Logo

वैदेशिक रोजगारीमा सुरक्षा चुनौती

वैदेशिक रोजगारीको सन्दर्भमा भन्नुपर्दा मुलुकभित्र पर्याप्त मात्रामा रोजगारी विकासको सम्भावना तथा अवसरको न्यूनताको प्रभावका कारण दैनिक रूपमा अन्य समुदायविशेषभन्दा युवा समुदाय अवसर एवं कामको खोजीमा यस क्षेत्रमा आकर्षित हुने गरेका मात्र हुन् । यदि प्रस्तुत प्रवृत्तिको सम्भावना विकास मुलुकभित्रै हुँदो हो त पक्कै पनि आफ्नो जन्म थाकथलो छाडेर अन्यत्र पलायन हुने चाहना कुनै पनि पक्षको रहने थिएन भन्दा फरक नपर्ला ।

यसका अतिरिक्त आन्तरिक द्वन्द्वले निम्त्याएको जटिल परिस्थितिको परिणामजन्य असरस्वरूप पीडित पक्ष दुर्गमबाट सुगम हुँदै क्रमशः बिदेसिन बाध्य भएका तथ्यहरूले प्रमाणित गर्दै आएको छ । उपर्युक्त सैद्धान्तिक पृष्ठभूमिलाई केही हदसम्म नेपालले पनि आत्मसात् गर्दै आएको पाइन्छ । यसका साथै बढ्दो जनसंख्या वृद्धि तथा शैक्षिक गुणस्तर सुधारमा आएको सफलताको अनुपातमा आन्तरिक रोजगारी व्यवस्थापनले मात्र मुलुकको रोजगारी क्षेत्रको मागलाई सहजै धान्न सक्ने अवस्था नरहेको हुँदा बाध्यात्मक परिस्थितिमा विकल्पस्वरूप वैदेशिक रोजगारीको सम्भावना विकासमा निर्भर रहनुपर्ने अवस्था सिर्जना भएको मात्र हो ।

प्रस्तुत तथ्यगत आधारलाई सूक्ष्म रूपमा केलाएर अध्ययन गर्दा के निष्कर्ष निस्कन्छ भने यस प्रकारको क्रियाकलापको विकासले केवल श्रम आप्रवासीको दरलाई उच्च गतिमा राख्न सहयोग पुग्नेछ भन्दा फरक नपर्ला । सुरुका चरणहरूमा छिमेकी मित्रराष्ट्र भारत तथा चीनको स्वशासित क्षेत्र तिब्बतमा नेपालीहरूको वैदेशिक गन्तव्यको सुरुवाती बिन्दु रहँदै आएकोमा समयको चक्रसँगसँगै युरोप, अमेरिका, खाडी मुलुकलगायत विश्वका अन्य १ सय १० भन्दा अधिक मुलुकलाई सम्बद्ध क्षेत्रको गन्तव्य मान्दै आएको वर्तमान अवस्था हो ।

रोजगारीका लागि सुविधासम्पन्न राष्ट्रहरूमा बिदेसिने क्रम नेपालमा मात्र नभई विश्वभरि नै प्रचलनमा रहेको छ । सम्पन्नता जतिसुकै भए तापनि त्योभन्दा अझै राम्रो अवसरको चाहना मानवीय स्वभाव भएको हुँदा पलायनको दरमा कमी नदेखिएको मात्र हो । तुलनात्मक दृष्टिकोणबाट अध्ययन गर्दा अझै पनि भारतीय भूमिमा नै नेपाली श्रमको माग उच्च गतिमा रहने गरेको छ । तीनतर्फको खुला सीमामा समयमा नै यथोचित निगरानी राख्न नसक्दा समस्या खडा हुन गएको देखिन्छ । परिणामतः रोजगारीका लागि कति संख्यामा श्रम बाहिरिएको छ भन्ने यकिन तथ्यांक न त राज्यसँग छ, न त स्थानीय प्रशासनसँग नै रहन गएको पाइन्छ । जहाँ श्रमको अत्यधिकता कायम रहन्छ त्यहाँ निश्चित रूपमा श्रमशोषण तथा मृत्युदर पनि भयावह नै रहने तथ्यलाई इन्कार गर्न मिल्दैन ।

