको मूल्य २० रुपैयाँ बढेर ८४० रुपैयाँ पुगेको छ । बुधबार चाँदीको मूल्य ८२० रुपैयाँ थियो ।
विज्ञहरुका अनुसार सुनलाई सुरक्षित लगानीका रूपमा हेरिन्छ । व्यापार युद्ध, आर्थिक संकट र राजनीतिक आन्दोलनसमेतले सुनको मूल्य वृद्धि गरिरहेको छ । अस्थिरतामा व्यवसायीहरू सुरक्षित लगानीको खोजीमा छन् । लगानीकर्ताले सुनमा लगानी गर्दा मूल्य अकासिएको हो । विज्ञहरूका अनुसार सुनको मूल्य बढ्नुमा मुख्यतः ६ कारण छन् । तर प्रमुख कारण भनेको चीन र अमेरिकाबीचको व्यापार युद्ध नै हो । व्यापार युद्धकै कारण अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिका आयात हुने थप ३ सय अर्ब अमेरिकी डलर बराबरका चिनियाँ सामानमा १० प्रतिशत कर वृद्धि गर्ने घोषणा गरेका छन् ।
सुनको मूल्यमा दैनिक नयाँ रेर्कड बनेपछि स्थानीय बजारमा कारोबार ठप्प रहेको छ । लगातार सुनको मूल्य बढेपछि उपभोक्ताले खरिदभन्दा बिक्री गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्