तसर्थ खाडीलगायत अन्य वैदेशिक मुलुकहरूमा हुने नेपाली श्रमको मृत्यु तथा शोषणको दरभन्दा कैयौं गुणा अधिक भारतीय भूमि तथा सार्क राष्ट्रहरूमा रहने कुरामा हामीहरू कसैको पनि विमति रहन सक्दैन । यदि हामीले मुलुकभित्रै सम्बद्ध वैदेशिक मुलुकहरूले प्रदान गर्ने रोजगारबापतको सेवा, सुविधा तथा श्रमको उचित सम्मानसहितको ज्यालादरमा समान समायोजन गर्न सक्ने रोजगारजन्य रणनीतिक योजनालाई व्यवहारतः लागू गर्ने हो, यस क्षेत्रमा धेरै नै सुधारको अनुभूति गर्न नसकिने पनि होइन । प्रस्तुत कारक तत्वको अभावले नै वैदेशिक रोजगारीको गन्तव्य असुरक्षाको गहिरो खाडलमा दिनानुदिन भासिँदै गएको हो कि भन्ने सन्देहसमेत उत्पन्न हुन गएको पाइयो । सुरक्षात्मक रणनीतिका हिसाबले कुनै कारणवश वैदेशिक रोजगारीको क्षेत्र जोखिमपूर्ण रहेको छ भन्ने राज्यलाई अनुभूत भए निश्चित रूपमा पलायनको गतिलाई सीमिततामा कायम राख्नु श्रम सुरक्षा संवेदनशीलताको दृष्टिकोणबाट निकै नै राम्रो मान्न सकिनेछ ।

जसले श्रमशोषण तथा मृत्युदरमा न्यूनीकरण गर्न सहयोगीको भूमिका निर्वाह गर्ने अवस्था पैदा गर्नेछ, जसका लागि पलायनपूर्व सम्भावित चुनौतीपूर्ण अवस्थाका बारेमा सचेतात्मक जानकारी प्रदान गर्नु श्रेयष्कर मानिन्छ । सचेतात्मक जानकारीले श्रमको उचित मूल्यको सुनिश्चितता कायम गर्नेछ भन्ने विश्वास लिन सकिनेछ । किनकि अवसरसहितको उल्लेख्य पारिश्रमिकको आकर्षण नै वैदेशिक पलायनको गति निर्धारण गर्ने प्रमुख कारक तत्वविशेष समेत हो, यसका साथै व्यावसायिक सुरक्षा, श्रमिकको स्वास्थ्य, सुखद सुरक्षित गन्तव्यको कामनासहितको योजनालाई राज्यले व्यवहारतः लागू गर्ने प्रयासलाई निरन्तरता कायम राख्ने जमर्को गर्ने हो भने नेपाली श्रमको वैदेशिक रोजगारको यात्रा सुरक्षित तथा सुखमय हुने कुरामा कुनै प्रकारको द्विविधा कायम रहनेछैन ।

सुखमय सुरक्षित श्रम सुनिश्चितताका लागि आवश्यक श्रम कानुनको समयसापेक्ष सुधार तथा परिमार्जन गर्दै यथासमयमा नै सम्बोधन गर्न सक्ने वातावरणको विकासले रोजगारको भरपर्दो विकल्पसहितको अर्को आकर्षणयुक्त गन्तव्य वैदेशिक रोजगारीको क्षेत्र पनि रहन सक्ने देखिन्छ, जसले निश्चय पनि तत् सन्दर्भमा रहने समूहको भविष्य सुरक्षित गर्नुका साथै उत्पादमूलक श्रम विकासको क्षेत्रमा आशातीत सफलता हासिल गर्न प्रस्तुत प्रवृत्तिका कार्यहरू कोसेढुङ्गा साबित हुनेछ भन्दा त्यति अनुपयुक्त नहोला । प्रस्तुत अवस्था त्यो बेला पूर्ण रूपमा सफल रहन्छ जुन बेला श्रमिक तथा वैदेशिक रोजगारदाताबीचमा भएको सम्झौताबमोजिमको कार्य, श्रमसुरक्षा तथा पारिश्रमिकसम्बन्धी व्यवस्थाले हुबहु कार्य गर्न सक्ने क्षमताको विकास सम्भव भए मात्र लक्ष्यअनुरूपको प्रगति हासिल गरेको मान्न सकिनेछ । तत् सन्दर्भमा भन्ने हो भने सम्झौतापत्रको बर्खिलाप हुने गरी गरिने कुनै पनि कार्यले यस क्षेत्रमा थप जटिलता तथा अन्योलता सिर्जना गर्नेबाहेक अन्य कुनै ठोस उपलब्धिमूलक आर्थिक कार्यको विकास गर्न सक्ने अवस्था रहँदैन ।

तसर्थ, सुरक्षाको पूर्ण प्रत्याभूति गर्ने जिम्मेवार निकाय भनेको राज्य भएको हुँदा अत्यन्त संवेदनशील भएर रहनु जरुरी भइसकेको छ । विपरीत अवस्था तयार भए दुर्घटनाको जोखिमको दरलाई कसैले पनि टारेर टार्न सकिने अवस्था पक्कै पनि रहनेछैन । त्यसो भएकाले सम्भावित दुर्घटनाबाट बच्न वैदेशिक रोजगारीमा रमाउन चाहने व्यक्ति वा समूहविशेषले आफूले गर्ने कामका बारेमा यकिन भइसकेपश्चात् आवश्यक परे तत्सम्बन्धी अभिमुखीकरण तालिम वा सीप हासिल गरेर मात्र रोजगारीको क्षेत्रमा आफू वा आफ्नो समूहलाई समाहित गर्ने हो भने धेरै हदसम्म सुरक्षित अवतरणको वातावरण प्रारम्भ हुने देखिन्छ । किनकि आवश्यकीय सीप विकासले खाली हात बस्नुपर्ने अवस्थाबाट मुक्त गर्दै रोजगार विकासको यात्रालाई परिणाममुखी बनाउनेछ, जसबाट आत्मसम्मानका साथ नयाँ र नौलो जीवनशैलीलाई समायोजन गर्दै वैदेशिक भूमिमा सिकेको सीपलाई मुलुक भिœयाउने अवसरको रूपमा समेत लिँदा फरक नपर्ला ।

त्यसैले भन्ने गरिन्छ, सीप सिकौं, आत्मनिर्भर बनी रोजगार बनौं । प्रस्तुत मूलमन्त्रलाई रोजगारीको क्षेत्रमा रहन चाहने जोकसैले पनि सहजै भुल्न मिल्दैन । यसका अतिरिक्त सम्बन्धित स्थानविशेषको भाषिक ज्ञानका साथसाथै त्यस क्षेत्रको रहनसहन, मौसमअनुसारको वेशभूषा आदिका बारेमा सामान्य जानकारी राख्ने क्षमताको विकासले वैदेशिक रोजगारीको क्षेत्रलाई थप सहजीकरण बनाउनेछ । सुरक्षाका विविध उपाय अवलम्बन गर्दागर्दै पनि आपराधिक पृष्ठभूमि भएका समूहको चंगुलबाट मुक्त रहन भने हरहमेसा सजग एवं सतर्क रहँदै कार्य गर्नु बुद्धिमानी ठहरिनेछ । तसर्थ, कुनै कारणवश विदेशी भूमिमा असहजताको सामना गर्नुपर्ने परिस्थितिको जन्म भए नजिकको नेपाली राजदूतावास, वैदेशिक कूटनीतिक नियोग वा सम्बद्ध पधाधिकारीहरूसमक्ष सहयोगका लागि याचना माग्न कुनै पनि हालतमा पछि पर्नु हुँदैन ।

यसका साथै वैदेशिक रोजगारीको क्षेत्रले समग्र मुलुकको आर्थिक विकासको पाटोलाई केही हदसम्म भए पनि सकारात्मकतातर्फ उन्मुख गराउँदै लगेको पाइन्छ । जोखिमजन्य परिस्थितिका बाबजुद पनि कायमी बेरोजगारीको समस्या हल गर्न सम्बद्ध क्षेत्रले न्यून रूपमै भए पनि उल्लेख्य उपलब्धिमूलक नतिजा हासिल गर्न सक्दो सघाउ पुर्याउँदै आएको तथ्य हामीहरूसामु लुक्न सकेको छैन । जसबाट मुलुकमा विप्रेषण भित्र्याउन सक्ने वातावरणको विकासले मुलुकको समुल अर्थतन्त्रलाई सकारात्मक गन्तव्यतर्फ डोर्याएर लग्नुका साथै वैदेशिक मुद्रा सञ्चितिको दरमा अभिवृद्धि हुने सम्भावना रहन्छ । यसका साथै विदेशी संस्कृति र नेपाली संस्कृतिबीचको आदान–प्रदानबाट दुई भिन्न परिवेश तथा भाषिक विविधताका बीचमा पनि सुमधुर सामीप्यताको अभिवृद्धिले विश्व मानचित्रका हरेक मानव समुदायलाई एकअर्कामा गोलबद्ध गराई ऐक्यबद्धता कायम राख्न सहयोगीको भूमिका निर्वाह गर्दै आएको तथ्यगत विशेषतालाई सहजै नजरअन्दाज गर्न अवश्य पनि मिल्दैन ।

प्रतिक्रिया दिनुहोस्